शुक्रबार अन्तरगृह परिक्रमा भएसंगै १५ दिने मिथिला मध्यमा परिक्रमा विधिवत् रुपमा सम्पन्न हुने भएको छ ।
बुधबार १४ औँ विश्राम स्थल बिशौलमा राति विश्रामपछि परिक्रमा यात्री बिहीवार १५औं विश्राम स्थल जनकपुरधाम आइपुगेका थिए । धनुषाको मिथिला बिहारी नगरपालिका–८ स्थित ऐतिहासिक महत्वको मिथिला बिहारी मन्दिरबाट झाँकी र किर्तनसहित सुरू भएको मिथिला मध्यमा परिक्रमा यात्रा बुधबार १५ औँ दिन जनकपुरधाम आइपुगेर अन्तरगृह परिक्रमा गरी सम्पन्न हुनेछ ।
प्रत्येक वर्ष फागुन शुक्लपक्ष प्रतिपदाका दिनदेखि १५ दिन मिथिला मध्यमा परिक्रमा सुरू हुने चलन छ । परिक्रमाका क्रममा १५ दिनसम्म डोलालाई जनकपुरधामबाट कल्याणेश्वर हुँदै फूलहर, मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, क्षीरेश्वरनाथ (पर्वत्ता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), औरही, करूणा, बिसौल र फेरि कल्याणेश्वर सम्म पु¥याउने परम्परा रहेकोछ । उक्त डोला फागु पूर्णिमाका दिन जनकपुरधाम फर्किएर नगरको पञ्चकोशी अन्तर्गृह परिक्रमा गरी सम्पन्न हुने गरेको परम्परा रहिआएको छ ।
नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतीक बनेको परिक्रमाका क्रममा श्रद्धालुले १ सय ३३ किलोमिटर पैदलयात्रा गर्ने गर्दछन् । श्रद्धालुका लागि नेपालको धनुषा र महोत्तरीका १३ तथा भारतका दुई गरी १५ विश्रामस्थलमा साधुसन्त तथा भक्तजनलाई निःशूल्क भोजन गराउने चलन पनि रहेकोछ । सो चलन अनुसार जनकपुरधामको शिव चोक,रामानन्द चोक,जनक चोक लगायतका ठाउँमा परिक्रमा यात्रीहरुका लागि भोजन र स्वास्थ्य शिविरको समेत आयोजना गरिन्छ ।
त्रेता युगमा मिथिलाका राजा जनककी पुत्री माता सीतासँग अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र मर्यादा पुरुषोत्तम भगवान् रामसँग शुभ विवाह भएपछि परिक्रमा मार्ग भएर भ्रमण गरेको स्मरणमा मिथिला मध्यमा परिक्रमा हजारौं तीर्थयात्रीहरू सहभागी भएर खाली खुट्टा श्रद्धा सहित भ्रमण गर्ने गर्दछन् । उनीहरु आआफ्नो घरबाट भोजन तथा आवासको व्यवस्था सहित परिक्रमा सहभागी हुने गरेका छन् । परिक्रमाका यात्रीहरुले विभिन्न पडाव स्थलहरुमा भजन किर्तन गरी राति जाग्राम समेत गर्ने गरेकाछन् । परिवारजनको शान्ति, समृद्धि, सुख, ऐश्वर्य प्राप्तिसहित अन्त्यमा मोक्ष प्राप्ति हुने जनविश्वासका साथ कतिपयले पटक–पटक तथा केहीले एक पटक भए पनि मिथिला मध्यमा परिक्रमामा सहभागी हुनुपर्ने धार्मिक मान्यताका साथ सहभागी हुने गरेकाछन् । परिक्रममा सहभागीहरूलाई परिक्रमा मार्ग तथा हरेक पडाव स्थलमा धार्मिक मेला, कथा प्रवचनका साथै भक्तजनहरूले निस्वार्थ रुपमा विभिन्न प्रकारका सेवा तथा सुविधाहरू तीर्थयात्रीहरूलाई प्रदान गर्ने गरेकाछन् ।

