अपडेट 
२०७८ चैत्र १६, बुधबार ०७:५४

एक हप्तामा नै शिक्षकको यति धेरै ठूलो परीक्षा भएको यो नै पहिलो पटक हुनुपर्छ । अहिले देश नै शिक्षकको परीक्षामय भएको छ । शिक्षकको परीक्षा सकिना साथ देशमा विद्यार्थीको परीक्षा सुरु हुन्छ । पहिले विद्यालय स्तरका विद्यार्थीको वार्षिक परीक्षा हुन्छ र त्यस पत्रि एसइइ परीक्षा हुन्छ । यी सबै परीक्षा भन्दा पहिले देशका शिक्षकरुले परीक्षा दिइरहेका छन् । देशका शिक्षकहरुले दुई थरिका परीक्षा दिइरहेका छन् जसले गर्दा देश अहिले शिक्षकको परीक्षामय भएको छ । सबैलाई थाहा छ जब शिक्षकहरुको परीक्षा आयो तब घोषित र अघोषित रुपमा देशका अधिकांश विद्यालय बन्द भए । कतिपय जिल्लाका अधिकांश पालिकाले नै औपचारिक रुपमा विदा दिए एक हप्ताको लागि । एक हप्ताको लागि विदा यस अर्थमाकिशिक्षक सेवा आयोगले माध्यमिक, निम्नमाध्यमिक र प्राथमिकतहको लागि खुल्ला विज्ञापन मार्फत तोकेको परीक्षाको समय थियो । खुल्ला परीक्षा मार्फत आयोगले परीक्षा लिँदा पनि विद्यालय बन्द गर्नु पर्ने कारणहरु थिए । शिक्षक जुन तहमा छन्, एक तह माथिको तहमा जान चाहनु स्वाभाविक हो । अझ योग्यता पुगेको कतिपय प्राथमिक शिक्षकले पनि माध्यमिक तहको परीक्षा दिएका छन् । साथै राहत र अस्थायी शिक्षकले पनि आफ्नो स्थायीत्वको लागि परीक्षामा सम्मिलित हुन पाउने अवसर पाउनुलाई निकै सुखद मानेका छन् । यस्ता राहत तथा अस्थायी शिक्षकले तयदि शिक्षक लाइसेन्स छ भने जुन वा जुन जुन पदमा स्थायी हुनको लागि परीक्षा दिन मिल्नु पर्ने हो सबै पदमा दिएका हुन् । यसलाई स्वाभाविक मान्नु पर्दछ ।

परीक्षाको मिति नजिकिए सँगै परीक्षा दिनको लागि बाहिर जानुपर्ने सम्भावित शिक्षक तथा वर्तमानका शिक्षकहरु पनि जहाँबाट परीक्षा दिनु पर्ने हो, त्यहाँ पुगिसकेका थिए । विद्यालय बन्द नहुँदै परीक्षार्थीहरु सम्बन्धित ठाउँमा पुगेर परीक्षाको तयारीमा जुटेका थिए । परीक्षाको तयारी गर्नको लागि सम्बन्धित जिल्ला वा प्रदेशको राजधानी वा तोकिएको परीक्षा केन्द्रसम्म पहिले पुगेर परीक्षाको तयारी गरिरहेकाथिए वा गर्न थालेका थिए । यसरी शिक्षकका परीक्षार्थीहरु आफू कार्यरत विद्यालयको पढाइलाई बढी महत्व दिइनुको साटो आफ्नो वृत्ति विकास र जीवनमा जागिरको स्थायीत्वको लागि पहिले नै परीक्षा केन्द्रमा पुगेर शान्तिपूर्ण परीक्षाको तयारी गर्ने बेलामा अधिकांश विद्यालयमा शिक्षकको अभाव हुनथएको थियो । अझ त्यस्ता विद्यालय जहाँ धेरै शिक्षक राहत, माध्यमिक विद्यालय भए पनि अधिकांश शक्षिक प्राथमिक तहका र अस्थायी शिक्षक थिए, तिनीहरु त स्वाभाविक रुपमा स्थायी शिक्षक हुन वा माथिल्लो तहको शिक्षकमा स्थायी जागिर पाउन परीक्षामा सामेल हुनु स्वाभाविक हो । जब अधिकांश शिक्षक यसरी आफ्नो वृत्ति विकासका लागि विद्यालय बाहिर हुन्छन् तब विद्यालय खोलेर मात्र हुँदैन, विद्यालयमा विद्यार्थीलाई बोलाएर मात्र हुँदैन, विद्यार्थीलाई त पठनपाठन चाहिन्छ । विद्यालयमा पठनपाठन हुनको लागि विद्यार्थी जति आवश्यक हुन्छ, शिक्षक पनि उत्तिकै आवश्यक हुन्छ । शिक्षकले आफ्नो परीक्षाको लागि केही दिनको लागि विद्यार्थीलाई पढाउन छाडेका हुन् र धेरै विद्यालयका अधिकांश शिक्षक जब यसरी आफ्नो गाउँ ठाउँ छाडेर अन्यत्रगएका हुन्, तब विद्यालयहरु बन्द गरिएका छन् । शिक्षकहरुको एक साथ ठूलो परीक्षा हुँदै गरेकोले कतिपयले यसलाई शिक्षक परीक्षाको महाकुम्भ पनि भनेका छन् । स्थायी शिक्षकहरुको परीक्षा पनि एकै साथ करिब राखिएको हो । शिक्षक सेवा आयोगले स्थायी शिक्षकको बढुवा परीक्षा पनि एक हप्तामा नै राखेको हुनाले विद्यालय बन्द गरिनु आवश्यकता जस्तै भएको हो । विद्यालयमा जो स्थायी शिक्षक छन्, तिनको आन्तरिक बढुवाको परीक्षाको कारणले विद्यालय बन्दहुनु बाध्यता जस्तै हुनगएको हो । शिक्षकमा दुई किसिमले बढुवा हुने गरेको छ ।

