अपडेट 
२०७८ चैत्र २४, बिहीबार ०७:३२

रेल भुइँमा चल्ने एउटा अति आरामदायी सेवा हो । नेपालमा यसको इतिहास धेरै पुरानो छैन । भारततिर फर्केर हेर्दा भारतको कुनै यस्ता नगर छैन जहाँ रेल सेवा पुगेको छैन अर्थात भारतमा जाल जस्तो रेल सेवा संचालित छ । तर नेपालको भू–बनोटले रेलमार्ग निर्माण गर्नु निकै खर्चिलो देखिन्छ । नेपाल एउटा भूपरिष्ेष्ठित देश भएको कारणले यसको कुनै समुद्रीमार्गसँग सोझो सम्वन्ध पनि छैन । अहिले गणतन्त्रात्मक सरकारले यतातिर पनि ध्यान फर्काएकोले यसवारे विभिन्न चर्चा परिचर्चा दिनदिनै उठ्न थालेको छ । जनताको मनमा यसबारे विभिन्न प्रश्नहरू उठ्ने ठाउँमा केही आशा जगाएको देखिन्छ । रेलसेवा भन्दा अन्य सेवा निकै महँगो हुने हुनाले सर्वसाधारणका लागि रेलसेवालाई नै उत्तम साधन मानिन्छ । रेलसेवाबाट माल समान पनि अन्य साधनभन्दा सस्तोमा वसार–पसार गर्ने हुनाले यसलाई सर्वसाधारण व्यापारी देखि उच्चस्तरका व्यापारीहरू समेत यसै सेवालाई बढी रूचाउँछन् । अहिले भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म रेलसेवा भर्खर संचालनमा आएको छ । यसबाट भारतको कुनै कुनाबाट हामी सोझै नेपाल पस्न सक्छौं । विदेशी सरसमानहरू समेत विभिन्न बन्दरगाहबाट अब सोझो रूपले सजिलैपूर्वक जनकपुर आउन बेर लाग्दैन । नेपाल प्रवेश गरिसके पछि नेपालको विभिन्न स्थान हामी सजिलै पुर्याउन सक्छांै । मानिसहरू पनि जयनगरदेखि जनकपुरधामसम्म सजिलै आवत जावत गर्न सक्छन् र दैनिक प्रयोग हुने सरसमान खरिदारी गर्न पाउँछन् । रेलवे इतिहासतिर जाँदा यसको इतिहास धेरै लामो देखिँदैन । सबैभन्दा पहिले यस रेलको निर्माण १९९४ सालमा भएको थियो । त्यसबेला तराई काठको जंगलले भरीभराउ थियो । काठ एउटा बहुमुल्य सम्पत्ति भएकोले भारत सरकार नेपालको जंगलबाट काठ ढुवानी गर्ने उद्देश्यले यसको निर्माण गरेको थियो । नेपालको जंगलबाट काठ सकिए पछि पैसेन्जर ट्रेनको रूपमा संचालन गर्न केही स्टेशन निर्माण गरी भारत सरकारले नै नैरोगेजमा चल्ने इन्जिन र बोगी उपहार दिएर जयनगरदेखि विजलपुरा (भूतहा) सम्म मानिसलाई वसार पसार गर्न अनुमति दिएको थियो । यो रेलसेवा २०६७ सालमा आएर बन्द भयो । झण्डै ११ वर्ष पछि पुनः यो ब्रोडगेजको रेलसेवा नेपाल भारत सरकारको सहयोगमा संचालन भएको छ ।

