महेन्द्रनगर । जनकपुरधाम ढल्केवर सडक खण्डको महेन्द्रनगरमा जथाभावी पार्किङ्गले गर्दा दुर्घटनाको जोखिम बढ्दै गएको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर बजार क्षेत्रमा पार्किङका लागि उचित स्थान नहँुदा मुख्य बजारका सडकमा जथाभावी सवारी साधान पार्किंग हुने गरेको छ । खासगरी मंगलबार र शनिबार लाग्ने गरेको सखुवा बजार,सोमबार र शुक्रबार लाग्ने नयाँ बजार र बाँकी दिन चोकमा लाग्ने बजार क्षेत्रमा अस्त– व्यस्त पार्किंगले बजार निकै कुरुप बन्दै गएको छ । अस्तव्यस्त पार्किंगको कारण सडक दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ । देशकै प्रमुख बजारको रुपमा चिनिने सखुवा बजार जाने चोक लगायतका ठाउँमा अझै पनि व्यवस्थित पार्किङ छैन । सडकमै जथाभावी सवारी साधन रोकेर सडकलाई पार्किंगस्थलको रुपमा प्रयोग गर्ने गरिएको छ ।
पार्किंग समस्याले बाटो हिडने बटुवादेखि जनकपुर ढल्केवर सडक खण्डमा ओहर दोहर गर्ने सवारी साधनहरुलाई समस्या हुँदा पनि चोकमा खटेको ट्राफिक मूकदर्शक बनेको स्थानीय व्यापारी विजय साहको गुनासो छ । जनकपुरधाम ढल्केवर सडक खण्ड ६ लेन सडक बने पनि महेन्द्रनगर दुर्गा मन्दिर नजिक लाग्ने नयाँबजार र क्षीरेश्वर चोकमा लाग्ने चोकको बजारको दिन एक लेन पूर्णरुपले अव्यवस्थित बजारको कारण सडक जाम हुने गरेको छ । स्थानीय तहबाट पनि यस समस्या समाधानको लागि कुनै पहल नभएको स्थानीयवासीहरुको आरोप रहेको छ । शहरी क्षेत्रमा दिनानुदिन बढ्दै गइरहेको सवारी साधनको चापलाई व्यवस्थित गर्न सम्बन्धित निकाय मौन देखिएका छन् ।

