२०७८ चैत्र २०, आईतवार ०८:४३

जनकपुरधाम । लामो समयको प्रतीक्षा पश्चात् धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल्वे सेवा शनिबार उद्घाटनपछि यात्रुसहित नियमित चल्न थालेको छ ।

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको राजधानी नयाँ दिल्ली स्थित हैदराबाद हाउसबाट भर्चुअल माध्यमले संयुक्तरूपमा रेल सेवाको उद्घाटन गरेपछि दिउँसो ३ बजेतिर रेल जनकपुरधाम आइपुगेको थियो । दुबै देशका प्रधानमन्त्रीले हरियो झन्डा देखाएर रेल सेवा शुभारम्भ गरेका थिए । प्रधानमन्त्रीद्वयले उद्घाटन गरेपछि दुल्ही झैँ श्रृंगारिएको रेल जयनगरबाट खुलेको थियो । जयनगरबाट कुर्थाका लागि खुलेको रेलमा सवार नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झासहितको टोलीलाई प्रत्येक स्टेशनमा दुबै देशको राष्ट्रिय झन्डा बोकेर उभिएका नेपाली विद्यार्थी तथा स्थानीयवासीहरुले भव्य स्वागत गरेका थिए । रेल जनकपुरधाम स्थित रेल्वे स्टेशन पुगेपछि महाप्रबन्धक झासहितको टोलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई स्वागत गर्दै कुर्थासम्मको यात्रा गराइन् । रेल कुर्थासम्म पुगेर पुनः फर्केपछि जनकपुरधामधाम रेल्वे स्टेशनमा उद्घाटन समारोह कार्यक्रमको आयोजना गरिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा भर्चुअल माध्यमबाट रेल्वे सेवाको उद्घाटन गरेसंगै आइतबारदेखि दैनिक दुई पटक जयनगर–कुर्था रेल चल्ने छ ।

दैनिक बिहान साढे ८ बजे जयनगरबाट कुर्थाका लागि रेल चल्नेछ । सो रेल बिहान १० बजे कुर्था स्टेशन पुग्नेछ । पौने ११ बजे जनकपुरधामधामको कुर्थाबाट जयनगरका लागि चल्ने रेल साढे १२ बजे जयनगर स्टेशनमा पुग्ने छ । जयनगर पुगेको रेल पुनः दिउँसो ३ बजे कुर्था फर्केर आउनेछ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल बेलुका ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको छ । जयनगर–कुर्था रेल्वे खण्डमा चल्ने रेलमा चढ्न आउने यात्रुलाई आफ्नो पहिचान खुल्ने कागजात अनिवार्य गरिएको छ । खुल्ला सीमानाका कारण सुरक्षा चुनौतीलाई दृष्टिगत गरी पहिचान खुल्ने कागजात अनिवार्य गरिएको जनाइएको छ । सुरक्षा र खुल्ला सीमानाकालाई दृष्टिगत गर्दै नेपाली नागरिकले साथमा नागरिकता प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, मतदाता परिचयपत्र वा अन्य पहिचान खुल्ने कागजात बोकेर यात्रा गर्नु पर्ने छ । यस्तै आकस्मिक प्रवेशका लागि महावाणिज्य दूतावासद्वारा जारी गरिएको फोटोसहितको सिफारिसपत्र वा प्रमाणपत्र चाहिने व्यवस्था गरिएको छ । दशदेखि १८ वर्ष उमेरमुनिका बालबालिकाको हकमा विद्यालयको फोटोसहितको परिचयपत्र अनिवार्यरूपमा साथमा राख्नुपर्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ । त्यस्तै नेपाली रेल चढ्न भारतीय नागरिकले भारत सरकारद्वारा जारी वैद्य राष्ट्रिय पासपोर्ट, भारतीय निर्वाचन आयोगद्वारा जारी पहिचानपत्र लिनुपर्ने जनाइएको छ ।

जयनगरदेखि कुर्थासम्म चल्ने रेल सेवाको नयाँ भाडादरसमेत कायम गरिएको छ । जनकपुरधाम–कुर्था–जयनगर सामान्य सिटमा प्रतियात्रु ९० रुपियाँ र एसी सिटमा ४ सय ५० रुपियाँ भाडा निर्धारण गरिएको छ । जयनगर–कुर्थासम्मको दूरी करिब ३५ किलोमिटर छ । गत ०७७ असोज २ गते भारतीय कोर्कंण रेल्वे कम्पनीसँग ८४ करोड ६५ लाख रुपियाँमा खरिद गरेको रेलमा दुई सेट इन्जिनसहित १० वटा बोगी छन् । अगाडि एउटा र पछाडि अर्को इन्जिन जोडिएको छ । दुबै बोगीले करिब एक हजार ५ सय यात्रु बोक्ने क्षमता छ । यसको गति रेलको लिक डिजाइन अनुसार १ सय किलोमिटर प्रतिघण्टा रहे पनि जयनगर–कुर्था रेल स्टेशनको दूरी छोटो हुने भएकाले ७० देखि ८० किलोमिटर प्रतिघण्टासम्मको गति मात्रै चल्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ । यो डेमु (डिजेल इलेक्ट्रिक मल्टिपल युनिट) रेल हो । डेमु रेल दुबैतर्फबाट अर्थात् अगाडि–पछाडि दुवै दिशातर्फ गुड्छ । अन्तिम गन्तव्यमा पुगेपछि टर्निङ नगरी पछाडिको भागबाट अघि बढ्छ । यसको इन्जिन डिजेल र विद्युत् दुबैमार्फत सञ्चालन गर्न सकिन्छ ।

डिजेलले सञ्चालन हुने मेसिनले उत्पादन गरेको विद्युत ्मार्फत चल्ने रेललाई डेमु रेल भनेर चिनिन्छ । यसै बीच जनकपुर–जयनगर–कुर्था रेलको उद्घाटन हुनु अगाबै शनिबार जनकपुर रेल्वे स्टेशन परिसरमा वृक्षरोपण गरिएको छ । रेल उद्घाटन भएको दिनको सम्झनामा स्टेसन परिसरमा आँप, पाखड, पिपल, नीम, भन्सारी, वरगज लगायत प्रजातिको बिरुवा रोपिएको छ ।

Comment


Related News

Latest News

Trending News