२०७८ चैत्र ८, मंगलवार ०७:३९

नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले मिथिला चित्रकलाको व्यवसायीकरणको आवश्यकता औल्याएकी छिन् ।

सोमबार जनकपुरधाम उपमहानगरपालिकाको कुवारामपुर स्थित नारी विकास केन्द्रको अवलोकन भ्रमणको क्रममा उनले मिथिला क्षेत्रको मौलिकता झल्काउने अत्यन्त आकर्षक चित्रकला तथा हस्तकलालाई व्यवसायीकरण गर्नु पर्नेमा जोड दिइन् । आफू काठमाण्डु फर्किए लगत्तै सहयोगको लागि बेलायत सरकारसंग कुरा गर्ने बताउँदै उनले मिथिला चित्रकलाको प्रचार प्रसार गर्नु आवश्यक छ भन्दै सोकोलागि काठमाण्डु स्थित विभिन्न अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्था समक्ष समेत कुरो उठाउने प्रतिवद्धता व्यक्त गरिन् । उनले महिलाहरु सामूहिकरुपमा एकत्रित भइ मिथिला कला क्षेत्रका लागि अग्रसर रहेकाले यसको बजारीकरण, व्यवसायीकरण तथा सहज व्यवस्थापनप्रति गंभीर रहेको बताउंदै मिथिला चित्रकलाको प्रवद्र्धनका लागि आफूले हरसम्भव सहयोग गर्ने बताइन् । मिथिला चित्रकलाको बजारीकरण, र अन्तर्र ाष्ट्रियकरणका लागि आफू तत्पर रहेको बताउंदै उनले महिलाहरुले छरिएर चित्रकलाको क्षेत्रमा काम गरिरहेको भए पनि एकत्रित भइ अभियानको रुपमा अगाडि बढाउन नसकिएको टिप्पणी गरिन् ।

अवलोकनको क्रममा जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रीता झाले सामूहिकरुपमा महिलाहरुको लगनशीलताकै कारण मिथिला चित्रकलाको विश्व बजारमा चर्चा हुने गरेको भए पनि व्यापकता भने पाउन नसकेको गुनासो गरिन् । चित्रकला तथा हस्तकलाले मिथिलाको संस्कृति ,कला उजागर मात्र गर्ने नभइ यसले जनकपुरधामलाई विश्व बजारमा पहिचान दिएर पर्यटन प्रवद्र्धनमासमेत महत्वपूर्ण योगदान दिन सक्ने सम्भावना रहेको उल्लेख गरिन् । जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले मिथिला चित्रकलाको व्यवस्थापन र बजारीकरणका लागि पूर्वाधार निर्माण गर्नु पर्ने आवश्यकता औंल्याए । उनले जनकपुरधाम मात्र नभइ प्रदेशभरिनै मिथिला चित्रकलामा भइरहेको कामगर्ने महिला तथा पुरुषहरुलाई एउटै प्लेटफर्ममा राखेर मिथिला चित्रकलाको बजारीकरणबारे व्यापक बहस गर्नु पर्ने र सोको लागि संघले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

Comment


Related News