अपडेट 
२०७८ चैत्र १६, बुधबार ०७:५६

आज चैत १६ गते । प्रजातन्त्र सेनानी मथुरा प्रसादज्युको २५ औं पुण्यतिथि । तिथिको आधारमा चैत कृष्ण पञ्चमी परेता पनि गतेको आधारमा चैत १६ गते पुण्य तिथि मनाइने गरिन्छ । वहाँ प्रति केहि शब्दका पुष्पहरुद्वारा भावपुर्ण हार्दिक श्रद्धाञ्जली । नेपालको लोकतान्त्रिक आन्दोलनका इतिहासमा २००७ सालको स–शस्त्र क्रान्ति देखी मृत्यु पर्यन्त सम्म लोकतन्त्रकालागी संर्घष गर्ने अनेकौं वीर योद्धाहरु यस धर्तीले जन्माएका छन। हुर्काएका छन । यी वीर योद्धाहरुको गाथाहरु कतिपयको ओझेलमा परेका छन भने कतिपयको परिवारका महत्वपुर्ण योगदानबाट स्मरण हुने गरेका छन । प्रजातान्त्रिक आन्दोलनका इतिहासका पानाहरुमा मात्र सिमित हुन पुगेका , नेपाली काँग्रेसका कार्यकर्ता एंव जन मानसको स्मरणबाट ओझेलमा पर्न थालेका लोकतान्त्रिक आन्दोलनका अनेकौं योद्धाहरु झैं महत्त्वपूर्ण योगदान पुर्याएका निष्ठावान, प्रतिबद्ध, संर्घषशिल एक योद्धा मथुरा प्रसाद पनि हुन।

बिस.२००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको सदस्यता लिएर १०४ वर्षे निरंकुश जहानिया राणा शासनको विरुद्धमा प्रजातन्त्र प्राप्तिका संर्घषमा होमिएका यिनि २००७ सालको शशस्त्र क्रान्ति , महेन्द्र नारायण निधिज्युको प्रधानमन्त्रीत्वमा महोत्तरीको बनेको जन सरकारमा खाध सचिब , २००९ सालमा जनकपुर धाम भएको नेपाली काँग्रेसको पाचौं महाधिवेशनका प्रतिनिधि एंव महाअधिवेशन तयारी एंव ब्यबस्थापन समितिका सदस्य , खडे बटैया बेठ बेगारी आन्दोलनमा नेतृत्व दाइ भुमिका , २०११ सालको सत्याग्रह, २०१४ सालको अभद्रज्ञा आन्दोलन , २०१५ सालको आम निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारहरुलाई बिजय बनाउन महत्वपूर्ण योगदान , २०१७ साल पुष १ गतेको घटनाको बिरोधमा पुनः प्रजातन्त्र प्राप्तिका संर्घषमा सकृय , पटना सम्मेलनमा सहभागी , २०१९ देखी सुरसन्ड क्याम्प सञ्चालनमा महत्त्वपूर्ण भुमिका , २०२५ सालमा आम माफी पछि साढे सात वर्षको निर्वासित जीवन ब्यतित गरेर स्वदेश फिर्ता , २०२८ साल देखि २०३९ साल सम्म जनकपु नगर समितिको अध्यक्ष , २०३२ र २०३६ सालको बिद्यार्थी आन्दोलन , जनमत संग्रहमा नेतृत्वदाइ भुमिका , २०४० सालमा बिरामी भएर दिल्ली प्रस्थान , २०४२ साल को सत्याग्रह, २०४६ को जन आन्दोलन सम्म नेतृत्वदाइ भुमिका निर्वाह गर्दै २०४८ सालको आम निर्वाचनमा नेपाली काँग्रेसलाई बिजय बनाउन अतुलनीय योगदान पुर्याउदै आउनुभएका मथुरा प्रसाद नेपाली काँग्रेसको स्थापनाकाल देखि नै प्रजातन्त्र प्राप्तिका प्रत्येक आन्दोलन एंव गतिविधिमा आफ्ना जिवनका सम्पुर्ण समय संर्घषमा नै ब्यतित गरेका यिनी थुना , जेलनेल यातना एंव निर्वासित जिवनबाट थला थला परेको शरीरलाइ पवित्र जनकपुर धाममा २०५३ साल चैत १६ गते चैत कृष्ण पक्षको पञ्चमी तिथिका दिन छाडेर यस संसारबाट ब्रह्मलिन भए ।

