२०७८ चैत्र ७, सोमबार ०७:१९

राजविराज । मधेश प्रदेशका सामाजिक विकास मन्त्री एवम् जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य नवल किशोर साहले उत्पीडित समुदायको हक अधिकार र पहिचानमाथि आक्रमण जारी राखे नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्रले निकट भविष्यमा सिंहदरबार छोड्नु पर्ने दिन आउने बताएका छ्न ।

सप्तरीको अग्निसाईर कृष्णासवरन गाउंपालिका–१ जण्डोलमा आइतबार स्थानीय नेताकार्यकर्तासंग भेटघाटको क्रममा उनले यस्तो बताएका हुन । मन्त्री साहले कांग्रेस, एमाले, माओवादी केन्द्रले देशमा अधिकारबाट वञ्चित समुदायलाई सधैं शोषण र दमनको नीति लिएको आरोप लगाए । पुराना पार्टी कांगेस, एमाले र माओवादी केन्द्रले लामो समयसम्म शासन गरेको छ भन्दै उनले देशमा गरिबी, बेरोजगारी र भोकमरी समस्या भने यथावत रहेको बताए । मन्त्री साहले मुलुकमा पटकपटक शासनसत्तामा रहेका पार्टीहरुबाट शोषित, उत्पीडित जाती समुदायको पहिचान र अधिकारमाथि आक्रमण भएको आरोप लगाए । राजा, राणा, प्रजातान्त्र, लोकतन्त्र, गणतन्त्र सबै कालखण्डमा शोषित पीडित समुदायलाई पन्छाउने कार्य मात्र भयो, जनताको विद्रोहबाट राणा, राजा बर्हिगमनमा परे, काग्रेस र एमाले र माओवादीले समेत त्यो धन्दा नछोडे निकट भविष्यमै बालुवाटार छोड्नु पर्ने हुन्छ । पुराना राजनैतिक पार्टीको ज्यादतीले राजनैतिक क्षेत्रलाई नै दूषित पारेको उल्लेख गरे । जसपाले मात्र देशमा आमूल परिवर्तन ल्याउने दाबी गर्दे उनले देशमा विकास, सुशासन र समृद्धिका लागि तीनै तहको सरकारको नेतृत्व जसपाले लिनु आवश्यक रहेको बताए ।

डबल इन्जिनको सरकार भन्ने कुरा तपाईंले सुन्नु भएको छ? भारतमा केन्द्र र प्रदेश सरकारको नेतृत्व एउटै दलले गरेका कारण विकास र अधिकारको जनताको चाहना पूरा भयो,मन्त्री साहले भने, मधेश प्रदेशमा जसपाको सरकार भएकाले स्थानीय तहमा जसपाले नेतृत्व गरेको ठाउंको विकासले गति लिएको छ, विकास र अधिकार प्राप्तिका कार्यलाई संगसंगै अगाडि बढाउन तीनै तहको सरकारको नेतृत्व जसपाले गर्नु जरुरी हुन्छ । आफू मन्त्री मात्र नभएर जनताको सेवक भएको बताउँदै मन्त्री साहले जनताको आवश्यक्ता अनुसारको सेवामा सधै समर्पित रहने प्रतिवद्धता व्यक्त गरे । जनता समाजवादी पार्टी नेपाल अग्निसाईर कृष्णासवरन गाउंपालिकाका अध्यक्ष सत्यनारायण चौधरीको सक्रियतामा आयोजित कार्यक्रममा जसपा संघीय परिषद सदस्य गुणानन्द चौधरी, जिल्ला कोषाध्यक्ष बृजमान तामाङ, सदस्य रामदेव यादव, दिनेश कुमार साह, रामेश्वर चौधरी लगायतकाले जसपाको नीति जनपक्षीय रहेको दाबी गर्दै नीति कार्यान्वयनका लागि वडा देखि हरेक तहमा नेतृत्व पाउनुपर्नेमा जोड दिए । जसपा अग्निसाईर कृष्णासवरन गाउंपालिका सचिव मिलन चौधरीद्वारा संचालित कार्यक्रममा उपाध्यक्ष महेन्द्र यादवले पनि धारणा व्यक्त गरेका थिए ।

Comment


Related News