एउटा बढुवा हुन्छ फाइल बढुवा जसलाई पचहत्तर प्रतिशत बढुवा पनि भनिन्छ । अर्को हुन्छ पच्चीस प्रतिशत बढुवा जुन लिखित र मौखिक परीक्षा मार्फत बढुवा हुन्छ । पचहत्तर प्रतिशत बढुवाका मापदन्डहरुको आधारमा आफैँलाई थाहा हुन्छ कि मेरो बढुवा हुन्छ किहुन्न । आफ्नो श्रेणीका वरिष्ठ शिक्षक वा पहिले देखिका शिक्षकको को हुन् भन्ने कुरा अधिकांश शिक्षकलाई जानकारी हुन्छ । र, अर्को विकल्प भनेको सम्पूर्ण बढुवा हुनुपर्ने सिटको पच्चीस प्रतिशत सिटमा लिखित बढुवा हुन्छ । लिखित बढुवामा लिखित परीक्षा हुन्छ र जसले बढी नम्बर ल्याउँछन्, उनको मौखिक परीक्षा हुन्छ र बढुवा हुन्छ । सबै शिक्षकले बुझेका छन् किकुनै पनि तहमा तृतीय श्रेणीमा नियुक्ति पाएका हुन् र बढुवा हुनका लागि कम्तीमा पाँच शैक्षिक सत्र पूरा हुनु अनिवार्य हुन्छ । नियुक्ति पाएको श्रेणीमा पाँच शैक्षिक सत्र अटुट सेवा गरेपछि बल्ल माथिल्लो श्रेणीको लागि बढुवाको योग्य हुने हुन्छ । यसरी तृतीय श्रेणीका शिक्षकले घटीमा पाँच वर्ष पहिले यस श्रेणीको नियुक्ति पाएको हुन् र प्रथम श्रेणीमा जान चाहने शिक्षकले पनि त्यसरी नै द्वितीय श्रेणीमा बढुवाको लागि कम्तीमा पाँच शैक्षिक सत्र भन्दा पहिले बढुवा भएको हुनुपर्छ । शिक्षकहरु असन्तुष्ट रहने एउटा कारण यो पनि हो कि अहिलेसम्म श्रेणीगत बढुवाको प्रावधान मात्र रहेको छ शिक्षण पेसामा, तहगत बढुवाको प्रावधान रहेको छैन । धेरै लामो समयदेखि शिक्षकहरुले तहगत र श्रेणीगत बढुवाको माग गर्दै आएका छन् । हो, यस वर्ष विद्यालय धेरै बन्द भएको छ । कोरोनाको दोस्रो लहरमा करिब दुई महिना र तेस्रो लहरमा पनि एक महिना बन्द भएको हो । चाडपर्व र वर्षे विदा गरी थप एक महिना यत्तिकै बन्द भएको हो । यसले गर्दा विद्यालय तहका विद्यार्थीको मात्र नभई क्याम्पस अर्थात् विश्वविद्यालय तहका विद्यार्थीलाई पनि ठूलो मर्का परेको छ । यसै मर्काको समयमा चैतमा एक महिना पढाइ हुने अपेक्षा गरिएको थियो ।

