२०७८ चैत्र २२, मंगलवार ११:१३

निर्वाचन आयोगले मंगलबार स्थानीय तहको निर्वाचनमा भाग लिने दलहरूसँग छलफल गर्दै छ ।

बिहान साढे ११ बजे निर्वाचनमा भाग लिने सबै राजनीतिक दलका अध्यक्ष वा नेतालाई छलफलमा बोलाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । राजनीतिक दलसँग निर्वाचन आचारसंहिताको पूर्ण पालनाबारे छलफल हुने उहाँले बताउनुभयो ।

आयोगले निर्वाचनमा भाग लिने ७९ दलसँग निर्वाचनका सम्बन्धमा हालसम्म भएका तयारीबारे जानकारी दिँदै निर्वाचन आचारसंहिताको पालनाका लागि प्रतिबद्धता लिन लागेको हो । विसं २०७४ को निर्वाचनमा पनि आयोगले राजनीतिक दलसँग निर्वाचन आचारसंहिता परिपालना गर्ने गराउने विषयमा प्रतिबद्धता लिएको थियो ।

आयोगले मुलुकका विभिन्न स्थानमा केही दिनअघि गरेको आचारसंहिता पालना र प्रभावकारी कार्यान्वयन विषयक कार्यक्रममा आचारसंहिताको पालनाका सम्बन्धमा कठोर हुन सुझाव दिइएको थियो ।

सुझावका आधारमा प्रतिबद्धतापत्र तयार गरी सवै राजनीतिक दलका शीर्ष नेताहरूबाट हस्ताक्षर गराउने आयोगले तयारी गरेको छ ।

मतदाता नामावलीको विवरण लिँदा शुल्क लाग्ने

आयोगले राजनीतिक दल तथा स्थानीय तहका उम्मेदवारहरूलाई मतदाता नामावली विवरण सशुल्क उपलब्ध गराउने भएको छ ।

सोमबार निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले शुल्क बुझाएर राजनीतिक दलहरूले मतदाता नामावली विवरण आयोगबाट लिन पाउने व्यवस्था गरिएको जानकारी दिनुभयो ।  त्यसका लागि ७ हजार रुपैयाँ सम्मको शुल्क तोकिएको छ ।  आयोगले देशभर‚प्रदेश‚ जिल्ला‚ पालिका र वडा स्तरमा लाग्ने मतदाता नामावलीको शुल्क क्रमशः ७ हजार‚ ५ हजार‚ ३ हजार‚ १ हजार र ५ सय रुपैयाँ निर्धारण गरेको जानकारी दिएको छ ।

केन्द्रबाट राजनीतिक दलको आधिकारिक पत्रको आधारमा ७ हजार तिरेर देशभरिको र ५ हजार तिरेर प्रदेशको उपलब्ध गराउन सकिन्छ भने जिल्लाबाट सम्बन्धित दलको पत्र वा उम्मेदवारको पत्रकार आधारमा जिल्लाभरिको ३ हजार पालिकाको १ हजार र वडाको आवश्यक भएमा ५ रुपैयाँ लिएर सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावलीको विद्युतीय कपी उपलब्ध गराउन सक्ने पौडेलले बताउनुभयो ।

Comment


Related News