जनकपुरधाम । धनुषाको जनकपुरधाम सहित विभिन्न जिल्लामा म्यादी प्रहरी भर्नाको प्रक्रिया सुरु भएको छ । सो क्रममा आइतबार जिल्ला प्रहरी कार्यालय धनुषामा आवेदन दिनेहरुको भीड लागेको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि धनुषामा कूल १८ वटा स्थानीय तहमा खटाउनका लागि म्यादी प्रहरी भर्नाका लागि आवेदन दिनेहरुको भीड देखिएको हो । एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ वटा गाउंपालिकाका लागि धनुषामा ३ हजार भन्दा बढी म्यादी प्रहरीको माग गरिएको छ । आवेदन दिन पुग्नेहरुमध्ये अधिकांश पुरुष नै देखिएका छन् । धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार धनुषामा कूल ३ हजार ४ सय ८६ जना म्यादी प्रहरीको कोटा रहेको छ । म्यादी प्रहरीमा महिला र पुरुषको कोटा नछुट्याएको भन्दै उनले आवेदनको आधारमा भर्ना गरिने बताए । त्यसैगरी सप्तरीमा पनि म्यादी प्रहरीको आवेदन खुलेको पहिलो दिन आइतबार नै सप्तरीमा २ हजार भन्दा बढी व्यक्तिले आवेदन फारम लिएका छन् । यहाँ ३० बैशाख २०७९ मा हुने स्थानीय तहको निर्वाचनका लागि ३ हजार १ सय ३९ म्यादी प्रहरीको माग गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट आवेदन फारम उपलब्ध गराउँदा आवेदकको भीड व्यवस्थापन गर्न समस्या हुने भएपछि राजरंगशालामा आवेदन फारम वितरण गर्ने व्यवस्थापन गरिएकोमा भीड ओर्लिएपछि एसपी अभिनारायण काफ्ले र डिएसपी माधवप्रसाद काफ्ले आफै पुगेर भीड व्यवस्थापन गर्दै फारम वितरणको ब्यवस्था मिलाएका थिए । पहिलो दिनमै २ हजार ४ सय भन्दा बढीले म्यादी प्रहरी भर्नाका लागि आवेदन फारम लगेको जानकारी दिँदै डिएसपी काफ्लेले भने, अन्तिम दिन चैत ११ सम्ममा ठूलो संख्यामा आवेदन पर्ने अनुमान गरेका छौं । उनले आवेदन दर्ता गराएपछि चैत २२ मा नतिजा र चैत २८ देखि प्रशिक्षण कार्य सुरु गर्ने तालिका रहेको जानकारी पनि दिए । त्यसै गरी आसन्न स्थानीय तहको निर्वाचनका लागि सर्लाही जिल्लामा पनि म्यादी प्रहरी भर्नाका लागि आवेदन दिने सुरु भएको छ । जिल्लाको ३ सय १८ वटा निर्वाचन स्थल र ६ सय ६ मतदान केन्द्रहरुमा खटाउनका लागि आइतबारदेखि आवेदन प्रक्रिया सुरु भएको हो । चैत ६ देखि ११ गतेसम्मको अवधि दिएर दरखास्त आह्वान गरिएको छ । दरखास्त फारम बुझाउने स्थानका लागि सर्लाहीको सदरमुकाम मलंगवा–२ स्थित जिल्ला प्रहरी कार्यालय अगाडि जिल्ला खेलकुद विकासको कवर्डहललाई तोकिएको छ ।
जिल्लामा ३ हजार ८८ म्यादी प्रहरी भर्ना गरिने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेकाले म्यादी प्रहरीका लागि आवेदन दिनसक्ने छन् । नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट रिटायर्ड भइसकेकालाई प्राथामिकतामा राखिएको जनाइएको छ। म्यादी प्रहरीले ४० दिन काम गर्न पाउने छन् । त्यसका लागि मासिक ३० हजार २ सय ४० पारिश्रमिकको साथै खाद्यान्न वापत प्रतिव्यक्ति एकमुष्ट ७ हजार २ सय र पोशाक तथा अन्य सामान खरिद गर्न ६ हजार रुपैयाँ निर्धारण गरिएको छ । मधेश प्रहरी कार्यलयका अनुसार प्रदेश भरिमा २१ हजार ६ सय ९८ जना म्यादी प्रहरी भर्ना गरिने छ । धनुषामा ३ हजार ४ सय ८६, सप्तरीमा ३ हजार १ सय ३९, सर्लाहीमा ३ हजार ८८, महोत्तरीमा २ हजार ७ सय ३६, रौतहट २ हजार ५ सय ८९, बारा २ हजार ५ सय २८, सिरहामा २ हजार ३ सय ३१ र पर्सामा १ हजार ८ सय १ जना म्यादी प्रहरी भर्ना गरिने छ ।
मधेश प्रदेशका प्रहरी प्रमुख उमेश रंजितकारले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सबभन्दा बढी म्यादी प्रहरी मधेश प्रदेशमै राखिने जानकारी दिए । कूल म्यादी प्रहरीमध्ये २२ प्रतिशत मधेश प्रदेशमै खटाइने जनाइएको छ ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=AwbGUN3nmwg&t=4s

