प्रत्येक वर्ष चैतनवमीका दिन मनाइने रामनवमी पर्व जनकपुरधाममा धुमधामका साथ मनाइएको छ ।
मर्यादा पुरुषोत्तम भगवान रामको जन्म चैत शुक्ल नवमी तिथिकै दिन भएको स्मरण गर्दै विश्वभरिकै हिन्दुधर्मावलम्बीहरुले रामनवमी पर्वलाई विशेष रुपमा मनाउने गरेका छन् । जनकपुरधाम भगवान रामको ससुराली रहेको र विश्वकै हिन्दुधर्मावलम्बीहरुको आस्थाको केन्द्र जानकी मन्दिरमा रामनवमी पर्व विशेष उत्साहको साथ मनाउने गरिएको छ । यस अवसरमा जानकी मन्दिर परिसरमा सरसफाई गरिएको छ भने मन्दिरलाई बेहुली झैं सजाइएको छ । भने राम मन्दिरमा समेत रामनवमी पर्वको अवसरमा तयारी गरिएको राम मन्दिरका महन्थ राम गीरिले जानकारी दिए । राम मन्दिरमा हुने रामनवमी पूजाको सम्पूर्ण कार्यक्रम गुठी संस्थानले गर्दै आइरहेको छ । राम नवमीको अवसरमा जनकपुरमा भारत र नेपालका सयौं साधु सन्तहरु यहाँ आएका छन् भने कीर्तन भजन एवम् विशेष पूजामा सहभागी भएका छन् ।
रामनवमीकै विशेष अवसर पारेर यहाँ भारतको गोवर्धन मठका महन्त निश्चालानन्द सरस्वती शंकराचार्यको प्रवचन कार्यक्रमको आयोजना गरिएको थियो । प्रवचनको क्रममा उनले नेपाल सुरक्षित रहे भारत पनि सुरक्षित रहने बताए । नेपाल भारतको सांस्कृतिक धरातल एउटै रहेको बताउँदै उनले दुई देशबीचको सम्बन्धलाई शब्दमा व्याख्या गर्न सम्भव नरहेको उल्लेख गरे । शंकराचार्यले, नेपाल छिमेकी राष्ट्र चीनको अधिनमा नपुगोस भनी सचेत गराउँदै सबै धर्महरुको पूर्वज हिन्दुनै भएको बताउँदै आधुनिक विज्ञानको खोज र सिद्धान्तहरु हिन्दु धर्मका विभिन्न वेद पुराण र पुस्तकहरुबाट लिएको दाबी गरे । उनले आजका वैज्ञानिकहरुले गर्ने खोज, हिन्दुधर्मका पुस्तकहरुमा लाखौं करोडौ वर्ष पहिला देखि उल्लेख रहेको र त्यही बाट पढेर विभिन्न खोजको नाम आज वैज्ञानिकहरुले दिँदै आएको बताए । सामाजिक अभियन्ता राजकुमार झाको आयोजनामा युरेका आवासीय विद्यालयको सभाकक्षमा सर्वसधाधारणहरुसंग उनले अन्तरक्रिया समेत गरेका थिए । सो अन्तरक्रियामा सहभागीहरुले गरेको प्रश्नका जवाफ उनले दिएका थिए ।
अधिकाँश सहभागीहरुले नेपाल र हिन्दु राष्ट्रबारे प्रश्न गरेका थिए । त्रेता युगमा चैत महिनाको शुक्ल पक्षको नवमी तिथिका दिन भगवान रामको जन्म भएको थियो भन्ने मान्यता रहेको छ । अगस्त्य संहिताका अनुसार चैत शुक्ल पक्षको नवमी तिथिका दिन पुनर्वसु नक्षत्र, कर्क लग्नमा जब सूर्य अन्य ५ ग्रहको शुभ दृष्टिका साथ मेष राशिमा रहेको समय भगवान् श्रीरामको जन्म माता कौशल्याको गर्भबाट भएको थियो । भगवान राम विवाहका लागि विश्वामित्र ऋषिसँगै जनकपुरधाम आएका थिए । जानकीसँगको पहिलो भेट गिरिजा स्थानमा भएको थियो । स्वयम्बर रंगभूमि मैदानमा र विवाह मणि मण्डपमा भएको अवशेषहरु अहिले पनि मिथिलामा रहेको छ ।

