२०७८ चैत्र ७, सोमबार ०६:५६

वीरगञ्ज ।नेकपा एमालेमा प्रवेश गरेका राजेशमान सिंह श्रेष्ठ सोमवार जनता समाजवादी पार्टी(जसपा)मा औपचारिक प्रवेश गर्न थालेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा)परित्याग गरी उनी गत महिना एमाले प्रवेश गरेका थिए ।वीरगञ्ज महाननगरपालिका मेयरका प्रत्याशी रहेका सिंह लोसपामा असुरक्षित महसुस गरी टिकटका लागि एमाले प्रवेश गरेका थिए । तर वीरगञ्ज महानगरका मेयर विजय सरावगी पनि टिकटको आश्वासन पाएर हतार– हतार एमाले प्रवेश गरेपछि सिंहले असुरक्षित महसुस गरी जसपामा प्रवेश गर्न लागेका हुन् । सिंहलाई पार्टीमा स्वागत गर्न जसपा अध्यक्ष उपेन्द्र यादव वीरगञ्ज आउन थालेका छन् ।आइतवार जनकपुरधाम पुगेका अध्यक्ष यादव सोमवार बिहान वीरगञ्ज आउने सो पार्टीका सांसद प्रदीप यादवले जनाए । ‘अध्यक्ष यादव वीरगञ्ज आउन लाग्नु भएको बेला राजेशमान सिंहले उहाँको हातबाट पार्टीको सदस्यता लिनु हुनेछ’ सांसद यादवले भने, वीरगञ्ज महानगरपालिकाका मेयरका लागि उनी उपयुक्त नेता हुन् ।पार्टीले उनलाई उम्मेदवार बनाउन सक्ने उनले जनाए ।

वीरगञ्ज महानगरपालिकामा मेयरका लागि कांग्रेसमा अजय द्विवेदी, एमालेबाट सरावगी, जसपाबाट राजेशमान सिंह टिकट पाउन अत्यधिक सक्रिय छन् ।गत चुनावमा द्विवेदी दोस्रो र सिंह तेस्रो स्थानमा थिए ।तत्कालीन संघीय समाजवादी पार्टीबाट सरावगी मेयरमा निर्वाचित भएका थिए ।एमाले पर्सामा सरावगीको व्यापक विरोध भइरहे पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट नै मेयरको टिकट पाउने आश्वासन उनले पाएका छन् । तर सांसद यादवका अनुसार वीरगञ्ज महानगरपालिकामा फेरि जसपाका उम्मेदवारले नै जित्ने पक्का छ ।‘मेयरको कारण पार्टीका कार्यकर्ताहरु असन्तुष्ट देखिए पनि उनी बाहिरिएपछि समस्या समाप्त हुने छ’ यादवले भने, अध्यक्षको आगमनसँगै पर्सा संगठन फेरि बलियो हुनेछ । पार्टीको कार्वाहीमा परेका सांसद यादवलाई पछिल्लो केन्द्रीय समिति बैठकपछि फुकुवा गरिएको छ ।पार्टी अध्यक्ष उपेन्द्र यादव सांसद प्रदीप यादवको गाडीमा सवार भएका तस्वीर सार्वजनिक भएसँगै पर्साको राजनीति तरंगित भएको छ ।

यस अघि पर्सा जिल्लामा अध्यक्ष यादवको प्रमुख आतिथ्यमा हुने गरेका पार्टीको कार्यक्रममा सांसद यादवलाई निम्तो हुने गरेको थिएन् ।तर यादवले भने पार्टीकै झण्डामा कार्यक्रमहरु आयोजना गर्दै आएका थिए । मुख्यमन्त्री लालबाबु राउत र मेयर सरावगीको कारण जसपालाई पर्सामा क्षति पुगेको बताइन्छ ।उनीहरुको क्रियाकलापले संगठनका प्रतिबद्ध नेता, कार्यकर्ताहरु पीडित रहेको आरोप छ । वीरगञ्जमै रौतहट जिल्लाका केही जनप्रतिनिधि र नेता, कार्यकर्ताहरुले जसपा प्रवेश गर्ने कार्यक्रम रहेको मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले जनाए ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=AwbGUN3nmwg

Comment


Related News