मिथिलाञ्चल क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वसन्ती छठ (चैती छठ) पर्व मंगलबारदेखि विधिवत् रुपमा सुरु भएको छ ।
चैत शुक्ल चतुर्थी (चौथी)देखि सप्तमीसम्म चार दिन विभिन्न विधिकासाथ मनाइने पर्वको पहिलो दिन आज व्रतालुले ‘नहाय–खाय’ स्नान गरेर शुद्ध खाने विधिबाट पर्व प्रारम्भ गर्दैछन् । पर्वको पहिलो दिन स्नान गरेर व्रत संकल्प गर्ने चलन छ । शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ । मधेश प्रदेशको प्राचीन मिथिला क्षेत्रमा छठलाई महापर्व मानिन्छ । यद्यपि शारदीय छठजति यो पर्व मनाउने भने देखिँदैनन् । पर्वको पहिलो दिन ‘नहाय– खाय’, दोस्रो दिन दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’, तेस्रो दिन अर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई जलाशयको घाटमा अघ्र्य दिइन्छ, जसलाई ‘सँझुका अरघ’ भनिन्छ ।
अन्तिम दिन सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई घाटमै अघ्र्य दिएर पर्व सम्पन्न गरिन्छ । यो विधिलाई ‘ भोरका अरघ’ भनिन्छ । छठपर्वमा ठकुवा, भुसुवा (कसार)सहितका मिष्ठान्न परिकारसहित पाकेका केराको घरी र अन्य फलफूल तथा दहीसहितका सामग्री व्रतालुले अर्घका बेला सूर्यतर्फ देखाउने गर्छन् । छठ सूर्य र सूर्यपत्नी षष्टीको उपासनाको पर्व हो । यो व्रतको प्रभावले हरेक मनोकाँक्षा पूरा हुने विश्वास गरिन्छ । मिथिलामा यो पर्व द्वापर युगमा श्रीकृष्ण पुत्र साम्बले कुष्ठरोग निवारणका लागि गरेका र त्यसैबेलादेखि प्रारम्भ भएको मानिन्छ । व्रत प्रभावले छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास रहेको छ । यसपटक दुई वर्षपछि सर्वसाधारणले वासन्ती छठ खुकुलो गरी मन फुकाएर गर्न पाएका छन् । यसअघिका दुई वर्ष कोभिड–१९ को विश्वव्यापी सन्त्रासले मुलुकमा ‘ लकडाउन’ घोषणा गरिएकै बेला परेको हुँदा पर्व विशेषको बाहिरी चहलपहल र उल्लास थिएन । यसपालि भने महाव्याधि सन्त्रास घटेपछि मिथिलामा चाँड लागेजस्तो भएको सर्वसाधारणले प्रतिक्रिया दिएका छन् । चैती छठजस्तै चैत शुक्ल प्रतिपदासँगै वसन्ती नवरात्र (चैते दशैँ) पनि सुरु भएको छ ।
चैत शुक्ल प्रतिपदादेखि नवमीसम्म वासन्ती नवरात्र मनाइन्छ । यस अवसरमा देवीपीठहरूमा पूजाआराधना गर्ने श्रद्धालु बढेका छन् ।

