२०७८ चैत्र २३, बुधबार ०८:०३

‘जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सव– २०७८’ को तेस्रो श्रृङखला बुधबारदेखि सुरु हुने भएको छ ।

मैथिली विकास कोषको आयोजनामा मैथिली भाषा, साहित्य, कला तथा संस्कृतिको जर्गेना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको छ । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जानकी मन्दिर परिसरमा एक समारोहबीच महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कोषका अध्यक्ष जीवनाथ चौधरीका अनुसार े वि.सं.२०७३ सालदेखि जनकपुर साहित्य महोत्सवको शुभारम्भ गरिएको थियो । २०७३ सालदेखि नियमित रुपमा प्रत्येक वर्ष यस महोत्सवको आयोजना गर्ने निधो गरिएकोमा २०७५ सालमा नियमितता पनि दियौं तर कोरोना र बन्दाबन्दीको कारण गत वर्ष भने हामीले गर्न नसकेको उनले जानकारी दिए । महोत्सवमा ३० लाख खर्च हुने अनुमान गरिएको छ । नेपाल र भारतका विभिन्न स्थानका स्रष्टाहरु सहभागी हुने सो महोत्सवको २५ गते समापन मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गर्ने जनाइएको छ । महोत्सव स्थल जनकपुरधामको जानकी मन्दिरको प्राङ्गण र जनकपुरधाम उद्योग वाणिज्य संघको सभाकक्षलाई बनाइएको छ ।

महोत्सवमा १० वटा विभिन्न विषयहरुमा संवाद गर्नुका साथै चित्रकला, पुस्तक प्रदर्शनी, ज्ञानसीपको प्रदर्शनका साथै संगीत क्षेत्रका विशिष्ट व्यक्तिहरुको सहभागिता रहने छ । महोत्सवमा भारतका ३ वटा नाट्य समूह तथा २ वटा नेपालको नाट्य समूहका कलाकारहरुले मैथिली, नेपाली तथा हिन्दी भाषामा नाटक मञ्चन गर्नेछन् । मैथिली भाषाको नाटक जनकपुरधाम, पटना तथा दरभंगाको टोलीले मञ्चन गर्ने छ। त्यसैगरी, नेपाली भाषामा काठमाण्डुको नाट्य टोली तथा हिन्दीमा भारतको मणिपुरका टोलीले नाटक मञ्चन गर्ने जानकारी अध्यक्ष चौधरीले दिए । महोत्सवको मुख्य आकर्षणमा साँस्कृतिक झाँकी सहितको शोभा यात्रा, कथा र कविता गोष्ठी, मिथिला चित्रकला कार्यशाला तथा प्रदर्शनी, बहुभाषिक नाट्य प्रदर्शन, पारम्परिक गीत ,सांस्कृतिक कार्यक्रम, मिथिला भोजन तथा पुस्तक प्रदर्शनी तथा विद्यालय स्तरीय वक्तृत्व कला प्रतियोगिताको आयोजना गर्ने कार्यक्रम रहेको छ ।

उद्घाटन समारोहमा मैथिली विकास कोषले प्रदान गर्दै आएको डा. धीरेन्द्र साहित्य संस्कृति पुरस्कार २०७७ भाषा वैज्ञानिक रामावतार यादव र सलहेश साँस्कृतिक पुरस्कार २०७७ डा. आभाष लाभलाई प्रदान गरिने कार्यक्रम पनि रहेको छ । यसैगरी, डा. धिरेन्द्र साहित्य संस्कृति पुरस्कार २०७८ साहित्यकार महेन्द्र मिश्र र सलहेश साँस्कृतिक पुरस्कार २०७८ गायक रामा मण्डललाई प्रदान गरिने छ ।

Comment


Related News

Latest News

Trending News