प्रजातान्त्रिक आन्दोलनमा मृत्यु पर्यन्त आफ्ना प्रत्येक क्षण सुम्पिएका प्रजातन्त्र सेनानी मथुरा प्रसादलाई पुनः हार्दिक हार्दिक श्रद्धा सुमन । पिता टंक नाथ उपाध्यायका जेष्ठ श्रीमती द्वार कुमारी देबिको दुई सुपुत्र पछि कान्छी श्रीमती आमा सोम कुमारीको गर्भबाट पिता टंकनाथको चौथो सुपुत्रको रुपमा १९८५ भाद्र ५ गते महोत्तरीको मनरा गाउँमा यिनको जन्म भएको थिय। सप्पन्न परिवारमा जन्म लिएका यिनका बुवा टंकनाथ उपाध्यायलाई त्यस भेगका मानिसहरुले जमिनदारको रुपमा चिन्दथे। राणा कालिन निरंकुश जहाँनिया एकतन्त्रीय शासनको विरुद्ध जनता जागरुक हुन्छन् भन्ने सोचका आधारमा बिधालयहरु प्रचुर मात्रामा खोलिएका थिएनन् । जुन खोलिएका थिए त्यस बिधालयहरुमा राणा , ठुला बडाका छोरा नातिहरु अध्यन गर्ने गर्थे । सम्पन्न , हुने खानेहरुले घरमा नै निजि शिक्षक राखेर अध्यन गराउने गर्थे र भारतको बिधालयहरुमा अध्यन गर्न आफ्ना छोरा नातिलाई पढ्न पठाउथे। यसै क्रममा मथुरा प्रसादलाई पनि घरको अध्यन पश्चात् बनारसको बिधालयमा नामंकन गरियो । यता भारतमा गाँधिद्वारा चलाइएको अंग्रेज बिरोधि आन्दोलन जोडतोडले चलिरहेको थियो। भारतमा रहेका नेपालीहरुले नेपालमा पनि एकतन्त्रीय राणा शासनलाई फालेर प्रजातन्त्र स्थापनार्थका लागि अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेस गठन गरेका थिए । अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेसले २००३ माघ १२ र १३ गते कलकत्ताको भवानिपुर स्थिति खाल्सा स्कुलमा प्रथम अधिवेशन सम्पन्न गर्दै नाउलाई परिवर्तन गर्दै नेपाली राष्ट्रिय काँग्रेस राख्यो।

