अपडेट 
२०७८ चैत्र ३०, बुधबार ०७:४७

आउनु र जानु स्वाभाविक प्रक्रिया हो । समयलाई पनि यही भन्न सकिन्छ । समय पनि आउँछ र जान्छ तर समय आएको र गएको कुनै निश्चित आधार भने मानिसले निर्माण गरेको हो । प्रकृतिले निर्धारण गरेका केही तत्वहरु अवश्य छन् तर मानिसले गणनाको थिति बसालेको हो । मानिसले गणना गरेर वर्षमा मापन गर्न थालेको हो । वैज्ञानिक दृष्टिकोणले मापन गरिन थालिएको चाहिँ सम्वत नै हो । नेपालमा विक्रम सम्वत चल्दछ । विक्रम सम्वतको आज २०७८औँ वर्ष पूरा हुँदैछ र भोलिदेखि नयाँ वर्ष २०७९ सुरु हुँदैछ । आज सबैतिर चालू वर्षको बिदाइ गरिँदैछ र आउने वर्षको स्वागतको तयारी गरिँदैछ । यसै गरी गत वर्ष पनि भएको थियो र यो क्रम निरन्तर चलिरहेको छ । चलिरहने छ । नयाँलाई स्वागत र पुरानोलाई बिदाइले दुवैतिर मानिसले रमाइलो मनाइरहेको वा मानिरहेको हुनुपर्छ । यद्यपि नयाँलाई स्वागत गर्दा बढी रमाउने प्रचलनको विकास भइसकेको छ । वर्ष २०७८ सुरु हुँदै गर्दा गत वर्ष कोरोना महामारीको निकै डर थियो । कोरोना महामारीको भयावहताबिच सुरु भएको वर्ष २०७८ अहिले देश आर्थिक समस्यातिर गएको हो कि भन्ने आशंका गरिँदैछ । यसबिचमा देशले धेरै कठिन समयहरु भोगेको छ । यस वर्षमा देशले धेरै उतार चढावलाई आफूमा समाहित गरेको छ । अझ राजनीतिको क्षेत्रमा त देशले धेरै चर्चित कान्डहरु भोग्नु परेको छ । यस वर्ष राजनीति, न्यायालय बढी चर्चा रहे । पटकपटक संसद् विघटन र चुनावको कुरो आइरह्यो । चुनावको चर्चाले पूरा वर्षलाई तताइरह्यो । देशमा धेरै सरकारहरु परिवर्तन भए । संघीय सरकारको नेतृत्व परिवर्तन भयो ।

देशका सात प्रदेशमध्ये छ प्रदेशका सरकारहरु बदलिए । कतिपय स्थानीय सरकारका प्रमुखहरुले निर्वाचित भएको पार्टी बदलेर अर्को पार्टीमा प्रवेश गरे । कतिपय दलहरु विभाजित बने । राजनीतिक दलको लागि धेरै महत्वपूर्ण मानिएको महाधिवेशन सम्पन्न भयो । नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली काँग्रेस, राप्रपाजस्ता पार्टीको केन्द्रीय महाधिवेशनले देशको राजनीतिमा केही हदसम्म प्रभाव पारिरह्यो । राजनीतिको क्षेत्रमा आरोप र दोषारोपणको वर्षको रुपमा पनि यस वर्षलाई लिन सकिन्छ । एकल पार्टीको बहुमतको सरकार थियो । गत वर्षको बजेट एकल पार्टीको बहुमतको सरकारले पेश गरेको थियो तर बजेटलाई कार्यान्वयन भने मुख्य रुपमा पाँच दलीय गठबन्धन सरकारले गरेको छ । पाँच दलीय गठबन्धन सरकार बन्नुको अर्थ विगतले यस कुरोलाई बताएको छ कि पहिले सरकारमा रहेको दल विभाजित भई त्यसको एक टुक्रो सरकारमा गएको छ । पहिले नेकपा एमालेको सरकार रहेकोमा अहिले नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र, जनमोर्चाको सरकार रहेको छ । एकदलीय सरकारबाट पाँच दलीय सरकारमा जाँदा एक पक्षले न्यायालयको फैसलाप्रति केही नकारात्मक टिप्पणी पनि गरेको थियो भने अर्को पक्षले स्वागत गरेको थियो । पछि देशका प्रधान न्यायाधीशप्रति नै अविश्वासको प्रस्ताव संसदमा दर्तासम्म भएको अवस्था देखिन्छ । धेरै दिनसम्म वकिलहरुले अदालतलाई बहिस्कार गर्नेजस्ता घटनाहरु यसै वर्षमा भएका छन् । बार र बेन्च आमनेसामने आएको हो कि भन्ने पनि भएको थियो ।