राष्ट्रिय गौरवको आयोजना मध्येको एक जयनगर–जनकपुर–कुर्था रेलसेवाको लामो पर्खाइ पछि शनिवार भव्य समारोहका वीच भारतको दिल्ली स्थित हैदरावाद हाउसबाट प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त रूपमा जयनगर–जनकपुर–कुर्था रेलसेवाको भर्चुयल माध्यमबाट हरियो झण्डा देखाएर उद्घाटन गरेका थिए । यस अवसरमा जयनगरमा दुल्ही झै सिंगारिएको रेल कुर्था तर्फ प्रस्थान गरेको थियो । जयनगरदेखि कुर्थासम्मका सबै स्टेशनहरूलाई भव्य तरिकाले सजाइएको थियो । यस उद्घाटन कार्यक्रम प्रत्यक्ष हेर्न पाउन धेरै भन्दा धेरै मानिसहरू प्रत्येक स्टेशन तथा हल्टहरूमा जम्मा भएका थिए । खासगरी जनकपुरधामको हल्टमा निकै ठूलो भीर थियो । यस अवसरमा रेलवे दलका मानिसहरूलाई फूलको माला तथा अबिर लगाएर स्वागत गरेका थिए । भारत सरकारको आठ अरब सतहत्तर करोड नेपाली रूपैयाँको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको बावन्न किलोमिटर रेलमाार्गमा रेल संचालनका लागि २०७७ असोज २ गते भारतीय रेलवे कम्पनी कोकण कर्पोरेसनसँग चौरासी करोड पैसठी लाख रूपैयामाँ दुई सेट डेमो ट्रेन (डिजेल इलेक्ट्रिक मल्टिपल यूनिट) खरिद गरी ल्याएको थियो । सो रेलको क्षमता एक हजार दुई सय यात्रुदेखि एक हजार तीन सयसम्मको रहेछ । अहिले जयनगरदेखि कुर्थासम्मको दुरी पैतिस किलोमिटरमा संचालन भएको छ । कुर्था देखि विजलपुरासम्म सतरह किलोमटिर रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । विजलपुरासम्म गरी बावन्न किलोमिटरमा छिटै रेल संचालन हुने र विजलपुरादेखि वर्दिवाससम्म को काम शुरू अवस्थामा रहेको छ । यसरी रेलको कथा–व्यथालाई हेर्दा आज मात्र होइन १९९४ सालमा पनि मानिसहरू रेल पाएर निकै खुशी भएका थिए तर त्यो खुशी कति दिनसम्म टिक्न सक्यो विचारणीय कुरो रहेछ । यहाँ प्रश्न उठ्छ के यस रेल सेवाको खुसी पनि अल्पकालीन नै हो त !

नेपालको विगततिर फर्केर हेर्दा अहिलेको खुसी पनि धेरै दिनसम्म जाला कि नजाला निकै शंकाको घेरामा रहेको छ । रेल सेवा शुरू गर्दा यसको लागत खर्च र आउने आम्दानीसँग दाँजेर मात्र संचालन गर्दा दिगो समयसम्म संचालनमा रहन सक्छ होइन भने आम्दानी भन्दा खर्च बढी हुँदा रेलको इन्जन तथा बोगी समेत बेचेर खान बेर लाग्दैन । विगतमा नेपालमा दुईटा रेलसेवा चलाइएको थियो । तीमध्ये जनकपुरको रेलको स्थायी सम्पत्ति त बाँचेकै भएपनि रक्सौल अमलेखगञ्ज खण्डको स्थायी सम्पत्ति समेत बेचेर बर्वाद गरी दिएका छन् । अहिले शुरूको अवस्था हेर्दा वार्षिक आम्दानी भन्दा खर्चकै कारोवार बढी देखिन्छ । भोली घाटा लाग्दै जाँदा कति दिनसम्म नेपाल सरकारले आफ्नो बजेट पूँजीबाट तिर्न सक्ला? त्यसैले अहिले देखि यसको व्यवस्थापन चुस्त र दुरूस्त हुनु पर्दछ । रेल कम्पनीले आफ्नो कमाइबाट यसमा लाग्ने सबै खर्च व्यहोरेर बचत गर्दै जानु पर्छ । यस्ता बचतबाट भविष्यमा विस्तारै रेलसेवा कसरी विस्तार गर्न सकिन्छ त्यस्तो उद्देश्यका साथ अगाडी बढ्नु पर्छ तर अहिलेको अवस्था हेर्दा कसैसँग यस्ता सोच रहेको देखिँदैन । सबैको एउटै सोच रहेछ कि यसको खर्च सरकारले तिर्ने नै छ । जति लुट्न सक्छ त्यति लुट । विगतको रेल यस्तै पाराले त भयो गयो । यो रेल पनि नजाला त्यसको ग्यारेन्टी कम्पनीबाट कही आएको देखिँदैन । यसको दीर्घकालिन योजना अहिले नै आइदिनु पर्दछ, अन्यथा भन्न सकिन्न । विगतमा देखिएका यस्ता कैयौं उदाहरण हाम्रो सामु अहिले पनि जस्ताको तस्तै रहेका छन् । अहिले आयल निगम अरबौंको घाटामा छ । यो एउटा व्यापारी निगम हो । यसमा त घाटा हुने कुरै छैन ।