उक्त अधिवेशनमा भाग लिन मुलुक भरिका विभिन्न जिल्लाका धेरै प्रतिनिधिहरु सहभागी भएका थिए। निर्णय अनुसार बननारासमा केन्द्रिय कार्यालय र शाखा कार्यालय खोल्यो। भारतको स्वतन्त्रता आन्दोलनको प्रवाभ बनारसमा अध्यनरत रहेका बिद्यार्थीहरूलाई पनि रामरै संग परेको थियो। नेपाली बिद्यार्थीहरु पनि राणा एकतन्त्रीय शासनको विरुद्धका संर्घष गर्न धमाधम सदस्यता लिन थाले। सदस्य लिनेहरुको संख्या नेताहरूले सोचे भन्दा अधिक मात्रामा वृद्धि भयो। बिधालय अध्य्यरत रहदै कृष्णप्रसाद भट्टराईका सानिध्यतामा रहेका मथुरा प्रसादले पनि २००३ सालमा कृष्णप्रसाद भट्टराईबाट बिधिबत सदस्यता लिएर निरंकुश एकतन्त्रीय जहाँनिया राणा शासनको बिरुद्ध सक्रियताका साथ लागेका कुरा उनले बताउने गर्दथे। २००५ साल बैशाखमा नेपाली राष्ट्रिय काँग्रेसको पटनाको आरामा बसेको बैठकले नेपालको सिमावर्ती ईलाकाहरुमा शाखा उपशाखा कार्यलयहरु खोलेर मुलुकको गाउँ गाउँमा संगठन बिस्तार गर्ने निर्णय ग¥यो । उक्त निर्णय अनुसार सुरसन्ड थाना नजिक इन्द्र बहादुर मल्ल, रघुनन्दन यादव लगायत साथिहरुका साथ कार्यलय खोलेर महोत्तरी जिल्लाको महोत्तरी प्रगन्नाका संगठन प्रमुख भइ संगठन बिस्तारमा लागेका थिए। २००५ आश्विन १२ गते संगठन बिस्तारका क्रममा नेपाल प्रवेश गर्दा भंसारमा तिलक शंमशेरले समातेर खान तलाशी गर्दा आठाना बाला सदस्यता रसिद बरामद गर्दा केही दिन थुनामा राखेर यिनलाई मुक्त गरिएको थियो। नेपाली राष्ट्रिय काँग्रेसको २००५ साल फागुन १८,१९, २० गते भारतको दरभंगामा भएको तेस्रो अधिवेशनमा भारत एंव मुलुकका विभिन्न ठाउँबाट ठुलो संख्यामा प्रतिनिधि एंव सहभागीता रहेको थियो। उनले प्रतिनिधिका रुपमा सहभागीता जनाएका थिए ।

बि.स.२००५ पुषमा राणा शाशन अन्त्य गरेर राजाको नेतृत्वमा प्रजान्त्र स्थापना गर्न अर्को संगठन नेपाल प्रजातन्त्र काँग्रेसको गठन भयो। नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसको लक्ष्य राणा शासनको अन्त्य गरेर प्रजातन्त्र स्थापना गर्ने रहेकोले बि.स. २००६ साल चैत २७,२८ र २९ गते कलकत्ता भएको संयुक्त सम्मेलनद्वारा एकीकरण भएर नेपाली काँग्रेसको स्थापना भयो । बि.स.२००७ असोज १० र ११ गते भारतको बैरगिनिया रेल्वे स्टेसनको दक्षिण तर्फ रहेको राइस मिलको गोदाममा भएको नेपाली काँग्रेसको सम्मेलनले सशस्त्र क्रान्ति गर्ने निर्णय गर्यो। त्यस पश्चात् बैरगिनिया सम्मेलनको निर्णय अनुसार सशस्त्र क्रान्तिबाट राणा शासन समाप्त गर्न मथुरा प्रसाद पनि पश्चिमी महोत्तरीको क्रान्तिमा सकृय हुनुभयो । पश्चिमी महोत्तरीको सिमावर्ती क्षेत्र भारतको सम्सिमा यिनि रामहरि जोशी, महाबिर ठाकुर लगायत साथीहरू मिलेर कार्यलय सञ्चालन गरेका थिए। २००७ सालको क्रान्तिमा महोत्तरीको पश्चिमी क्षेत्र बथनाहा, एकडाडा, मनरा कट्टी , इटहर्वा, भोइल, पोखरभिन्डा, राम गोपाल पुर, मोतिगिरी पर्सा , सुन्दरपुर फुल्काहा, भरत पुर, गौशाला , बैरिया लगायतका क्षेत्रको नेतृत्व गर्नु भयो। त्यस भेगका जनताहरुसंग रहेका पेस्तोल , बन्दुक नेपाली काँग्रेसको क्याम्पमा जम्मा गराउने एंव पश्चिमी बेल्टको आर्थिक संकलन गरेर मुक्ति सेनालाई आर्थिक पुर्ती गर्ने कार्य गर्नु भयो। २००७ सालको क्रान्तिमा बच्चा झा , यिनी लगायतका साथीहरू एंव मुक्ति सेना सहितको टोलिले महोत्तरीको कटैया भंसार, पोखर भिन्डा भंसार र सम्सी भंसारलाई कब्जामा लियो। र जनकपुर तर्फ अगाडि बढ्यो।

