राजविराज । पन्द्र दिन अघि सप्तरीमा गठन भएको जनता समाजवादी पार्टीको समानान्तर जिल्ला कमिटी विहीबार तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) मा प्रवेश गरेको छ ।
समानान्तर कमिटीका अध्यक्ष जीवछ यादवको नेतृत्वमा ६ पदाधिकारी सहित ५१ सदस्यीय सम्पूर्ण कमिटी तमलोपामा प्रवेश गरेको हो । पालैपालो नेतृत्वका क्रममा तत्कालीन राजपाको अध्यक्ष मण्डलका सदस्य तथा पूर्व संयोजक समेत रहेका यादवले समायोजनका क्रममा आफ्नो समूहलाई वेवास्ता गरेको भन्दै जसपाको नयाँ जिल्ला कमिटी विरुद्ध गत फागुन २६ गते समानान्तर कमिटी गठन गरेका थिए । विहीबार तमलोपाद्वारा राजविराजमा आयोजित पार्टी प्रवेश तथा संगठन विस्तार कार्यक्रममा उनको नेतृत्वको कमिटीसँगै अन्य विभिन्न पार्टी परित्याग गरी १ सय ११ जना प्रवेश गरेको तमलोपाका केन्द्रीय सदस्य रामपृत यादवले जानकारी दिए । नवप्रवेशीहरुलाई प्रमुख अतिथि पार्टीका राष्ट्रिय अध्यक्ष बृषेशचन्द्र लाल, वरिष्ठ नेता डा. बिजयकुमार सिंह, केन्द्रीय सदस्य मदनप्रसाद सिंह, असगर अली, ब्रजकुमार सिंह लगायतले अबिर र माला लगाएर स्वागत गरे ।
कार्यक्रममा अध्यक्ष लालले मधेश केन्द्रित दल तथा तीनका नेतृत्वमाथि जनताको एजेण्डालाई थाम्न नसकेको आरोप लगाए । उनले भने, मधेशको भावना अनुसार मधेशवादी नेताहरु अगाडि बढ्न सकेन र मधेशी जनताले दिएको अभिमतलाई सत्ता सहभागिताको सिढीं बनाउन मात्र उपयोग गरे । वरिष्ठ नेता सिंहले मधेश केन्द्रित दलहरुले आफूलाई राष्ट्रिय दल देखाउन पार्टीका नामबाट मधेश शब्द झिकेको भन्दै त्यस्ता दललाई मधेशी जनताले आगामी निर्वाचनमा सवक सिकाउनु पर्नेमा जोड दिए । तमलोपाका जिल्ला अध्यक्ष प्रमोद यादवको सक्रियतामा आयोजित कार्यक्रममा महिला नेतृ लीला ठाकुरले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

