जनकपुरधाम । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य मञ्जु खाँणले जनकपुरधाममा पार्टीभित्र गुटउपगुटको कारण चुनावमा हार भोग्नु परेको टिप्पणी गरेकी छिन् ।
नेकां धनुषामा ‘घर–घर जाऊँ कांग्रेस जिताऊँ’ अभियानको उद्घाटन गर्दै सो टिप्पणी गरेकी हुन् । विहीबार जनकपुरधाममा नेपाली कांग्रेस धनुषाको आयोजनामा सुरु भएको अभियानलाई सबल बनाउन पार्टीभित्र रहेको आन्तरिक कलह अन्त्य गर्नुपर्नेमा जोड दिँदै आगामी चुनावमा मिलेर गए कांग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने तर्क गरिन् । कांग्रेस हार्नुको एउटा मात्र कारण गुटउपगुट रहेको जिकिर गर्दै उनले यसलाई सुधार्न नेता कार्यकर्ताहरुलाई आग्रह गरिन् । उनले आन्तरिक तितोपनलाई बिर्सेर पनि कांग्रेसलाई चुनावमा एकवद्ध भइ लागेर अघि बढ्न कार्यकर्तालाई निर्देशनसमेत दिइन् । धनुषा जिल्लाका सभापति योगी पजियारको सक्रियतामा भएको सो कार्यक्रममा प्रदेश सभा संसद शिवचन्द्र चौधरी,प्रदेशसभा सदस्य सरस्वती चौधरी ,नेकां मधेश प्रदेशका कोषाध्यक्ष प्रदीप यादव लगायतका नेता कार्यकर्ताहरुले आ–आफ्नो धारणा राखेका थिए ।