उता महोत्तरीको पुर्बी क्षेत्र महिनाथपुर क्याम्प रहेका निर्गुन यादव , भारत बाट आएका बिद्यार्थी एंव मुक्ति बाहिनी सेनाले महिनाथपुर रेल्वे स्टेसनमा रेललाई कब्जामा लिएर रुद्र प्रसाद गिरि सहितको टोलि जनकपुर पुग्यो। महोत्तरीका पुर्व पश्चिमी क्षेत्रबाट आएका टोलि र राणा सैनिक बीच गोलाबारी पछि मुक्ति वाहिनी सेनाले जनकपुरधाम माथी कब्जा जमायो। कब्जा पश्चात् महेन्द्र नारायण निधिको प्रधानमन्त्री मन्त्रीत्वमा महोत्तरी जन सरकार गठन भयो। उक्त जन सरकारमा मन्त्रीहरु बोध प्रसाद उपाध्याय , सरोज प्रसाद कोइराला , दिगम्बर झा, र इन्द्र बहादुर मल्ल भए। रुद्र प्रसाद गिरि जन सरकारको गभर्नर , निर्गुन यादब प्रहरी प्रमुख , खाद्य सचिब मथुरा प्रसाद लगायतका अन्य नेताहरूलाई विभिन्न जिम्मेवारी सुम्पिएको थियो। २००८ सालमा महोत्तरीको जिल्ला अध्यक्ष महेन्द्र नारायण निधि भए । उक्त समितिमा संगठन प्रमुखको जिम्मेवारी मथुरा प्रसादले निर्वाह गरेका थिए । २००८–२००९ सालमा महोत्तरीका पश्चिमी क्षेत्रको आर्थिक क्रान्तिका नेतृत्व गर्दै बैठ –बेगारी बन्द गर, खडे बटैया कायम गर भन्ने नाराका साथ आफ्नै खेत खलियानबाट प्रारम्भ गरेर पश्चिमी बेल्टमा नेतृत्व गर्दै नेपाली काँग्रेसको छबिलाई जनस्तरमा पुर्याउन अग्रनी भुमिका निर्वाह गरेका थिए। २००९ साल जेठ १०,११ र १२ गते जनकपुरधाममा भएको नेपाली काँग्रेसको पाँचौ महाधिवेशनमा जिल्ला सभापति महेन्द्र नारायण निधिको अध्यक्षतामा गठित महाधिवेशन तयारी एंव ब्यबस्थापन समितिका सदस्य समेत यिनी थिए। सो महाधिवेशनमा आर्थिक सहयोग पुर्याउन बोध प्रसाद ( दादा ), ठाकुर प्रसाद ढुगांना र यिनले गौसाला फन्डमा आ–आफ्ना जायजेथा बन्धक राखेर कर्जा लिएका थिए।

