२०७८ चैत्र २८, सोमबार ०७:३४

गौर । राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटमा अहिले सम्मकै सबभन्दा ठूलो अस्पतालको रुपमा निर्मित गजेन्द्र स्मृति अस्पतालको उद्घाटन गरेकी छिन् ।

स्वर्गीय गजेन्द्र नारायण सिंहको ९७ औं जन्म जयन्तीको अवसरमा राष्ट्रपति भण्डारीले जिल्लाको मध्यभागमा पर्ने माधवनारायण नगरपालिका–३ मा निर्माण गरिएको सो अस्पतालको उद्घाटन गरेकी छिन् । उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपालमा लोकतान्त्रिक आन्दोलन,किसान आन्दोलन र सामाजिक न्यायका लागि भएको आन्दोलनहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्व. सिंहको नाउँमा अस्पताल निर्माण गर्नु निकै सराहनीय काम भएको बताइन् । स्व.नेता सिंहले आफ्नो जीवनमा देश र जनताको सेवामा पु¥याएको योगदानको उनले खुलेर प्रशंसा गरिन् । नवनिर्मित अस्पताल तीन सय शैय्याको सो अस्पतालले रौतहटसहित छिमेकी जिल्लाका वासिन्दाहरुलाई उपचार गराउन अब सहज हुने उनले विश्वास व्यक्त गरिन् । राष्ट्रपति भण्डारीले मधेश प्रदेश सरकारले सुरु गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान प्रशंसनीय रहेको बताउँदै यो अभियान प्रभावकारी रुपमा अघि बढेकोमा खुशी व्यक्त गरिन् । त्यस्तै अर्को प्रसंगमा उनले नेपालमा रहेको उर्वर भूमिमा आधुनिकीकरण तथा व्यावसायीकरण गर्न आग्रह समेत गरिन् । त्यस्तै पर्यावरणलाई सन्तुलन गर्न चुरे क्षेत्रको संरक्षणको आवश्यकता रहेकोले त्यसको संरक्षणमा जुट्न समेत उनले आग्रह गरिन् ।

कृषिमा आधारित किसानको लागि मल, सिँचाई ,माछा पालन ,तरकारी खेती,फलफूल व्यवस्थित गर्न,चुरेक्षेत्र संरक्षण गर्न,भूमिगत जलस्रोतको संरक्षण देशको गौरव धार्मिक पर्यटकीय क्षेत्रलाई सुदृढ बनाइ आर्थिक उन्नतिको लागि भूमिका खेल्न प्रदेश सरकार, स्थानीय सरकार र संघीय सरकारलाई पनि राष्ट्रपति भण्डारीले ध्यानाकर्षण गराइन् । तीन सय बेडको अस्पताल निर्माणको लागि पहल गर्ने पूर्व मन्त्री एवं संघीय सांसद अनिल झा र उनकी श्रीमती प्रदेश सांसद डा. डिम्पल झालाई धन्यवादसहित शीघ्र स्वास्थलाभको कामना समेत गरिन् । ब्लड क्यान्सरले जीवनमरणको दोसाँधमा रहेकी सांसद डा. झाले मन्दिर, मस्जिद निर्माण गरेमा छुट्टाछुट्टै समुदायले पूजा गर्ने तर अस्पतालमा बालकदेखि वृद्धसम्म सबै जातिको उपचार हुने धारणा राखिन् । संसारमा जन्म लिएपछि मरण सबैको हुन्छ तर स्मरण कसै कसैको हुन्छ ।

विशुद्ध सेवा भावना लिएर संधै स्मरणको लागि समाजको सेवाको लागि अस्पताल निर्माण गराएको र अस्पतालको उद्घाटन पछि आफ्नो सपना साकार भएको उनले उल्लेख गरिन् । कार्यक्रममा पूर्व उपप्रधानमन्त्री तथा संघीय सांसद राजेन्द्र महतो, संघीय सांसद अनिलकुमार झा,मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्र,आयोजक संस्थाका अध्यक्ष दिगम्बर झा प्रदेश मन्त्री नवलकिशोर साह, भारतीय महाबाणिज्यदूत नितेश कुमार लगायतका वक्ताहरुले स्वर्गीय गजेन्द्र नारायण सिंहको नाउँमा अस्पताल निर्माण हुनु सराहनीय काम भएको बताउँदै अस्पताल बारे गलत टिप्पणी गर्नु दुःखद रहेको बताए । संघीय सांसद अनिलकुमार झाको संसदीय विकास कोष र भारतीय दूतावासको लगानीमा अस्पताल निर्माण भएको हो ।

Comment


Related News

Latest News

Trending News