सर्लाहीको बसबरिया र धनकौल गाउंपालिकाले टाइफाइड रोग विरुद्धको खोप अभियान बैशाख ४ गतेदेखि ९ गतेसम्म संचालन गर्ने भएको छ।
ती दुबै पालिका अन्तर्गतका स्वास्थ्य शाखाले बुधबार सदरमुकाम मलंगवामा आयोजित टाइफाइड रोग विरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोपको सुरुवात सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको छ । सरकारले १५ महिना देखि १५ वर्ष सम्मका बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाउने निर्णय गरेको छ ।
सोही निर्णय अनुसार बसबरिया गापामा रहेका १२ वटा खोप केन्द्र मार्फत ९ हजार ९१ जनालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य संयोजक विजय कुमार यादवले जानकारी गराए । विद्यालय नजाने २ हजार ४ सय ६६ र विद्यालय जाने ६ हजार ६ सय २५ जना बालबालिकाहरु रहेको यादवले जानकारी दिए । त्यसैगरी धनकौल गाउंपालिकाले पनि ८ हजार ५ सय ४ जना बालबालिकाहरुलाई १८ वटा खोप केन्द्र मार्फत खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य शाखा संयोजक अरुण कुमार महतोले जानकारी दिए । जसमध्ये ६ हजार ४० जना विद्यालय जाने र २ हजार ४ सय ६४ जना विद्यालय बाहिरका रहेका छन् ।