२०११ सालमा तिरो भरे पछि सो जायजेथा फुकुवा भएको थियो। २०११ सालमा नेपाली काँग्रेसद्वारा गरिएको सत्यग्रहमा रामनारायण मिश्र , रुद्र प्रसाद गिरि, बोध दादा लगायतका साथीहरूका साथ यिनी कारावासमा परेका थिए। २०१४ सालमा नेपाली काँग्रेसले चलाएको असहयोग आन्दोलनमा सहभागी भएका यिनले २०१५ सालमा भएको आम निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारहरुलाई बिजय बनाउन त्यागपुर्ण नेतृत्वदाइ भुमिका निर्वाह गरेका थिए। २०१७ साल पुस १ गते राजा महेन्द्र द्वारा चालिएको कदम विरुद्ध भएको बिरोध कार्यक्रम गर्दा राती यिनलाई गिरफ्तार गरेर केहिदिनको काराबास पछि मुक्त गरिएको थियो। मुक्त भएपछि यिनी भारतमा निर्वासित हुन पुगे । २०१८ सालमा दरभंगा, पटनाको सम्मेलनमा सहभागी जनाएका थिए । पुनः प्रजातन्त्र प्राप्तिका संर्घष मा सकृयता साथ कार्य गरेको थाहा पाएपछि यिनि माथी वारेन्ट जारी गरिएको थियो। नेपालको सिमाना स्थित सितामढी, मजफ्फरपुर, दरभंगा, पटना , कलकत्ता बसेर संगठनको कार्य गर्न थाले । २०१८ कात्तिक २६ गते क्रान्ति दिवसका दिन महेन्द्र नारायण निधि , बलराम नायक उमगाउंबाट जनककपुर पुगेर नारा लगाउदै जानकी मन्दिर पुगेर गिरफ्तारी दिए। मकेश्वर प्रसाद सिह , नागेश्वर झा, रामचन्द्र मिश्र लगायतका नौ जना ब्यक्तिहरु पनि पक्राउ परे। जलेश्वरबाट बोध दादा , बेनि माधव , मथुरा प्रसाद ,सिया ठाकुर लगायतका २९ जना गिरफ्तार गरेर सुरक्षा एन अन्तरगत जलेश्वर कारावासमा राखियो । पक्राउ परेका मध्ये अधिकांसलाई नौ महिना पछि साउनमा मुक्त गरिएको थियो। यिनी पुनः भारत प्रवेश गरे ।

पार्टीको निर्देशानुसार २०१९ सालमा कृष्ण देब सिह, सिया ठाकुर यिनी लगायत साथीहरुका साथ भारतको सुरसन्डमा पार्टीको कार्यलय खोलेर सञ्चालन गरेका थिए । २०२५ सालमा आममाफी हुँदा सुवर्ण शमशेर लगायतका साथिहरुसंगै साढे सात बर्ष भारतमा निर्वासित जीवन ब्यतित गरेर नेपाल फर्केका थिए। २०२८ साल देखि नेपाली काँग्रेस जनकपुर नगर अध्यक्ष भएर २०३९ साल सम्म कार्य गरे। २०३२ सालाको सत्याग्रह, २०३६ बिद्यार्थी सालको आन्दोलन , २०३७ सालको जनमत संग्रहमा अनवरत रुपमा लागेका यिनी २०४० सालमा बिरामी हुन पुगे । बिरामी भइ भारतका दिल्ली उपचार गराउन पुगे। बिरामी अवस्थामा पनि २०४६ को जन आन्दोलनमा सकृय रहेका यिनी २०४७ को संबिधान तहत भएको आम निर्वाचनमा महेन्द्र नारायण निधिलाई जिताउन सक्रियताका साथ लागेका थिए। जिवनका प्रारम्भिक अवस्था देखि लोकतन्त्र प्राप्तिका संर्घषमा लागेका यिनको शरीर विभिन्न यातना ,थुना, जेल, निर्वासित जिवनबाट बिरामी परेर गलिसकेका यिनको शरीरले २०५३ चैत १६ गते चैत कृष्ण पक्षको पञ्चमी तिथिका दिन यो संसारलाई छाडेर ब्रह्मलिन हुन पुगे। उनले हामिलाई छाडेर गएता पनि लोकतान्त्रिक संर्घषमा गरेका योगदानहरु अविस्मरणीय पानामा रहनेछन् । हामीले सम्झिन नसकेता पनि इतिहासले निश्चित नै सम्झिने छ ।

Comment


Related News

Latest News

Trending News