अदालतप्रतिको विश्वास सर्वसाधारणमा भने निरन्तर कायम रह्यो । शिक्षामा यो वर्ष निकै क्षति भएको छ । वैशाखदेखि नै विद्यालय बन्द रह्यो । गत वर्ष एसइई परीक्षा संचालन हुन पाएन । कोरोनाको डरले धेरै नराम्रो वातावरण बनेको थियो । यद्यपि वैशाखको प्रारम्भ हुँदै गर्दा धेरै प्रभाव परेको थिएन । कोरोना महामारीले पखेटा फिँजाउँदै थियो तर वैशाखको अन्त्यतिर भने डर लाग्दो रुप धारण गरिसकेको थियो । मानिस घरबाट निस्कन डराइरहेका थिए । यो क्रम चलिरहयो । गर्मीभरि मानिसलाई डर रहिरह्यो । साउनदेखि विस्तारै जनजीवन सामान्य बन्दै गयो । भदौको मध्यदेखि विद्यालयहरु खुल्ने क्रम सुरु भयो । असोजको पहिलो हप्तासम्म करिब सबैतिरका विद्यालय खुलेका थिए तर डर भने कायमै थियो । विस्तारै वातावरण शान्त बन्दै जाँदा कोरोनाको तेस्रो लहर पुसको अन्तिमतिर फेरि आयो तर यति बेलासम्म धेरैले खोप लगाइसकेका थिए । यसपटकको महामारीमा कोरोनाविरुद्धको खोपले धेरै सकारात्मक असर पारेको छ । कोरोनाविरुद्धको खोप लगाएर जनधनको क्षति हुनबाट जोगियो र कोरोनाको महामारीले डर लाग्दो रुप लिन पाएन । यसले गर्दा करिब एक महिनापछि नै दैनिकी धेरै हदसम्म सामान्य भई विद्यालय संचालन हुन थाल्यो । विद्यालय संचालन हुन थाले पनि वास्तवमा यस वर्ष धेरै नै क्षति भएको हो विद्यालयको क्षेत्रमा । दुई सय बिस दिन विद्यालय खुल्नु पर्ने हो तर मुस्किलले एक सय दिन वा यसभन्दा केही बढी दिन विद्यालय खुलेको हुनुपर्छ । दुई सय पाँच दिन पढाइ हुनुपर्ने हो एक वर्षमा तर मुस्किलले एक सय पाँच दिन पढाइ भएको हुनुपर्छ । स्वास्थ्य त निरन्तर चर्चामा रहेको क्षेत्र नै हो । स्वास्थ्यको क्षेत्र भन्नुको अर्थ हो कि बढी मात्रामा कोरोनाको महामारी । हुन त झन्डै सम्पूर्ण विश्व नै कोरोनाको चपेटमा आयो । नेपालमा पनि धेरै मानिसको मृत्यु कोरोनाको कारणले भयो । कुनै उमेरलाई कोरोनाले छोडेन ।

