अपडेट 
२०७८ चैत्र ९, बुधबार ०७:२५

सडक, गल्ली, कपडा र अनुहारबाट होलीको रंग अझै हराइसकेको छैन । होली यद्यपि यस वर्षको लागि पनि निकट भूत भइसकेको छ तर पनि होलीले छोडेका केही छापहरु भने निकै घतलाग्दा छन् । हाम्रो सामाजिक परम्परामा होलीको महत्व कत्तिको रहेछ भन्ने कुरो यस पर्वले स्वयं नै बयान गरेको छ । होलीको गीतदेखि खानपानसम्म अहिले पनि यस्तो लाग्दछ कि भर्खर सकिएको छ । होलीले हाम्रो समाजको हरेक पक्षसित समन्वय र सम्बन्ध गाँसेको यथार्थ हो । यसलाई सामाजिक सम्मिलनको पर्व पनि यसै अर्थमा भनिएको हो र होलीको समयमा सकारात्मक तथा नकारात्मक सबै पक्षमा समाजले मिलेर नै दुःख सुख साटासाट गर्दछ भन्ने उदाहरण जताततै पाइन्छ । रौतहटको एउटा गाउँमा तिन जनाको परिवार छ । एक जना करिब पुरै अपांग र अर्को चाहिँ यस्तो शारीरिक र मानसिक अवस्थाका कि सबैले दया गर्नुपर्ने छ । एक जना चाहिँ मानसिक र शारीरिक रुपले ठिक छन् ।

आर्थिक दृष्टिकोणले निकै कमजोर, राम्रो बस्न मिल्ने घर पनि नभएको परिवार । नजिकको हाट बजारमा तरकारी र अन्य केही खानेकुरा मागेर खाने किसिमको परिवार । यसरी पनि भन्न सकिन्छ, सामाजिक सहयोगमा चलेको परिवार । परिवारमा केही ठूलो समस्या पर्दा समाजका सदस्यहरुले सहयोग गर्ने गरेको । होलीको दिनको एउटा घटना हो । गाउँमा ज–जसले आफ्नो घरमा खसी काटेका थिए, गाउँका सबैले आफ्नो खसीको मासुलाई बेच्न वा घरपरिवारको लागि भागबन्डा लगाउँदा एउटा सानो भाग उक्त विपन्न परिवारको लागि पनि छुट्याए । तिन जनाको परिवारलाई कसैले दयाले वा मायाले वा सहानुभूतिले वा सहयोगले एक पाउ वा आधा किलो मासु पु¥याइदिए । संयोग यस्तो कि त्यो परिवारलाई दिनु छ भने सगोलमै अलिकति राम्रो मासु दिँदा राम्रो भन्ने सोचाइ रहेको थियो । तिन जनाको परिवारको लागि समाजले होलीको दिन खसीको मासु पु¥याउँदा सहयोगमा नै बाह्र किलो मासु पुगेको थियो । एक जनाले उसलाई गन्जी दिन जाँदा अलिक ढिलो भइसकेको थियो र उनले सोधेछन् – यत्तिको मासु के गर्नु हुन्छ ? गाउँ र टोलका सबैलाई दिउँसोतिर खानलाई बोलाउँछु । सहज जवाफ थियो रे । यस उदाहरणले हाम्रो समाजमा हुने सहयोगको भावनालाई एकातिर दर्शाएको छ भने अर्कोतिर सहयोग प्राप्त गर्ने पनि चाडपर्वमा कत्ति धेरै सामाजिक सामूहिक सोचाइ राख्ने किसिमका हुन्छन् भन्ने मनोविज्ञानका हुन्छन् भन्ने देखाउँछ । हम्रो अनन्य छिमेकी देश भारतको बिहार प्रान्तमा मदिरा निषेध छ । मदिरा निषेध भएको अवस्थामा पनि मदिरा पक्राउ परेका समाचारहरु कहिलेकाहीँ आइरहन्छन् । मदिरा निषेध भए पनि मदिराको लत परेको उमेर समूहका मानिसहरु सक्रिय छन् ।

