राजविराज । आसन्न स्थानिय तहको निर्वाचनका लागि सप्तरी जिल्लामा ५ सय ३६ वटा मतदान केन्द्र तोकिएको छ ।
मतदाताको सहजताका लागि गत स्थानिय तहको निर्वाचन भन्दा ५८ वटा नयाँ मतदान केन्द्र थपिएको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदानस्थल पनि वृद्धि गरिएको छ । गत निर्वाचनमा २ सय ८५ मतदानस्थल रहेकोमा यस पटक वृद्धि गरी २ सय ९७ पु¥याइएको छ । गत निर्वाचनको तुलनामा मतदाता वृद्धि भएकाले मतदानस्थल र मतदान केन्द्रमा वृद्धि गरिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले बताए । उनका अनुसार अघिल्लो निर्वाचन भन्दा जिल्लामा यस पटक ६६ हजार ३१ मतदाता थपिएका छन् । नयाँ थपिएका मतदातासहित जिल्लामा २ लाख १३ हजार ८ सय ९२ पुरुष, १ लाख ९८ हजार ५ सय ३२ महिला र अन्य २१ गरी मतदाताको कूल संख्या ४ लाख १२ हजार ४ सय ४५ पुगेको छ । प्रत्येक मतदान केन्द्रमा ५ जना कर्मचारी र ३ जना स्वयम्सेवक परिचालन गरिने छ । एक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, दुई सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी सहित करिब दुई हजार ७ सय कर्मचारी खटिने कार्यालय प्रमुख जोशीले जानकारी दिएका छन् । ९ नगरपालिका र ९ गाउंपालिका गरी १८ वटा स्थानीय तह रहेको सप्तरीमा निर्वाचनका लागि आवश्यक सुरक्षा रणनीति पनि तयार पारिएको प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले जानकारी दिए ।
उनले निर्वाचन सुरक्षाका लागि २ हजार ४९ नेपाल प्रहरी तथा २ हजार ९ सय ४८ म्यादी प्रहरी परिचालन हुने बताए । यसका अलावा सशस्त्र प्रहरी र नेपाली सेना पनि सुरक्षा प्रबन्धमा सघाउने छ । जिल्लाका ५ सय ३६ वटा मतदान केन्द्रलाई तीन तहमा विभाजन गर्दै सुरक्षा प्रबन्धको तयारी छ, उनले भने, सामान्य, संवेदनशील र अतिसंवेदनशील विश्लेषण गरिएका मतदान केन्द्रमा आवश्यकता अनुसारको फरक फरक सुरक्षा व्यवस्था मिलाइने छ । यद्यपि अत्ति संवेदनशील ठहर गरिएका मतदान केन्द्रको संख्याबारे अहिले भन्न नमिल्ने उनको कथन थियो । यस पटक एकै चरणमा चुनाव हुने भएकाले सुरक्षा जनशक्ति बढी लाग्ने बताएका उनले भने, भएकै जनशक्ति र उपलब्ध साधन श्रोतको उच्चत्तम प्रयोग गरी मतदाता र मतदान केन्द्रको सुरक्षा व्यवस्थामा कुनै कमी हुन दिन्नौं । सप्तरीमा सबैभन्दा बढी राजविराज नगरपालिकामा ३९ हजार ६ सय ९२ मतदाता छन् । सबैभन्दा कम बलान बिहुल गाउंपालिकामा १४ हजार ४ सय १८ मतदाता छन् ।

