जनकपुरधाम । इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमजान आइतबारदेखि सुरु हुने भएको छ ।
गएको वर्षमा नयाँ वर्ष संगै रोजा पर्व सुरु भएको थियो । यो पर्वमा एक महिनाभरि मुस्लिम समुदायले बिहान सूर्योदय हुनु अघि देखि सूर्यास्त नभएसम्म पानी समेत खाँदैनन् । उर्दू क्यालेण्डर अनुसार बिहान ४ः १५ बजेबाट बेलुका ६ः२० बजे सम्म निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसंगै समय तालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने परम्परा रहेको छ । रमजान उर्दू क्यालेण्डर अनुसार हिजरी सम्वत् १४४३ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भन्ने मुस्लिम धर्मावलम्बीहरुको मान्यता रहेको छ । त्यस्तै यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने जनविश्वास छ । दान दिनु गरीब र दीनदुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो ।
रमजान व्रत बस्न शनिबार साँझ मुसलमानहरूले चन्द्रमा हेर्न आकाश तिर दृष्यावलोकन गर्ने र चन्द्रमा हेरेर औधि रमाउने प्रचलन छ । सुनसरी सोनापुरका हाजी मोहम्मद अब्दुलले रमजान महिना हाम्रो लागि निकै महत्वपूर्ण एवं पवित्र हो र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुने गर्दछ । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । कूलतमा लागेका मानिस एक महिना इमान्दारी पूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउन सकिने सुनसरी सोनापुरका हाजी मोहम्मद अब्दुलको भनाइ छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछन् । नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य छैन् । देशभरिका मुस्लिम समुदायले भक्तिको महिनाका रूपमा मनाउने भएकाले यसबाट पाप नाश हुने धार्मिक विश्वास छ । वर्षमा कुनै त्रुटि भएको भए यसै अवसरमा अल्लाहसंग क्षमायाचना गर्ने मुस्लिम समुदायको परम्परा रहेको छ ।

