२०७८ चैत्र २९, मंगलवार ०७:४०

गरुडा । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले मधेशी जनताले समान अधिकार नपाएसम्म आफूहरुको संघर्ष जारी नै रहने बताएका छन् ।

शासक वर्गले पटक–पटक सरकारको नेतृत्व गरे पनि मधेशी, आदिवासी, जनजाति थारु, मुस्लिम लगायत जनजातिको पूर्ण रुपमा हक अधिकार दिन नसकेको बताउँदै नेता महतोले मधेशी जनताले अधिकार नपाउन्जेलसम्म आफूहरुको अधिकार र पहिचानको लडई जारी नै रहने बताए । रौतहटको सदरमुकाम गौरमा सोमबार लोसपा जिल्ला कार्य समितिद्धारा आयोजित वृहत् पार्टी प्रवेश कार्यक्रममा नेता राजेन्द्र महतोले नेपालमा पटक पटक गरी अहिलेसम्म ७ वटा संविधान निर्माण भए पनि मधेशी जनता अधिकार सम्पन्न भने हुन नसकेको उल्लेख गरे । अमेरिकाको उदाहरण दिँदै उनले भने,‘ विश्वको सबैभन्दा सुखी र सम्पन्न देश अमेरिकामा अहिलेसम्म एक पटक मात्र संविधान निर्माण भएको हो । आजभन्दा अढाई सय वर्ष पहिले अमेरिकामा संविधान जारी भएको थियो, एउटै संविधानले अमेरिका विश्वको सबभन्दा शक्तिशाली देश बनिसक्यो ।’ नेपालमा सात सात वटा संविधान बने पनि यहाँका सम्पूर्ण नागरिकहरु अधिकार सम्पन्न हुन नसक्नु दुर्भाग्यपूर्ण रहेको उनको कथन थियो ।

हिमाल, पहाड र तराईका सबै जातजाति एवं समुदायको सम्मान अधिकार नसमेटिएकै कारण विगतमा देशमा निर्माण भएको ६ वटा संविधान विघटन भएको बताउँदै नेता महतोले मधेशी जनताले अधिकार नपाए यो संविधान पनि कहिले विघटन हुन सक्छ त्यसको कुनै ठेगान नरहेको धारणा राखे । एक अर्को प्रसंगमा वरिष्ठ नेता महतोले प्रदेश र स्थानीय सरकारले पाउनु पर्ने अधिकार समेत संघीय सरकारले आफैसँग कब्जा गरेर राखेको भन्दै आक्रोश पोखेका थिए । केन्द्र सरकारले आफूसंग सेना, विदेशी नीति, नोट छाप्ने, रास्ट्रिय गौरवका योजनाहरु सञ्चालन गर्ने अधिकार मात्र राख्नुपर्ने उनले धारणा राखे । सोही कार्यक्रममा बोल्दै पूर्व मन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल कुमार झाले मधेसी र उत्पीडित, पिछडिएका वर्गले अधिकार नपाएसम्म आफूहरुको आन्दोलन जारी नै रहने बताएका छन् । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दुई जना निर्वाचित वडा अध्यक्ष सहित सयौं जना लोसपामा प्रवेश गरेका छन् । गौर नगरपालिका १ का निर्वाचित वडा अध्यक्ष भरत साह कांग्रेस र सोही नगरपालिका ४ का वडा अध्यक्ष भुवनेश्वर शाहीले नेकपा एमाले परित्याग गरी लोसपामा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो र संघीय सांसद अनिल कुमार झाले टिका र माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।

Comment


Related News

Latest News

Trending News