मधेश प्रदेशका १८ लाख भन्दा बढी बालबालिकाहरुलाई टाइफाइड रोग विरुद्धको खोप दिइने भएको छ । यही चैत २५ गतेदेखि २०७९ वैशाख १८ गतेसम्म प्रदेशका आठ वटै जिल्लामा टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन हुन लागेको हो ।
जनकपुरधाममा आयोजित सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा उक्त जानकारी दिइएको हो । १५ महिनादेखि १५ वर्षसम्मका १७ लाख ८७ हजार ७ सय १० जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइने स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक विजयकुमार झाले बताए । उनले खोपबाट बचाउन सकिने रोगहरूलाई शुन्यमा झार्ने नेपाल सरकारको लक्ष्य अनुसार देशव्यापी रुपमा टाइफाइड विरुद्ध खोप अभियान सञ्चालन गर्न लागेको बताए । पूर्ण खोपको सुनिश्चितता गर्न, खोप कभरेज ९५ प्रतिशत पु¥याउने जिल्लामा अभियानकै रूपमा खोप दिन थालिएको छ । ‘टाइफाइड दूषित पानी र खानेकुराबाटै संक्रमण हुने रोग हो । चैत र वैशाखमा धुलो धुवाँ बढ्ने, गर्मीले खानेकुरा पनि सफा नहुने भएकोल रोग फैलिने जोखिम हुन्छ । बेलैमा सचेत रहन तथा टाइफाइडबाट बालबालिकालाई खोप अभियान चलाउने तयारी गरिएको हो’, निर्देशक झाले भने । निर्देशक झाले खोपबाट कोही बालबालिका बञ्चित नहोस् त्यसका लागि सबै वडास्तरसम्मका विद्यालयमा पनि खोप टोली परिचालन गरिने जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार सप्तरीमा १५ महिनादेखि ४ वर्षसम्मका ३६ हजार ३ सय ६७ र ४ वर्षदेखि १५ वर्षसम्मका १ लाख ४३ हजार ७ सय ४२, सिरहामा १५ महिनादेखि ४ वर्षसम्मका ४२ हजार ३ सय ६९ र ४ वर्षदेखि १५ वर्षसम्मका १ लाख ६२ हजार ५ सय ५२, धनुषामा १५ महिनादेखि ४ वर्षसम्मका ४३ हजार ९ सय ९६ र ४ वर्षदेखि १५ वर्षसम्मका १ लाख ७४ हजार १ सय ९७ र महोत्तरीमा १५ महिनादेखि ४ वर्षसम्मका ४८ हजार ३ सय ४९ र ४ वर्षदेखि १५ वर्षसम्मका १ लाख ७४ हजार ८ सय ६ जना बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने छ । त्यस्तै, सर्लाही जिल्लामा १५ महिनादेखि ४ वर्षसम्मका ५५ हजार ३ सय ६९ र ४ वर्षदेखि १५ वर्षसम्मका २ लाख ८ हजार १ सय ७२, रौतहटमा १५ महिनादेखि ४ वर्षसम्मका ५५ हजार ८ सय १२ र ४ वर्षदेखि १५ वर्षसम्मका २ लाख ३ सय ७, बारामा १५ महिनादेखि ४ वर्षसम्मका ५० हजार ९ सय २७ र ४ वर्षदेखि १५ वर्षसम्मका १ लाख ९० हजार ७ सय ८२ एवम् पर्सा जिल्लामा १५ महिनादेखि ४ वर्षसम्मका ४० हजार ७ सय ५१ र ४ वर्षदेखि १५ वर्षसम्मका १ लाख ५९ हजार २ सय १२ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने स्वास्थ्य निर्देशनालयका निर्देशक झाले जानकारी दिए ।
मधेश प्रदेशमा ४ वर्षमूनिका ३ लाख ७३ हजार ९ सय ४० र ४ देखि १५ वर्ष उमेर समूहका १४ लाख १३ हजार ७ सय ७० बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाइने भएको छ । सरकारी तथ्यांक अनुसार पछिल्लो पाँच वर्षमा टाइफाइड रोगका कारण नेपालमा ४ लाख ५० हजार भन्दा बढी बालबालिका बिरामी परेका छन् । कार्यक्रम नेपाल पत्रकार महासंघ धनुषा शाखाका उपाध्यक्ष अवधेश कामतको सक्रियतामा भएको थियो ।