कोरोनाको बिरामीले गर्दा अस्पताल भरिभराउ भएको अवस्था पनि यसै वर्षमा देखिएको हो । एक हिसाबले कोरोनाबाट जोगिन राज्यले आफ्नो सबै निकायलाई परिचालन गरेको थियो । नितान्त घरमा नै बस्नुपर्ने देखि लिएर स्वास्थ्य क्षेत्रका सबै कर्मचारीलाई दिन रात खटाएको थियो । तिन तहकै सरकार एउटै महामारीको नियन्त्रणमा सम्पूर्ण शक्ति परिचालन गरेको अवस्था थियो । वास्तवमा स्वास्थ्यको क्षेत्रलाई विचार गर्ने हो भने देशले एउटा ठूलो विपत्ति नै सहनु परेको छ । कोरोनाको महामारीको असर कुन क्षेत्रमा परेको छैन ? देशको पर्यटन र अर्थतन्त्र निकै प्रभावित भइरहयो । देशमा भएको राजनीतिक उथलपुथलको कारणले पनि अर्थतन्त्र केही प्रभावित भएको हुनुपर्छ । कोरोनाको तेस्रो लहरसम्म आइपुग्दा देशको पर्यटन व्यवसायमा निकै धेरै नकारात्मक असर परिसकेको छ । पर्यटन व्यवसायमा नकारात्मक असर पर्नुको अर्थ देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्नु पनि हो । वैदेशिक प्रभावले पनि अर्थतन्त्रमा नकारात्मक असर पर्नुका साथै मूल्यवृद्धि भएको अर्थविद्हरुले बताइरहेका छन् । यस वर्ष पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर बृद्धि भइरह्यो । नयाँ रेकर्ड कायम गरिरह्यो मूल्यमा । अन्तर्राष्ट्रिय बजारमा पनि धेरै भाउ वृद्धि भएको अवस्था छ । रुस र युक्रेन युद्ध यस वर्षको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय घटना हो । यो युद्ध अहिले पनि जारी छ । युद्धमा भएको क्षतिको दृश्य टेलिभिजनमा हेर्दा हृदय छियाछिया हुन्छ । युद्ध कति क्रुर हुन्छ भन्ने मानव समुदायले अहिले युक्रेनको अवस्था हेर्दा बुझिरहेका छन् । यस युद्धको असर हरेक व्यक्तिले भोग्नु परिरहेको छ । रुस र युक्रेनको असर संसारका हरेक नागरिकले भोग्नु परिरहेको छ । अरु केही नभए पनि महँगीको रुपमा युक्रेन युद्धको मूल्य संसारका हरेक नागरिकले चुकाउनु परेको छ । नेपालको लागि यस युद्धले अझ बढी मूल्य चुकाउनु परिरहेको विश्लेषण गरिएको छ । आम नेपाली नागरिकको लागि यो वर्ष त्यत्ति सुखद रहन सकेको देखिँदैन । साथमा देशको आर्थिक तथा राजनैतिक क्षेत्रमा भएको उथलपुथलले देशको आर्थिक अवस्थामा पनि नकारात्मक असर परेको देखिएको छ । यो वर्षले बिदाइ लिइरहँदा देशमा निर्वाचनको माहौल निर्माण भइसकेको छ ।

आउँदो महिनाको अन्तिम दिनतिर निर्वाचन हुँदैछ । देशका सबै पालिकामा एकसाथ निर्वाचन हुन गइरहेको छ । यसले गर्दा देश अब निर्वाचनतिर गइसकेको छ । निर्वाचनसित सम्बन्धित सबै पक्ष अब विस्तारै निर्वाचन केन्द्रित बन्दैछ । निर्वाचनको माहौलले पालिका सरकारप्रति जनसामान्यको सिधा सरोकार कति धेरै रहेको छ भन्ने पनि बताउँछ र जब निर्वाचनको वातावरण बनिरहेको छ तब दल बदलको खेल निकै सुरु भएको छ । टिकटका आकाँक्षीहरु ऋाफ्नो पार्टी परित्याग गरेर जहाँ सुरक्षित लागिरहेको छ, त्यहाँ पुग्न आतुर छन् । यसकारण धेरै भन्दा धेरै मानिस वा राजनीतिक कार्यकर्ताले दल बदलिरहेको देख्न सकिन्छ । देशमा यस वर्ष नै सबैभन्दा ठूलो आमसभा भएको अनुमान गरिएको छ । नेकपा एमालेको केन्द्रीय महाधिवेशनमा सबैभन्दा धेरै मानिस चितवनमा भेला भएको बताइएको छ र त्यसपछि जब निर्वाचनको माहौल बन्दै छ तब साना ठूला आमसभाहरुमा धेरै वृद्धि भएको छ । भन्नुको तात्पर्य यस वर्ष राजनीतिक, आर्थिक र स्वास्थ्यको क्षेत्रले निरन्तर चर्चा पाइरहेको छ । चालू वर्ष आउँदै गर्दा कोरोना महामारीको डर सुरु भइसकेको थियो भने अहिले जाँदै गर्दा निर्वाचनको सँघारमा देश आइपुगेको छ । यस बिचमा बागमती नदीमा धेरै पानी बगिसकेको छ । देशको राजनीति, अर्थतन्त्र, स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा धेरै परिवर्तन यस वर्षले नेपाली नागरिकलाई दिएको स्पष्ट छ । यस वर्षले देशमा गरिबी बढाएको अनुमान गरिएको छ । मुद्रास्फिति बढेको छ, महँगीमा बृद्धि भएको छ । समग्रमा यो वर्षले खासै उपलब्धि दिएको छैन । जति खुसी दिएको छ, त्यसभन्दा धेरै बढी चिन्ता दिएको छ । यद्यपि यही वर्ष नेपाली नागरिक दक्षिण एसियाका सबैभन्दा बढी खुसी नागरिकको रुपमा रहेको एउटा तथ्य सार्वजनिक भएको छ ।

Comment


Related News

Latest News

Trending News