मधेश प्रदेशको राजधानी जनकपुरधाममा ट्रमा तथा हाड जोर्नी सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ ।
जनकपुरधामका वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.संजीत झाको सक्रियता एवम् ‘एओ एलाइन्स’को सहकार्यमा शुक्रबारबाट सुरु भएको तालिम शनिबार साँझ सम्पन्न भएको हो । यहाँ स्थित बाबाको ढाबाको सभाकक्षमा आयोजित तालिममा एमबीबीएस तथा एमडीजीपीका गरी २५ जना चिकित्सकहरुले प्रशिक्षण लिएका छन् । दुई दिन सम्म विभिन्न सेसन तथा सामूहिक छलफलको माध्यमले सो तालिममा काठमाण्डुका वरिष्ठ चिकित्सक प्रो.डा.रमेश प्रसाद सिँह ,त्रिभूवन शिक्षण अस्पतालका पूर्व निर्देशक एवम् विभागीय प्रमुख डा.दिपक महरा,ब्रिगेडियर जेनरल बच्चु राम केसी ,एशोसिएट प्रो.डा.अनील मिश्र ,डा.महेश प्रसाद श्रीवास्तव,डा. सुभाषबाबु साह तथा डा.बृजेन्द्र अधिकारी सहितका प्रशिक्षकहरुले प्रशिक्षण दिएका छन् ।
जनकपुरधाम क्षेत्रमा हुने दुर्घटना लगायतको आकस्मिक रोगको रुपमा रहेको हाडजोर्नी तथा ट्रमाबारे चिकित्सकहरुको सिकाइमा उल्लेखनीय योगदान पु¥याउने उद्देश्यले प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको तालिमका संयोजक समेत रहेका डा.झाले बताए । सहभागी एवम् प्रशिक्षकबीच हाडजोर्नीको समस्याबारे भएको छलफल सहितको सिकाइले यस क्षेत्रमा कार्यरत चिकित्सकहरुको क्षमता अभिवृद्धिमा समेत टेवा पुग्ने डा.झाले विश्वास व्यक्त गरे । चिकित्सकहरुको दक्षता तथा क्षमता अभिवृद्धिका तालिम गोष्ठीहरु अझै पनि काठमाण्डु केन्द्रित रहेको बेला मधेश प्रदेशको राजधानी जनकपुरधाममा यस्तो प्रशिक्षण कार्यक्रमको आयोजना गरिनुलाई महत्वका साथ हेरिएको छ ।

