जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकाका मेयर उदय बरबरियाले आपूm निकटका शिक्षकलाई तलव निकासा गर्ने र अन्यलाई नगरेको भन्दै शिक्षकहरु आन्दोलित भएका छन् ।
मेयर बरबरियाले आफु निकट शिक्षकलाई तलब दिने र अन्य शिक्षकहरुलाई तलबबाट बन्देज गरेपछि उनीहरु आन्दोलित भएका हुन् । स्थानीय सरकारले थप्नुपर्ने तलब पटक पटक आग्रह गर्दा पनि नदिएको भन्दै धनुषाको शहीदनगर नगरपालिकाका बालविकास सहजकर्ता र विद्यालय कर्मचारी आन्दोलनमा उत्रेका छन् । संघीय सरकारले दिदैं आएको तलवमा स्थानीय सरकारले थप गरेर दिनुपर्ने कानुन बनेपनि आफूहरुले हालसम्म नपाएको उनीहरुको भनाई छ । गत ६ असोजमा तथा ६ चैतमा समेत यसबारे ज्ञापन पत्र बुझाएर आग्रह गर्दा पनि ध्यान नदिँदा उनीहरुले विद्यालयको कामकाज बन्द गरी नगरपालिका कार्यालय अगाडि धर्ना दिएका छन् । गत साउन महिनादेखि नै आफूहरुले स्थानीय सरकारबाट समेत तलब पाउनुपर्नेमा नपाएको बालविकास सहजकर्ता लक्ष्मी थारु महतोले बताइन् । विद्यालय कर्मचारी (लेखापाल) को संघीय सरकारले १३ हजार ५ सय, बालविकास सहजकर्ताको ८ हजार र कार्यालय सहयोगीलाई ८ हजार दिदैं आएकोमा स्थानीय सरकारले ७ हजार दिन संघीय सरकारले अध्यादेशबाट बजेट पारित गरेको थियो ।
पारित भइसकेको बजेट पनि दिन आलटाल गरेकाले आफूहरुलाई आन्दोलनमा उत्रनुपरेको महतोले बताइन् । बढाइएको तलव स्थानीय सरकारले नदिएसम्म नगरपालिका कार्यालयमा धर्ना दिइरहने उनीहरुको भनाई छ ।