हामीले पनि देखेका छौँ, बिहारबाट हाम्रो समाजमा कुनै अवसरमा पर्यटक बनेर आएको बेला होओस्, कुनै चाडपर्वको समयमा बोर्डरको छेउमा आउनु परेको होओस् वा आफन्त तथा नातागोताको कहाँ आउँदा होओस्, मदिरा पिउनेले इच्छाले पूरा नभनेसम्म पिइरहन्छन् । अझ कतै कोही कुनै जन्ती आउनु परेको होओस्, मदिरा पिउनेहरुको लर्को हुन्छ । बोर्डर छेउका मदिरा पसलहरुमा धेरै मानिस उतैबाट आएर मदिरापान गर्दछन् । यसलाई हाम्रो समाजले पनि नकारात्मक लिएको छैन भने बिहारमा पनि नराम्रो मानेको पाइएको छैन । दुई देशको सीमावर्ती क्षेत्रमा रहेको समाजको सकारात्मक सम्बन्धले दुई देश भए पनि एक समाजको जस्तो बसेका छन् । सीमावर्ती क्षेत्रमा दुई देशको समाजबीच धेरै किसिमले समानता रहेको पाइन्छ । यस समानताको जगमा मदिराको सम्बन्ध पनि रहेको छ । बिहारमा मदिरा प्रतिबन्धित रहेको छ तर गत होलीमा भने मदिराको कारणले बिहारमा ठूलो क्षति भएको भारतीय संचार माध्यमहरुमा खबर आएका छन् । मदिराले कैयौ मानिसको ज्यान लिएको छ । यो ज्यादै दुःखद खबर हो । हामीकहाँ मदिराको बिक्री तथा सेवनमा कुनै किसिमको प्रतिबन्ध रहेको पाइँदैन । जुनसुकै बेला पनि मदिरा किन्न पाइन्छ र जुनसुकै उमेरको मानिसले पनि मदिरा पिएको देखिन्छ । बालबालिकाले मदिरा पिउँदैनन् । बालबालिकाले कुनै पनि किसिमको मदिरा पिउनु हुँदैन र कुनै पनि किसिमको नशालु पदार्थको सेवनबाट टाढा रहनु पर्दछ भन्ने मेरो मान्यता छ । अझ बालबालिकाले देख्ने गरी मदिरा बेच्नु हुँदैन जस्तो पनि मलाई लाग्दछ । साथमा मदिराको पसलमा कुनै बालबालिका किन्न वा बेच्न जानु हुँदैन भन्ने पनि मलाई लाग्दछ । सम्भवतः कानुनमा यस्ता कुरा गरिएको पनि हुनुपर्छ तर समाजमा मदिराको सेवन सामान्यतया मदिरा पिउने उमेर र हैसियतका मानिसका लागि जहिले पनि उपलब्ध छ ।

यहाँनेर एउटा सामान्य पक्ष यो पनि उभिन आउँछ कि मदिरा हाम्रो समाजको लागि स्वीकृति हो भने छिमेकी समाजको लागि विकृति हो । मदिरा जहाँ सामाजिक स्वीकृति हो, त्यहाँ मदिराको सेवनमा एउटा अनुशासन कायम भइसकेको देखिन्छ । होलीको समयमा वर्षको सबैभन्दा बढी एकै दिन मदिराको सेवनको दृष्टिकोणले खपत हुनुपर्ने दिन हो । मदिरा सेवन गर्नेले सायदै होलीको दिन मदिराको सेवन नगरेको हुनुपर्छ । होलीको एउटा अंगको रुपमा मदिरा सेवन हाम्रो समाजको स्वीकृत परम्परा भइसकेको छ । यसलाई अघोषित परम्परा पनि वर्तमानको धरातलमा भन्नु आवश्यक छैन । वास्तवमा यो घोषित र स्वीकृत परम्परा भइसकेकोले होलीको समयमा मदिरा सेवन गर्नुलाई विकृति मानिदैन । यद्यपि मदिरा सेवनले कैयौँ विकृति ल्याएका छन् । होलीमा पनि यसको विकृत रुप कतै कतै देख्न नपाइने होइन । होलीको अन्य क्षेत्रमा पनि यदि विकृति बढेको छ भने मदिराको क्षेत्रमा पनि केही बढेको होला । यद्यपि मदिरा सेवनलाई नै कतिपयले विकृति मान्ने गरेका छन् । तर गत होलीको सन्दर्भले यो पनि स्पष्ट भएको छ कि हाम्रो समाजमा मदिरा सेवन गरेर होलीको आसपासमा कसैको मृत्यु भएको पाइएको छैन । मदिरा पिएर सबारी दुर्घटनामा परेको सन्दर्भलाई यहाँ लिइएको छैन । होलीको मदिरा पानले हाम्रो समाजमा सभ्यता नै प्रदर्शन गरेको वा समाज अब धेरै हदसम्म सचेत भइरहेको बुझ्दा फरक नपर्ला । तर छिमेकमा मदिरा प्रतिबन्धित रहेको सन्दर्भ छ र प्रतिबन्धित अवस्थामा मदिरा पिएर केही मानिसको मृत्यु हुनुजस्तो दुःखद खबर जब समाजमा आउँछ तब मदिरा पान साँच्चै विकृति नै रहेको वा भइसकेको भन्ने यथार्थलाई पुनः प्रमाणित गर्दछ । वैज्ञानिक सत्य हो – समाजमा जुन कुरामाथि प्रतिबन्ध हुन्छ, त्यसप्रति आकर्षण धेरै हुन्छ ।

