प्रेस काउन्सिलका पूर्व अध्यक्ष एवं वरिष्ठ पत्रकार राजेन्द्र दाहालले आचार संहिता पत्रकारिताका लागि पोषण सरह भएको बताएका छन् ।
म ं ग ल ब ा र राजविराजमा कंचनरुप नगरपालिकाको सहयोग तथा पत्रकार महासंघ शाखा सप्तरीद्वारा आयोजित “पत्रकार आचारसंहिता सम्बन्धी कार्यशाला गोष्ठी”मा प्रशिक्षक समेत रहेका पत्रकार दाहालले सो कुरा बताएका हुन् । उनले पत्रकारिताका लागि आचारसंहिता पोषण तत्व रहेको बताउँदै यसको महत्व कहिले पनि कम नहुने उल्लेख गरे । आचारसंहिता बिनाको पत्रकारिता कहिल्यै सफल हुन सक्दैन, उनले भने, “आचारसंहिताको पालना गरेर गरिने पत्रकारिताले थप उर्जा प्रदान गर्छ ,हौसला प्रदान गर्छ ।” नेपालमा सुरु भएको छापा पत्रकारिताबाटै आचारसंहिताको सुरुवात भएको दाबी गर्दै उनले भने ‘सोही कारणले छापा पत्रकारितालाई कसैले विस्थापित गर्न सकेको छैन ।’
पत्रकार महासंघ सप्तरी शाखाका सभापति श्रवण देवको सक्रियतामा भएको सो कार्यक्रममा कंचनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्र, पत्रकार महासंघका केन्द्रीय सदस्य ललिता साह, पूर्व केन्द्रीय सदस्य अवधेश झा, पत्रकार महासंघ शाखा सप्तरीका पूर्व सभापति मुरली प्रसाद यादव, बैद्यनाथ झा लगायतका वक्ताहरुले पनि आ—आफ्नो धारणा राखेका थिए । सो क्रममा वक्ताहरुले आचारसंहिता पालनाबारे समय समयमा तालिम गोष्ठी हुनु पर्ने भए पनि सो अनुसारको काम नहुँदा यसबारे पत्रकारहरुमा जानकारीको अभाव रहेको गुनासो पोखे । आचारसंहिता स्वअनुशासनको रुपमा पालना गर्नैपर्ने भए पनि कतिपय पत्रकारहरु ज्ञान र सीपको अभावमा आचारसंहिता पालना गर्न नसकेकोले पत्रकारितामा यसको नराम्रो प्रभाव समेत पर्न थालेको वक्ताहरुको गुनासो थियो ।