चैतको पहिलो हप्ता होलीले गर्दा केही दिन पढाइ रोकिएको हो र एक हप्ता शिक्षकको परीक्षाले गर्दा पढाइ प्रभावित भएको हो । यसमा कुनै शंका छैन कि यस वर्ष विद्यालय तहका विद्यार्थीको कोर्स पूरा हुन पाएको छैन । र, एक हप्ताको छुटी नहुँदा पनि कोर्स पूरा भइहाल्ने त थिएन तर एउटा कुरो के स्पष्ट हुन आयो भने अब एक हप्ताको यो छुटीपछि विद्यालय जब खुल्छ तब विद्यालयको पढाइले लय नसमात्दै विद्यालय तहको परीक्षा आइहाल्छ । धेरै जिल्ला वा पालिकामा यसै महिनाको चौथो हप्ता देखि वार्षिक परीक्षा सुरु भइरहेको छ । कतिपय पालिका वा जिल्लाले केही ढिलो परीक्षा सुरु गर्न खोजेको अवश्य हो तर बाध्यता छ कि एसइइ परीक्षा सुरु हुनु भन्दा पहिले नै वार्षिक परीक्षा सम्पन्न गरि सक्नु पर्छ । वार्षिक परीक्षा यदि समयमा सुरु भएन भने एसइइको परीक्षाको समयमा विद्यालयको वार्षिक परीक्षा संचाल नगर्न यसकारण पनि गाह्रो हुन्छ किदिउँसो धेरै गर्मी हुन थाल्छ । यदि एसइइ परीक्षा भन्दा पहिले अन्य कक्षाको वार्षिक परीक्षा सम्पन्न गरिएनभने एसइइ परीक्षा पछि कक्षा नौ सम्मको परीक्षा लिन सकिने समय त रहन्छ तर यसरी परीक्षा लिँदा परीक्षको नतिजा प्रकाशन अलिकति पनि विश्वसनीय हुँदैन । र, अर्को शैक्षिक सत्र सुरु गर्न ढिलो पनि हुन्छ । जबकि सरकारले शैक्षिक सत्रको सुरुआत वैशाख देखि र पठनपाठन जेठदेखि हुने पहिले नै बताइसकेको छ । वैशाख महिनालाई परीक्षा लिने, नतिजा प्रकाशन गर्ने, विद्यार्थी भर्ना अभियान संचालन गर्ने, घरदैलो अभियान गर्ने, विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने समयको रुपमा विभाजन गरिएको छ जसले गर्दा जेठको पहिलो दिनदेखि नै पढाइ गर्न सजिलो होस् तर जेठको पहिलो हप्तासम्म स्थानीय तहको चुनावको राप र ताप नै हुन्छ । यस कारण जेठको चार पाँच गते पछि नै विद्यालयमा नियमित पठनपाठन हुने कुरामा सर्वसाधारणले विश्वास गरेका छन् ।

शिक्षकको परीक्षाले विद्यार्थीको पठनपाठनको गुणस्तरमा सुधार हुने हुन्छ । धेरै ठाउँमा रहेको रिक्त दरबन्दीमा यही परीक्षाबाट उत्तीर्ण भएर आएका शिक्षकले नियुक्ति पाउने हुन्छन् । यसै गरी शिक्षामा नयाँ जनशक्ति आउने ढोका खुलेको छ । केही शिक्षकको बढुवा हुने देखिन्छ । यसरी नयाँ शिक्षक आउँदा र शिक्षक बढुवा भएर आउँदा समग्र शिक्षाको गुणस्तरमा नै सुधार हुने तथा शिक्षामा सकारात्मक प्रभाव पर्ने सम्भावना रहेको छ । शिक्षकको परीक्षाबाट क्षणिक रुपमा विद्यालयको शिक्षामा असर पुगेको विश्लेषण गर्न नसकिने होइन तर यो पूर्ण सत्य भने होइन । हरेक पेसा र व्यवसायका मानिसले आफ्नो वृत्ति विकासको उपक्रमनिरन्तर गरिहन्छन् । स्थानीय तहले शिक्षकको वृत्ति विकासमा सहयोग गरेर विद्यालय बन्द गर्नुको पछाडि त्यही स्थानीय तहको शिक्षाको गुणस्तरमा थोरै भए पनि राम्रो प्रभाव पार्ने आशा रहेको स्पष्ट देखिन्छ । खुल्ला शिक्षक भर्ना परीक्षा तथा आन्तरिक बढुवाको परीक्षाले गर्दा देशको विद्यालय स्तरीय करिब सम्पूर्ण जनशक्ति प्रत्यक्ष र अप्रत्यक्ष प्रभावित भएको देखिएको छ । आशा गरौँ, यस परीक्षाले शिक्षा क्षेत्रमा राम्रो परिणाम ल्याओस् । देशको समग्र शिक्षाको क्षेत्रमा यो परीक्षा एउटा कोसेढुंगा साबित हुन सकोस् ।

Comment


Related News

Latest News

Trending News