कसरी घाटामा गयो । जनकपुरमा अवस्थित जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) तथा वीरगञ्जको चिनी कारखाना तत्कालिन सोभियत संघको सहयोगबाट निर्माण हुँदा यहाँका मानिस कम खुशी भएका थिएनन् । तर ती खुशी कहाँ भए ? वीरगन्जको चिनी कारखानाको जग्गामा एउटा विश्वविद्यालयको कुरा उठाएका थिए भने जनकपुरधामको जनकपुर चुरोट कारखाना लिमिटेडको भवन तथा कम्पाउण्डमा मधेश प्रदेशको मन्त्रालय तथा आवास क्षेत्र कायम गरेका हुन् । यस्ता अन्य उदाहरणका रूपमा विराटनगरको जुट कारखाना, भृकुटी कागज उद्योग, हेटौडाको कपडा उद्योग, बुटवलको धागो कारखाना आदि यस्ता सैकडौं उद्योगहरू धराशायी भएका छन् । यस्तै शिक्षातिर जाँदा वीरगन्जको ठाकुरराम क्याम्पस, जनकपुरधामको रा.रा.ब. क्याम्पस, सिरहाको सुसमोया क्याम्प्स, राजविराजको महेन्द्र विन्देश्वरी क्याम्पसहरूको अवस्था पनि दया लाग्दो देखिन्छ । यी सामान्य उदाहरण मात्र हुन् । निम्न शिक्षा तिर हेर्दा सामुदायिक विद्यालयहरूका अवस्था पनि हेर्नुस त । के सबैका छोरा–छोरी वोर्डिङ्ग सकूलमा पढ्न सक्छन् त । यदि छैन भने यस्ता भेद किन ? समय मै न्यायको सरकार र सचेत नागरिक विचार गर्ने कि नगर्ने । हाम्रो अवस्था यति दिन विग्रनुमा हाम्रै हात छन् । विदेशीहरू त हाम्रो सहयोग पो गरिरहेका छन् ः मान्छेमा एक प्रकारको उल्टो धारणा के बनिसकेको छ कि यो त सरकारी सम्पत्ति नै हो त ? सरकारले भरी भराउ गरि नै हाल्छ । यी हाम्रै सम्पत्ति हो भने सोचको विकास माथिदेखि तलसम्म कसैमा पलाएको छैन ।

सरकार यस सम्वन्धमा जबसम्म आफै सचेत हुँदैन तबसम्म तलका निकायहरू कहाँ सचेत हुन्छन् त ! देश बनाउन सबैको सहयोग चाहिन्छ । आफूले कमाएको सम्पत्तिबाट अर्जेका कुरामा बढी माया हुन्छ । दान दातव्यमा पाएको कुरामा माया–ममता हुँदैन । हाम्रो सुल्टो धारणाको विकास सबैभन्दा पहिले हुनु पर्नेहो । विचार गर्नुस् त यदि नेपालका युवाहरू विदेश नगएको भए के हुन्थ्यो होला ? कुनै पनि देशको सबैभन्दा ठूलो सम्पत्ति युवा शक्ति नै हो । यस्ता शक्तिलाई रोक्ने कि नरोक्ने ? निष्कर्षमा के भन्न सकिन्छ भने रेलसेवा शुरू हुँदा आएको खुसी कसरी दिगो हुन सक्छ त्यता तिर सबै सम्वन्धित निकायले सोच्नु पर्ने हुन्छ । यसबारे जनकपुरवासी सबै भन्दा बढी सचेत भएर हेर्नु पर्दछ । अन्यथा आज आएको खुशी भोली कहाँ जाला ठेगान छैन । लेखक त्रिविका सेवानिवृत सह–प्राध्यापक तथा अन्वेषक हुनुहुन्छ ।

Comment


Related News

Latest News

Trending News