राजविराज । नेकपा एमालेकी महिला नेतृ एवं तत्कालीन संविधान सभा सदस्य रंजु ठाकुर र नेपाली काँग्रेस सप्तरीका क्षेत्रीय प्रतिनिधि अरुण कुमार प्रधान जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् ।
उनीहरु संगै अन्य विभिन्न पार्टीका गरी एक सय १२ जना स्थानीय नेता कार्यकर्ता पनि पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका छन् । तत्कालीन संविधान सभासदस्य ठाकुर नेकपा एमालेको तर्फबाट महिला बालबालिका, जेष्ठ नागरिक, समाज कल्याण संसदीय समितीको सभापतिको जिम्मेवारी समेत बहन गरेका थिए भने उद्योग बाणिज्य संघ सप्तरीका निर्वतमान अध्यक्ष समेत रहेका प्रधान नेपाली काँग्रेस क्षेत्र नम्बर २ बाट हालै क्षेत्रिय प्रतिनिधिको जिम्मेवारी सम्हालेका थिए । बुधवार राजविराज स्थित जिल्ला समन्वय समितीको सभाकक्षमा जसपा सप्तरीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादव एवं संघीय सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवले अवीर माला लगाएर उनीहरुलाई स्वागत गरे । पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष यादवले मुलुकको हित चाहने वास्तविक पार्टी जसपामात्र रहेको बताउँदै आगामी निर्वाचनमा जसपा ठुलो शक्ति बन्ने दाबी गरेका थिए । उनले जसपा प्रवेश गर्नेको हिमाल, पडाड र तराईमा लहर नै चलेको दाबी गर्दै अलमलमा रहेकाहरुलाई पनि पार्टीमा आउन आह्वान गरे । उनले नव प्रवेशीहरुलाई कुनै भेदभाव नगरिने र योग्यता तथा क्षमताको आधारमा उचित जिम्मेवारी दिईने प्रतिबद्धता समेत जनाए ।
महिला नेतृ ठाकुरले विद्यार्थी जीवन काल देखि नै अनेरास्ववीयु हुदै एमालेको संगठन सुदृढिकरण कार्यमा अमूल्य समय र जीवन समर्पित गर्दा गर्दै पनि आफनो योगदानको पार्टीले उचित कदर नगरेको गुनासो गर्दै अब आफ्नो जन्मथलो मधेशबाट नयाँ ढंगले राजनीतिकलाई अघि बढाउन जसपा रोजेको बताईन । उनले पार्टी भित्र आन्तरिक लोकतन्त्रको अभाव भएको आरोप समेत लगाईन । उनले जसपाबाट नै मृुलुक र जनताको हित सम्भव रहेको दाबी गरिन । प्रधानले नेता कार्यकर्ताबीच चरम गुटबन्दी कायम रहेकाले उक्त पार्टीमा वसेर काम गर्न निकै समस्या परेको गुनासो गरे । उनले जनता समाजवादी पार्टी जनता संग प्रत्यक्ष जोडिएर नाम अनुसारको काम र व्यवहार देखाउन थाले पछि आफु पनि यस पार्टी तर्फ आर्कषित भएको बताए । जसपा अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्र समेत रहेको जिल्लामा ठाकुर र प्रधानको प्रवेशले जसपाका स्थानीय नेता कार्यकर्ताले ठूलो उपलव्धि ठानेका छन ।
जिल्ला अध्यक्ष केदार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा संघीय सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादव, मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवल किशोर साह, अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, प्रदेश सभासदस्य मनिष सुमन जसपाका प्रदेश सचिव युसुफ अली, रुपनी गाउँपालिकाका प्रमुख हरेराम यादव, प्रेस मंचका महासचिव अवधेश झा, युवा नेता शैलेन्द्र मोहन झा लगायतले पनि नव प्रवेशीहरुलाई स्वागत गर्दै शुभकामना दिएका थिए ।
Please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=ZQsnuUHM8WA&t=15s

