राजविराज । सप्तरीको कंचनरुप नगरपालिकामा विद्यालयको आन्तरिक लेखापरीक्षक नियुक्ति प्रकरणमा धाँधली भएको आरोप लगाइएको छ ।
नेपाल अडिटर्स एशोसिएशन सप्तरीले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी नियुक्ति प्रकरणमा धाँधली भएसंगै सूचना लुकाउने काम गरेको आरोप लगाइएको छ । एशोसिएशनका पदाधिकारीहरुले विगत तीन वर्षदेिख नगरपालिका मातहतको ३२ वटा विद्यालयको आन्तरिक लेखापरीक्षण हुन नसकेकोमा केही दिन अघि मात्र नगरपालिकाको शिक्षा शाखाले सो प्रयोजनका लागि गरेको १५ जना लेखापरीक्षकको नियुक्ति प्रक्रियामा व्यापक धाँधली भएको र सूचना लुकाउने काम भएको दाबीसहित छानबिनको माग गरेको छ । पत्रकार सम्मेलनमा एशोसिएशनद्वारा जारी गरिएको प्रेस विज्ञप्ति मार्फत नियुक्ति प्रकरणको छानबिन, दोषीमाथि कारवाही र उक्त नीति खारेजीको प्रक्रिया अघि नबढाइए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनीसमेत दिइएको छ ।
पत्रकार सम्मेलनमा एशोसिएसनका अध्यक्ष विश्वनाथ देवले नगरपालिकाको शिक्षा शाखाका अधिकृत प्रेम कुमारी चौधरी र ललितनारायण यादवले रकमको चलखेल गर्दै मनोमानी र गोप्य ढंगले आ–आफ्नो अनुकूल जिल्ला बाहिरका १२ जना लेखापरीक्षक नियुक्त गरेको आरोप लगाए । ३२ वटा विद्यालयका लागि भन्दै १५ जना लेखापरीक्षक नियुक्ति गरिएकोमा १२ जना जिल्ला बाहिर मोरङ, उदयपुर, सिरहा र इलामका रहेको उनले बताए । यसरी गोप्य र मनोमानी ढंगले गरिएको नियुक्ति प्रक्रिया बारे सूचना माग गर्दै गत फागुन ९ गतेदेखि पटक–पटक लिखित र मौखिक सूचना माग्दा पनि आलटाल गर्दै आएको एशोसिएशनका केन्द्रीय सदस्य सुदम्बर यादवले बताए । स्थानीय सरकार संचालन ऐनमा वर्षैपिच्छे आन्तरिक लेखापरीक्षक गराउनु पर्ने र यस कार्यका लागि स्थानीय लेखापरीक्षकलाई प्राथमिकता दिनु पर्ने स्पष्ट उल्लेख भए पनि शिक्षा शाखाका कर्मचारीहरु यसको वर्खिलाफ गएको उनीहरुको भनाई छ ।
यसबारे नगर प्रमुख बसन्त मिश्र, प्रमुख प्रशासकीय अधिकृत रेणुका साह र अधिकृत नवराज खडकालाई पटक– पटक ध्यानाकर्षण गराउँदा पनि कुनै चासो नदेखाएको लेखापरीक्षकहरुले गुनासो गरेका छन् । यसबारे नगरपालिकाका सूचना अधिकारी दीपककुमार देवसँग जिज्ञासा राख्दा उनले लेखापरीक्षक नियुक्ति प्रकिया विधि सम्मत ढंगले नै भएको दाबी गरे । उनले भने, बोर्डबाटै निर्णय भएको हो, थप कुरा प्रमुख प्रशासकीय अधिकृतसँग बुझेर जानकारी गराउँछु । उनले नगरपालिकाबाट कुनै सूचना नलुकाइएको दाबी समेत गरे ।

