२०७८ चैत्र १४, सोमबार ०७:५८

गौर । स्थानीय तह निर्वाचन २०७९ निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरुको भूमिका विषयक एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल कानून समाजको आयोजनामा आइतबार रौतहटको गौरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । बैशाख ३० गते हुनलागेको स्थानीय तहको निर्वाचनलाई स्वच्छ निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले निर्वाचन आयोग नेपालले तयार पारेको निर्वाचन आचार संहिताप्रति सरोकारवालाको राय सल्लाह सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । जिल्ला समन्वय समितिका अध्यक्ष राम एकवाल राय यादवको सक्रियतामा भएको सो कार्यक्रममा पूर्व कानून सचिव एवं पूर्व संचारमन्त्री माधव पौडेल र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह सचिव विष्णुदत् गौतमले निर्वाचन आयोग नेपालले तयार पारेको निर्वाचन आचार संहिता प्रस्तुत गरेका थिए । प्रस्तुत गरिएको आचार संहिता प्रति जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य रेवन्त झाले निर्वाचनमा प्रचार प्रसारको समयमा विदेशी सवारी साधनको प्रयोग निषेध गरिएको प्रति आपत्ति जनाउँदै प्रयोग गर्ने वातावरण सहज बनाउनु पर्ने माग गरे । आयोगले निर्धारण गरेको खर्चको नियमन गर्नु पर्ने , आचार संहिता कडाइको साथ अनुगमन गर्नु पर्नेमा जोड दिँदै नेता झाले अनुगमन समितिमा राजनीतिक दलका प्रतिनिधि सहभागी गराउने प्रावधानले अनुगमनमा गंभीर असर पुग्न सक्ने आशंका व्यक्त गरे । यमुनामाइ गाउंपालिकाका अध्यक्ष श्री प्रसाद मुखियाले निर्वाचन आयोगले खर्च निर्धारण गरेको रकम अपुग रहेको टिप्पणी गरे । उनले निर्वाचनको बेलामा भोज भतेर गर्ने उम्मेदवारको उम्मेदवारी खारिज गर्नु पर्ने माग गरे । कार्यक्रममा सहभागीहरुले उठाएका प्रश्न र राखेका जिज्ञासाको जवाफ दिँदै पूर्व मन्त्री माधव पौडेलले निर्वाचनलाई कम खर्चिलो बनाउने उद्देश्यले न्यूनतम् खर्च निर्धारण गरिएको बताए ।

जनप्रतिनिधिहरुलाई शैक्षिक योग्यता तोक्नु पर्ने सहभागीहरुले उठाएको प्रश्नको जवाफमा पौडेलले भने लोकतन्त्रमा जनप्रतिनिधिको योग्यता निर्धारण गरे अन्य संग विभेद हुने भएकोले यस्तो गर्न नसकिने बताए । निर्वाचन आचार संहिता सबैले पूर्ण रुपमा पालना गर्नु पर्नेमा जोड दिँदै पालना नगर्नेलाई कानूनी कारवाही समेत गर्न सकिने चेतावनी दिए । कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह सचिव विष्णु दत् पौडेल , प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाही , गौर नगरपालिकाका उपमेयर किरण कुमारी ठाकुर सहितकाले आ–आफ्नो धारणा राखेका थिए । सोही कार्यक्रममा बोल्दै संघीय मामिला तथा सामान्य प्रशसन मन्त्रालयका सह सचिव विष्णुदत गौतमले कर्मचारीको सरुवा गराउने भीडले कर्मचारीलाई काम गर्ने वातावरण नरहेको टिप्पणी समेत गरे । उनले निर्वाचित जनप्रतिनिधिहरु र विरोधी समूहले निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाउने मेला जस्तो नै भीड मन्त्रालयमा जम्मा हुने गरेको जिकिर समेत गरे ।

Comment


Related News

Latest News

Trending News