२०७८ चैत्र १३, आईतवार ०७:२८

राजविराज । चित्रगुप्त सेवा समितिको ४७ औं साधारण सभा शनिबारदेखि राजविराजमा सुरू भएको छ ।

मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले साधारण सभाको उद्घाटन गर्दे वर्तमान युग मातृशक्तिको युग रहेको भन्दै लोकसेवामा पनि ५० प्रतिशत महिलालाई स्थान दिने व्यवस्था प्रदेश सरकारले गरेको बताए । महिलालाई आत्मनिर्भर बनाउनका लागि शिक्षामा जोड दिन आग्रह गर्दै उनले महिला शिक्षित भए परिवार र परिवार शिक्षित भए समाज शिक्षित हुने जिकिर गरे । विगतको समयमा यो समाज पुरुष प्रधान रहे पनि वर्तमान समय महिलाको हो भन्दै मन्त्री साहले शिक्षित महिलाले हरेक क्षेत्रमा पुरुष सरह काम गरेर देखाउन सक्ने उल्लेख गरे । समितिका अध्यक्ष अशोक कर्णको सक्रियतामा आयोजित उद्घाटन समारोहमा प्रदेश सभा सदस्य मनिष सुमन, राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, लोकतान्त्रिक समाजवादी पार्टीका दीपेन्द्र चौधरी, नेपाली कांग्रेसका धु्रब देव, मैथिली साहित्य परिषद्का पूर्वअध्यक्ष देवेन्द्र मिश्र लगायतले जातीय उत्थानसँगै शिक्षा क्षेत्रमा समितिले गरेको योगदानको प्रशंसा गर्दै साधारणसभाको सफलताको शुभकामना दिए ।

कार्यक्रममा चित्रगुप्त सेवा समितिद्वारा निर्माण भइरहेको धर्मशालाका लागि सहयोग गर्ने प्रदेशसभा सदस्य मनिष सुमन, स्थानीयवासी राजेश कर्ण, सुरतलाल साह, प्रिया कर्ण, राजीव कर्ण, संजय कर्ण, निर्मलादेवी भगत लागयतका दाताहरुलाई मन्त्री साहले कदरपत्र र दोसल्लाबाट सम्मान गरेका थिए । कार्यक्रममा समितिका महासचिव सतीश दत्तले वार्षिक प्रगति विवरण तथा कोषाध्यक्ष शिवकुमार निधिले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बन्दसत्रमा सहमतिबाट नयाँ नेतृत्वका लागि प्रयास गरिने र सफलता नमिले निर्वाचनबाटै टुङ्गो लगाउने र यसका लागि निर्वाचन समिति समेत गठन गरिएको समितिले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News