जनकपुरधाम । मिथिला क्षेत्रमा सतुवाइन (सातु खाने) पर्व मनाइएको छ भने शुक्रवार जुडशितल पर्व मनाइदैछ ।
मधेश प्रदेशको महोत्तरी, धनुषा, सर्लाही, बारा, पर्सा, रौतहट, सिरहा र सप्तरी तथा भारतको बिहार राज्यको दरभङ्गा, मधुबनी, सीतामढी, मुजफ्फरपुरलगायत मिथिला क्षेत्रका प्रत्येक घरघरमा सतुवाइन पर्व मनाइएको छ । मिथिलामा सतुवाइन पर्व मनाउँदै नयाँ वर्षलाई स्वागत गर्ने परपम्परा रहेकोले यस दिन यस क्षेत्रका प्रत्येक घरमा सतुवाइन पर्व मनाइने गरेको पंडित गंगाधर झा बताउँछन् । चना, मकै, जौ, भटमासलगायत वस्तुलाई भुटेर त्यसलाई पिँधेर पिठो तयार गरिन्छ । सोही पिठोको सातु खाएर यस दिन मिथिलामा सतुवाइन पर्व मनाइने चलन रहेको छ ।
सातुले शितलता प्रदान गर्ने, वर्षभरि व्यक्ति स्वस्थ्य, सरल र संस्कारी रहने तथा सबैसँग सुमधुर सम्बन्ध कायम गर्ने गराउने मान्यताका साथ नयाँ वर्षको पहिलो दिन मिथिलामा सातु खाएर सबैले सतुवाइन पर्व मनाउने चलन रहेको छ । यस दिन यस क्षेत्रका प्रत्येक घरका प्रत्येक सदस्यले कुनै कुरा खानुअघि सबैभन्दा पहिले सातु खाने गर्दछन् भने सातुलाई चिनी, सख्खर वा आफ्नो स्वादअनुसार नुनसँग पनि खाने चलन छ । सतुवाइन पर्वका दिन घरमुलीले सबैको हात हातमा सातु दिँदै शितल र स्वस्थ्य रहनु भनेर आशिर्वादसमेत दिने गर्दछन् । परिवारका सबै सदस्यले यस दिनमा पहिलो खाने कुरा सातु खाने परम्परा छ ।
ठूलाबडाले सानालाई प्रदान गर्ने सातु खान र आशिर्वाद थाप्न यस दिनमा घरका आफन्तका साथै नातेदार, टोल छिमेक, ईष्टमित्र सबैका बालबालिकादेखि परिवारका सबै सदस्य प्रतीक्षारत रहन्छन् । घरमूलीले बिहानै उठेर कुलदेवताको पूजाअर्चना गर्दै सबैभन्दा पहिले कुल देवतालाई सातु चढाउने गर्दछन् । पूजा गरेर ल्याइएको प्रसादमा मिलाएर सबैलाई सातु खुवाउने परम्परा छ ।

