गौर । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेलमाथि विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । मुद्दा दायर हुने बित्तिक्कै मेयर पटेल स्वतः पदबाट निलम्बित पनि भएका छन् । उपभोक्ता समितिबाट भुक्तानी दिनका लागि मागेको २ लाख ५० हजार नगद र २ लाख ५० हजारको चेकसहित फागुन १५ गते रंगे हात पक्राउ परेका मेयर पटेल र उनका सहयोगी अशोक पटेल विरुद्ध ५ लाख विगो कायम गर्दै आयोगले विशेष अदालतमा अभियोग पत्र दायर गरेको छ । उपभोक्ता समितिबाट भवन निर्माणको कार्य सम्पन्न भएपछि माग गरिएको अन्तिम बिलको भुक्तानी दिने क्रममा मेयर पटेलले रिसवत मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डुबाट आएको टोलीले दुबै जनालाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । अनुसन्धानको क्रममा मेयर पटेल र सहयोगी अशोक पटेलको संलग्नता देखिएकोले विगो कायम गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
मेयर पटेलले सेवाग्राहीसँग २ लाख ५० नगद र २ लाख ५० हजारको चेक गरी पाँच लाख रकम लिएको पाइएकोले उनीहरुमाथि उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुर भएकोले नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेल र अशोक प्रसाद पटेललाई बिगो पाँच लाख कामय गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र ऐ. दफा ३ को उपदफा (१) को देहाय खण्ड (घ) मा उल्लेख भए बमोजिम सजायको माग दाबीसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आइतबार विशेष अदालत, काठमाण्डुमा आरोपपत्र दायर गरिएको छ ।

