अपडेट 
२०७८ चैत्र २४, बिहीबार ०९:०२

सरकारले पेट्रोलियम पदार्थको विक्रीमा परल मूल्य कायम गर्ने तयारी गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्मासहित श्रममन्त्री किसानकुमार श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, मुख्यसचिव शंकरदास बैरागी, अर्थसचिव मधुकुमार मरासिनी, वाणिज्यसचिव गणेश पाण्डे, डेपुटी गभर्नर बमबहादुर मिश्रलगायत सहभागी अर्थमन्त्रालयको बैठकले यस्तो निर्णय गरेको हो । शोधनान्तर तथा चालू खाता घाटा निरन्तर बढ्ने तथा विदेशी मुद्राको सञ्चिति घटिरहेपछि सरकारले अर्थतन्त्र सुधारका लागि अग्रसरता लिएको हो ।

पेट्रोलको हकमा एक महिनाभित्र परल मूल्यलाई बिक्री मूल्य कायम गर्ने व्यवस्था मिलाउने तथा डिजेल तथा खाना पकाउने ग्यासका विषयमा भने अध्ययन गरी मूल्य समायोजन गर्ने निर्णय बैठकले गरेको जानकारी सहभागीमध्ये एक अधिकारीले दिए ।

बैठकले नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रूपमा महँगो भएकाले यताबाट तस्करी भएर उता जाने गरेको निष्कर्ष निकालेको थियो । मंगलबारको मूल्यवृद्धिपछि पनि वीरगन्जको तुलनामा पारिपट्टिको भारतीय बजार रक्सौलमा पेट्रोल २७ रुपैयाँ ७६ पैसा महँगो छ । वीरगन्जमा पेट्रोलको मूल्य एक सय ६० रुपैयाँ तोकिएको छ भने रक्सौलमा एक सय ८७ रुपैयाँ ७६ पैसा पर्छ ।

त्यस्तै, डिजेल नेपालभन्दा भारतमा २० रुपैयाँ ३२ पैसा महँगो छ । रक्सौलमा डिजेल एक सय ६३ रुपैयाँ ३२ पैसा पर्छ भने वीरगन्जमा एक सय ४३ रुपैयाँ तोकिएको छ । नेपालमा तेल सस्तो भएकाले यहाँबाट ठूलो मात्रामा तस्करी भएर भारत जाने गरेको देखिन्छ, त्यसो हुँदा कम्तीमा परल मूल्यमा तेल बेच्ने निर्णय भएको हो । अर्थ मन्त्रालय स्रोतले भन्यो ।

बैठकमा गभर्नर अधिकारीले भारतको तुलनामा नेपालमा पेट्रोलियमको मूल्य १० प्रतिशत बढी हुनुपर्ने बताएका थिए । अहिलेकै परल मूल्यमा तेल बेच्ने हो भने पेट्रोलको भाउ एक सय ८२ रुपैयाँ ९८ पैसा पुग्नेछ भने डिजेल एक सय ७१ रुपैयाँ पुग्नेछ ।

Please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=hd4sIgvcOh8&t=1s

Comment


Related News

Latest News

Trending News