२०७८ चैत्र ९, बुधबार ०७:१९

नेकपा माओवादी केन्द्रले मंगलवार गरेको मधेश प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई पार्टीका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री मातृका यादवले वहिष्कार गरेका छन् ।

प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षक र प्रमुख अतिथि पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ थिए ।अर्का प्रशिक्षक नेता एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ थिए ।प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम भए पनि यादवले वहिष्कार गरे ।यादवले वहिष्कार गरे पनि उनी निकटका नेता, कार्यकर्ताहरुको प्रशिक्षणमा सहभागिता रहेको थियो । स्रोतहरुका अनुसार कार्यक्रममा श्रेष्ठलाई प्रशिक्षक बनाएकोप्रति यादवको असन्तुष्टि थियो ।कार्यक्रममा पूर्व जनमोर्चाबाट आएका नेताहरु श्रेष्ठ, गिरिराजमणि पोखरेल लगायतका नेताहरुको पनि सहभागिता थियो । यादव असन्तुष्ट भएर कार्यक्रममा नआएको भेउ पाएका प्रचण्डले भने, ‘नेता यादव कार्यक्रममा नआउँदा दुःख लागेको छ ।’ ‘असन्तुष्ट रहे पनि उहाँ कार्यक्रममा सहभागी हुनुपथ्र्यो ’ उनले भने, तर, आउनु भएन । यो दुःखको कुरा हो ।’ मधेश प्रदेशमा माओवादीको कमिटी बनिसकेको छैन् ।बर्दिबासस्थित आधार केन्द्रबाट सहिद रामवृक्ष यादवको शालिक पोखरेलले हटाएपछि विवाद झन चुलिएको छ ।शालिक हटाउनेलाई कार्वाहीको पक्षमा नेता यादव अडेका छन् ।

मधेश प्रदेशमा रहेको माओवादी केन्द्र भित्रको गुट–उपगुटलाई त्यागेर स्थानीय तहको चुनावमा होमिन प्रचण्डले निर्देशन दिए ।‘कतिपय सवालमा पार्टी भित्र असन्तुष्टि हुन सक्छ’ उनले भने, तर त्यसलाई पार्टी भित्रै सुल्झाउनु पर्छ ।स्थानीय तहको चुनावमा एक ढिक्का भएर लाग्न उनको आग्रह थियो । गठबन्धनको विषय टुंगो नलागेको र गठबन्धन नभए पनि चुनाव जित्नेगरी लाग्नुको विकल्प नरहेको उनले प्रष्ट गरे ।‘सत्तारुढ दलहरुबीच स्थानीय तहको चुनावमा तालमेल भइसकेको अवस्था छैन्’ उनले भने, तर तालमेल नभए पनि चुनावमा जित्ने उद्देश्यका साथ लाग्नुपर्छ । ‘सत्तारुढ गठबन्धनलाई भत्काउन प्रतिकृयावादीहरु सक्रिय रहेका छन्’ उनले भने, स्थानीय तहमा गठबन्धनका दलहरुबीच तालमेल नभए पनि चुनाव जित्न मानसिक रुपमा सबैले तयारी भएर लाग्नु पर्छ । ‘प्रतिनिधि सभाको आगामी बैठकबाट नागरिकता सम्बन्धी विधेयक पारित हुन्छ’ उनले भने तराईमा नागरिकता सम्बन्धी समस्या अझै बाँकी नै रहेको छ । अध्यक्ष प्रचण्डले एमालेको कारण नागरिकता विधेयक अड्किएको आरोपसमेत लगाए ।

एमालेले बिनाकारण संसद चल्न नदिएको भन्दै प्रचण्डले ओली अझै प्रतिगमनकै बाटोमा रहेको बताए । ‘म प्रधानमन्त्री हुँदा दुईपटक मधेशी जनताको भावनाअनुसार संविधान संशोधन प्रस्ताव दर्ता गरेँ ’ उनले भने तर, एमालेले त्यसलाई असफल बनायो । एमालेले नै मधेशी जनताको अधिकारमाथि खेलबाड गरेको छ ।’ मधेशको सहानुभूति बटुल्न प्रचण्डले भने, ‘म दुई पटक मधेशबाट नै जितेर प्रधानमन्त्री बनेको छु ।संघीयतालाई दिगो बनाउन नदिन भइरहेको षडयन्त्रलाई कुनै हालतमा सफल हुन नदिन प्रचण्डले आग्रह गरे । प्रचण्डपछि कार्यक्रममा प्रशिक्षण दिएका नारायणकाजी श्रेष्ठले कार्यकर्ताहरु जित्ने आत्मविश्वास बनाउनु पर्नेमा जोड दिए ।कार्यक्रममा मधेश प्रदेशका ८ वटै जिल्लाका नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Comment


Related News