किसानहरुलाई व्यवसायिक रुपमा तरकारी खेती गरी आत्म निर्भर बनाउन तथा बजारीकरण गर्नका लागि तरकारी उत्पादक कृषक र व्यापारी बीच व्यवसायिक विकास सम्बन्धी छलफल कार्यक्रमको आयोजना गरिएको छ ।
मंगलबार धनुषाको शहीद नगर नगरपालिकाको हठ्ठीपुरमा छलफल कार्यक्रमको अयोजना गरिएको थियो । किसानले उत्पादन गरेको तरकारीको उचित मुल्य नपाएपछि खेतमै कुहिएर खेर जाने तथा किसानलाई आर्थिक क्षति हुने गरेका कारण मूल्य श्रृंखला मार्फत उचित बजारीकरण कसरी गर्ने भन्ने उद्देश्यले कृषि विकास बैंक खजुरी शाखाको आयोजना सो छलफल कार्यक्रम गरिएको थियो । किसानले उत्पादन गरेको तरकारी उचित मूल्य तथा बिक्री वितरण नहँुदा मार्कामा परेको भन्दै बीटा कार्यक्रम मार्फत सो समस्या समाधान हुने कृषि बिकास बैंक, मधेश प्रदेशका क्षेत्रीय निर्देशक तिलक प्रधानले बताए । उनले भने,‘ किसानले उत्पादन गरेको स्वच्छ र स्वस्थ तरकारी यस कार्यक्रम मार्फत खेतदेखि बजार सम्म पुरयाउने कार्यमा कृषि बिकास बैंकले सहजीकरण गर्ने छ ।’
तरकारी उत्पादन गर्ने किसानहरुको आय स्तरमा वृद्धि गरी व्यवसायीकरण गर्नका लागि उनिहरुको उत्पादन क्षमता वृद्धि गरी बजारको माग र उत्पादनको संतुलन समेत यसै कार्यक्रम मार्फत गर्ने डिजिटल फाइनानसियल अफिसर अम्बिकेश कुमार झाले बताए । बीटा कार्यक्रम संगै किसानहरुलाई बिस्तारै डिजिटलाईज गर्ने र किसान कार्ड मार्फत क्यासलेस बनाउने सरकारको नीति रहेको जनाइएको छ । मधेश प्रदेशमा २० हजार घर परिवारलाई यस कार्यक्रम मार्फत प्रत्यक्ष फाइदा हुने भन्दै धनुषामा कृषि बिकास बैंकको खजुरी, सबैला र मिल्स एरिया गरी तिन वटा शाखा मार्फत ७ वर्षका लागि यो कार्यक्रम सञ्चालन हुने छ ।

