गृह मन्त्री वालकृष्ण खाँडले नागरिकताको समस्या छिट्टै समाधान हुने बताएका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर १ क्षेत्रीय समिति बाराद्वारा सिम्रौनगढ नगरपालिकामामा आयोजना गरिएको आम सभा तथा वृहत् पार्टी प्रवेश कार्यक्रममा गृहमन्त्री खाँडले सो कुरा बताएका हुन् ।
मन्त्री खाँडले भने,‘मधेशमा नागरिकताको ठूलो समस्या रहेको छ । नेपालमा जन्मिएका हुर्किएकालाई नागरिकताबाट बञ्चित गर्न मिल्दैन ।’ कानूनको अभावका कारण नागरिकता वितरणमा केही समस्या रहेको र त्यो समस्या अब छिट्टै सामधान हुने दाबी उनले गरे । नागरिकता सम्बन्धी कानून निर्माणको प्रस्ताव सदनमा अड्किएर रहेको भन्दै उनले राष्ट्रिय सहमति जुटाएर नागरिकता ऐन बनाउनका लागि प्रधानमन्त्री शेर बहादुर देउवा लागि परेको बताउँदै नागरिकता ऐन बनिसकेपछि पालिका स्तरमै टोली खटाएर नागरिकता वितरण गर्ने सरकारको सोंच रहेको उनले प्रष्ट पारे । फरक प्रसंगमा मन्त्री खाँडले मधेशी जनता नेपालको सच्चा राष्ट्रवादी रहेको बताए । सुरक्षाकर्मीलाई पर्याप्त स्रोत साधन दिन नसकिएको अवस्थामा तथा सीमा क्षेत्रमा पर्याप्त सुरक्षा पोष्ट पनि राख्न नराख्न सक्दा समेतको अवस्थामा मधेशी जनताले नेपालको भूमि र सीमाको पहरेदारी गरेर रक्षा गरिरहेकोमा उनीहरु धन्यवादको पात्र रहेको बताए । ‘भूमिको सुरक्षा मधेशकै दाजुभाइ दिदीबहिनीले गरिरहेको तथ्यलाई कसैले बिर्सिन हुँदैन’,उनले भने। सिम्रौनगढ नगरपालिकका उपप्रमुख रीमादेवी कुशवाहा,तत्कालीन तमलोपाका पूर्व केन्द्रीय सदस्य मोहन महतो कोइरी, पूर्व क्षेत्रीय अध्यक्ष ओमप्रकाश ठाकुर, बारागढी गाउंपालिका–६ मा तत्कालीन संघीय समाजवादी पार्टीबाट निर्वाचत वडाअध्यक्ष नीरज साह सहित करिब २२ सय जना एमाले माओवादी जसपा, लोसपा, लगायतको पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेको थियो ।
नव प्रवेशीहरुलाई गृहमन्त्रीले टिका लगाएर पार्टी प्रवेश गराउंदै स्वागत गरेका थिए । सोमबारै गृह मन्त्री खाँडले ऐतिहासिक पोखरी झरौखरमा स्वर्गीय भागवत प्रसाद यादवको प्रतिमा अनावरणसमेत गरेका छन् । सो कार्यक्रममा गृहमन्त्री खाँडले नेपाली कांग्रेसको सिद्धान्त राष्ट्रवादको जगमा उभिएको बताउंदै सबै भूगोल ,जात धर्मका नेपालीलाई एकताको सुत्रमा बाँधेर नेपाललाई सबल र बलियो बनाउने काम कांग्रेसले गर्दै आएको जानकारी दिए । मधेश प्रदेशलाई नेपालकै अब्बल प्रदेश बनाउनका लागि कांग्रेसले अग्रसरता लिने उनको कथन थियो । गृहमन्त्री खाँडले अमेरिकी अनुदान सहयोग एमसीसी सैन्य गठबन्धन नभएको जिकिर गरे । एमसीसी कार्यान्वयन भएपछि अमेरिकी सेना नेपालमा आउने कुरा हावा मात्रै भएको उनले प्रष्ट्याए । एमसीसी सम्झौताको विरोध गर्नेहरु नेपालीको हितमा कहिल्यै सोंच्न नसक्ने जिकिर गर्दै उनले भने,‘नेपाली कांग्रेस नेतृत्वको सरकारले नेपाली नागरिक विरुद्ध कुनै पनि काम गर्न सक्दैन।’ नेपाली कांग्रेस बारा निर्वाचन क्षेत्र नम्बर १ का सभापति विजयशंकर यादवको सक्रियतामा सम्पन्न भएको सो कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मंसुर, सहमहामन्त्री उमाकान्त चौधरी, अर्का सहमहामन्त्री महेन्द्र यादव, मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादव, उपसभापति चन्द्रशेखर यादव लगायतकाले आफनो विचार व्यतm गरेका थिए ।