समाजमा जुन कुरा सर्वसुलभ हुन्छ, त्यसप्रति धेरेको चाहना हुँदैन । र, जहाँ सहयोगको भावना हुन्छ, त्यहाँ धेरै अभावमा बाँच्नेले पनि बाँड्ने क्षमता समाजबाटै पाउँछ । मदिरामाथि प्रतिबन्ध रहेको समाजमा मदिरा पान गरेर कैयौँले दुःखद मृत्युवरण गर्न पुग्नु र मदिरा खुल्ला रहेको समाजमा मदिरा पानले विषाक्त रुप लिनु पर्ने अवस्था नआउनुले बलको त्यही नियमलाई बुझाउँछ जसलाई जति धेरै थिच्ने हो, त्यत्ति धेरै माथि उफ्रिन्छ । फेरि पनि मदिरालाई खुल्ला गर्नुपर्ने वा मदिरामाथि पूर्ण प्रतिबन्ध लगाइनु पर्ने भन्ने दुवै पक्षमा मैले केही बोल्न चाहेको छैन । दुवै समाजका आफ्ना विशिष्टता र विशेषता छन् । सरकारले धेरै पक्षमा विचार गरेर नै यस किसिमको निर्णय लिएको हुनुपर्छ । यहाँ दुई दृष्टान्तलाई प्रस्तुत गरिएको मात्र हो । मदिरालाई स्वीकृति दिइएको समाज र मदिरालाई विकृति मानिएको समाजका यी दुई दृष्टान्तले पक्कै एउटा यथार्थलाई प्रस्तुत गरेको हुनुपर्छ । अनि सहयोगात्मक समाज छ भने चाडपर्वलाई भाइचाराको, सामाजिक सहयोगको, सामाजिक सद्भावको पर्वको रुपमा सिद्धान्तलाई पूजा मात्र नगरेर व्यवहारमा प्रमाणित गरेको हुन्छ । एउटा विपन्न परिवारमा होलीको दिन समाजका सदस्यले आफूलाई घाटा नपर्ने गरी बाँडेको खुसीले एउटा नितान्त विपन्न परिवारले पनि समाजमा आफ्नो खुसी बाँड्ने हैसियत बनाउँछ । उसलाई अलिकति पनि महसुस हुँदैन कि विपन्न छु ।

अरुको घरमा मानिस गएर खानपान गर्दछन् भने मेरो घरमा पनि मानिसहरु आएर खानपान गर्दछन् । नमागेर पनि दिने समाजलाई सहयोगात्मक मान्नु सर्वथा उचित हुन्छ । मागेर पनि नदिने कतिपय समाज छ, मागेर दिने त धेरै हुन्छन् तर नमागेर नै आवश्यकताभन्दा बढी दिने र दिनुलाई आफ्नो अधिकार मान्ने समाज हुन्छ भने निसन्देह त्यहाँ मानवताको पूजा हुन्छ । मानवले मानवप्रति चाडपर्वको बेला निर्वाह गर्नुपर्ने धर्म निर्वाह गरेको हुन्छ । हामीले सदैव सहयोगको भावना मनमा लिनु पर्दछ । सहयोग गर्ने मानिसलाई कहिल्यै कमी हुँदैन र सहयोग प्राप्त गर्ने मानिस चाहिँ धन्य धन्य हुन पुग्दछन् । यसकारण हाम्रो पूर्वीय संस्कृतिले समाजमा विपन्न वा पछाडि परेको व्यक्ति तथा परिवारलाई हाम्रा महत्वपूर्ण चाडपर्वको अवसरमा सम्भव भएको सहयोग गर्नुपर्दछ भन्ने जुन सन्देश दिएको छ, त्यो वास्तवमा सबैजना सुखी रहून्, सबै जना खुसी रहून् भन्ने भावनाले नै प्रेरित रहेको छ । यदि चाडपर्वको समयमा छिमेकमा कोही खानपान र पहिरनमा आफूलाई सर्वश्रेष्ठ ठान्दछ र आफूले दया वा सहयोग गर्नुपर्ने मानिसले यदि निरीहता प्रकट गरेर निराशामा पर्वलाई बिताउँछ भने मानिसको सर्वश्रेष्ठतामा प्रश्न चिन्ह उठ्दछ । त्यसैले हाम्रो छठमा पनि एकले अर्कालाई सहयोग गर्ने परम्परा रहेको छ । हाम्रा परम्पराहरु सहयोगात्मक भएकैले कोही समस्यामा परेकाप्रति अन्तर्हृदयदेखि स्वाभाविक रुपमा दया जागेर आएको हामी पाउँछौँ ।

Comment


Related News

Latest News

Trending News