अपडेट 
२०७८ चैत्र ८, मंगलवार ०७:२७

कलैया । जगदम्बा स्टिल १२ औँ जीतपुरसिमरा गोल्डकप बाराको सिमरामा चैत १० गते देखि सञ्चालन हुने भएको छ ।

फ्लड लाईटमा आयोजना हुने प्रतियोगिताको आयोजक नव जनजागृति यूवा क्लबले सिमरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । सिमरा रङ्गशालामा आयोजना हुने प्रतियोगितामा ‘ ए’ डिभीजन क्लब, आयोजक र मोफसलका गरी १० टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए । चैत १० देखि १९ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले दश लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल सहित विभिन्न विधामा उत्कृष्ट प्रदर्शन खेलाडीलाई जनही २० हजारका दरले पुरस्कृत गरिने आयोजक क्लबका महासचिव शम्भु सिँह ठकुरीले बताए ।

२०६६ बाट सुरु भएको प्रतियोगिताको उपाधि संकटा क्लब, त्रिभूवन आर्मी र मनाङ मस्र्याङदी क्लबले समान दुई–दुई पटक जितेका छन् भने आयोजक सिमरा, थ्रीस्टार, विजय युथ क्लब हेटौंडा, हिमालयन शेर्पा र मजदुर शहीद स्मृति क्लबले एक–एक पटक उपाधि उचालेका छन् । जीतपुरसिमरा उपमहानगरपालिकाको मूख्य सहयोग र जगदम्बा स्टिल प्रा.लिको मुख्य प्रायोजनमा सञ्चालन हुने प्रतियोगिताका लागि उपमहानगरले पच्चिस लाख रुपैयाँ सहयोग गरेको छ । यस्तै रङ्गशालाको पूर्वाधार मर्मत एवं फ्लड लाइट व्यवस्थापनका लागि उपमहानगरपालिकाले थप २० लाख रुपैयाँ सहयोग गरेको क्लबले जनाएको छ । प्रतियोगितामा गत सालको विजेता संकटा क्लब ,एन.आर.टी. ,हिमालयन शेर्पा ,फ्रेण्डस क्लब ,एपिएफसि, सुदुर पश्चिम ११ स्पोटर्स क्लब धनगढी ,के.बि.ए ग्लोबल बिएफसी चितवन ,विजय युथ क्लब हेटौँडा ,बाग्मती युवा क्लब सर्लाही र आयोजक नव जनजागृति युवा क्लब सिमरा गरी दश टिमको सहभागिता रहने जनाईएको छ ।

Comment


Related News

Latest News

Trending News