भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले रेल्वे सेवाको नियमित सञ्चालन मधेश प्रदेशको विकासको लागि कोशेढुँगा साबित हुने बताएकी छिन् ।
विभिन्न बाधा अवरोधका वावजुद निर्धारित समयमै रेल्वेको सुरुवात गर्न सक्नु मधेश प्रदेशवासीकै लागि ठूलो सफलता रहेको उनले बताइन् । जनकपुर उद्योग वाणिज्य संघले सोमबार जनकपुरधाममा आयोजना गरेको सम्मान कार्यक्रममा उनले भनिन,‘नेपाल भारत सीमामा भन्सारको यथाशीघ्र भन्सारको व्यवस्थापन गर्ने तयारी छ र सो पछि छिट्टै मालवाहक रेल सेवा सञ्चालनको योजना छ।’ भारतबाट नेपालसम्म आयात निर्यातको लागि मालवाहक रेल आवश्यक रहेकोले यसको लागि मन्त्रालयले पहल सुरु भइसकेको जानकारी दिँदै उनले मालवाहक रेल सेवा सुरु हुनु अघि भन्सार व्यवस्थापन नै मुख्य चुनौती रहेको बताइन् । उनले रेल सेवा कुर्थादेखि बिजलपुर ासम्मको पनि सम्पूर्ण तयारी भइसकेकोले यसको हस्तान्तरण गर्ने समय आइसकेको बताउंदै उनले बिजलपुरादेखि बर्दिवास सम्म रेल संचालनको लागि समेत काम द्रूत गतिमा हुँदै आएको छ र छिट्टै नै जयनगरदेखि बर्दिवाससम्म रेल्वे सञ्चालन हुने विश्वास व्यक्त गरिन् । रेल्वे सञ्चालन भएपछि नेपाल र भारतबीच व्यापारिक घनिष्ठता बढ्ने र विभिन्न प्रकारको व्यवसायमा वृद्धि भइ हजारौं व्यक्तिले रोजगारी पाउने निश्चित रहेकोले रेल्वेको संरक्षण सम्वद्र्धनमा व्यापारीहरुको उल्लेखनीय भूमिका रहने बताइन् ।
मधेश प्रदेशको विकासका लागि उद्योग व्यवसाय गर्दा भारतबाट ढुवानी गरिने कच्चा पदार्थदेखि लिएर मेसिनहरुमा यातायात खर्च धेरै गर्नुपर्ने वाध्यताको अन्त्य हुँदै जाने भएकोले रेलको संचालनले प्रदेशको व्यवसायले फड्को मार्ने विश्वास उनले व्यक्त गरिन् । देशमा बेरोजगारी समस्या चरम अवस्थामा रहेकोले रेल सेवाको सञ्चालनले सो समस्यालाई थोरै भए पनि न्यूनीकरण गर्ने विश्वास व्यक्त गर्दै उनले जनकपुरधामका व्यवसायीहरुले उठाएको मालवाहक रेलको व्यवस्थापन अति आवश्यक रहेकोले यसका लागि मन्त्रालय गंभीर रहेको जानकारी दिइन् । कार्यक्रममा जउवासंघका अध्यक्ष जितेन्द्र महासेठ लगायतका कार्यक्रममा सहभागी पदाधिकारीहरुले मन्त्री यादवलाई मायाको चिनो प्रदान गर्दै दोसल्ला ओढाइ सम्मान गरेका थिए । रेल्वे सेवा सञ्चालनको लागि अहोरात्र खटेर महत्वपूर्ण योगदान दिएकोले उनलाई सम्मान गरिएको अध्यक्ष महासेठले बताए । यसै बीच उजउवासंघले मालवाहक रेल सञ्चालन गर्नुपर्ने माग गर्दै मन्त्री यादवलाई ज्ञापनपत्र बुझाएका छन् । सो ज्ञापनपत्रमा भनिएको छ ,‘यात्रुबाहक रेलमा भारतबाट आउने माल सामान ओसार पोसारका लागि कम्तीमा १५ थान को मालबाहक बोगीको अविलम्ब व्यवस्था मिलाई आर्थिक जगतलाई आवश्यक टेवा पु¥याइ दिन आग्रह छ।
’ व्यवसायीहरुले बुझाएको ज्ञापन पत्रमा विगतमा (न्यारोगेज रेल्वेको समयमा) पनि भारतका विभिन्न शहरहरुबाट मालसामानहरु जयनगर आउने र त्यहाँबाट मालवाहक बोगीमा ढुवानी भइ जनकपुरधामको रेल्वे स्टेशनसम्म आउने गरेको उल्लेख गरिएको छ । सोही अनुसारको मालवाहक बोगी अहिले सञ्चालनमा रहेको रेलमा व्यवस्थापन गर्न व्यापारीहरुलाई सहज हुने वातावरण निर्माणको लागि माग गरिएको छ ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=hd4sIgvcOh8

