अपडेट 
२०७९ बैशाख २, शुक्रबार ०८:४३

नव वर्षको आरम्भसँगै सिरहा, लहान र सलहेसको चर्चा उत्कर्षमा पुग्ने गर्दछ । मिथिलामा ग्राम देवतालाई माटोको घोडा चढाउने लोक परम्परा छ । ग्राम देवतालाई खुशी पार्न माटोको घोडा र घोड सवार उपहार स्वरूप चढाउने गरिन्छ । ग्राम देवताको कुनै नाउँ र स्वरूप हुँदैन, उनलाई डिहबार बाबा, काली माइ, बरहम बाबाको नामले सम्बोधन गरिन्छ । गाउँ बाहिर बर वा पीपलको रुख मुनि यिनको निवास हुने गर्दछ । माटोले लिपिएको, माटोको पिण्ड(थुप्रो)लाई देव प्रतीक मानेर यिनको पूजा गरिन्छ । चाड, पर्व तथा संस्कारको वेला यहाँ विशेष रूपले ‘झाप’ र माटोको घोडा चढाई सुख–समृद्धिको कामना गरिने पाइएको छ ।

मिथिलामा ग्राम देवताको जिम्मा गाउँको समृद्धि र रक्षा गर्ने आस्था निहित छ । देवतालाई ग्राम देवता सलहेशको रुपमा पूजा गरिन्छ, उनलाई लोक नायक राजा सलहेस भन्ने गरिएको छ । मुख्यतः सलहेस दुसाध जातिका देवता हुन । उनको मन्दिरलाई ‘गहबर’ भनिन्छ । ऐतिहासिक पृष्ठभूमि अनुसार छैटौं र सातौँ शताब्दीदेखि यो भूमि गढको रुपमा रहेको थियो । त्यसबेला त्यहाँका सेनापति भैरब भूपाल सोमदेव र मन्दोदरीको कोखबाट वीर बालक जयवद्र्धन (सलहेस) को जन्म भएको थियो । उनी सानै उमेरदेखि सौर्यवान, प्रखर अनि बुद्धिमान् थिए । त्यो बेलामा उत्तरको किराँत प्रदेश तिब्बत र भुटानबाट अन्नबाली र पशु लुटेर लानका लागि पकडियागढ, गोविन्दपुरगढ तरेगना, र महिसोथामा बारम्बार आक्रमण हुने गर्दथ्यो । भोट र किराँतको आक्रमण रोक्न सलहेसका बुबा सोमदेव तरेगनागढ (हालको लहान बजारभन्दा चार किमी उत्तरतर्फ) का राजा हिन्दूपति शम्शेर भण्डारीलाई सघाउन गए । भुटानी भोट र किरातसँग भएको युद्धमा सोमदेवले सहादत प्राप्त गरेपछि जेठो छोराको हैसियतले सहलेस तरेगना गोविन्दपुरगढीका सेनापति नियुक्त भए । सहलेस गणपति भए पनि कोशीदेखि पश्चिम गण्डकीसम्म उत्तर हिमालयको पद्म प्रदेश र दक्षिण गङ्गासागरसम्म आफ्नो सैन्य सङ्गठनलाई सुसङ्गठित पार्दै गइरहेका थिए । पकडियागढकी राजकुमारी चन्द्रावतीको नौलखा हार चोरी प्रकरणमा सहलेस समातिए पछि चोहरमललाई दोषी करार गरी रिहा भएका थिए । सहलेससँग बालक कालमै तरेगना गोविन्दपुरकी सात बहिनी मालिनीसँग प्रेम बसेको थियो । योसँगै पकडियागढकी राजकुमारी चन्द्रवतीसँग पनि बालककालमै प्रेम सम्बन्ध रहँदै आएको थियो । चन्द्रवतीसँग प्रगाढ प्रेम भए पनि सलहेसलाई त्यहाँका राजाले स्वीकार गरेका थिएनन् ।

सिराहा जिल्लाको पूर्वमा कर्णाटक कालीन अवशेष छ । अत्यधिक सम्मान पाएका राजा सलहेस देवताभन्दा पनि लोकनायकको संज्ञा पाएका थिए । आफ्नो वीरता, पुरुषार्थ र व्यक्तिद्वारा पूजित उनीसँग सम्मिलित यस जिल्लामा धेरै ऐतिहासिक स्थलहरू रहेका छन् । सलहेस कुनै काल्पनिक पात्र नभएर आफ्नो समयको लोकनायक थिए । सलहेस गाथामा वर्णन गरिए अनुसार राजा सलहेसले एकैदिनमा माणिक दहमा नुहाउने, फूलबारीबाट फूल टिप्ने, सिलहट अखाडामा कुस्ती खेल्ने तथा कुलदेवीको पूजा गरी कञ्चनगढमा पुगेर जनताहरुको कष्ट सुन्ने गर्दथे । सलहेसको गाथासँग जोडिएका ऐतिहासिक ठाउँहरू सिराहा जिल्लाको जनजीवनसँग गहिरो सम्बन्ध राख्दछ । पुरातात्विक महत्व बोकेका अवशेषको उत्खनन् गरी राज्यले यसको विकास गर्न सके आन्तरिक र बाह्य पर्यटनमा टेवा पुग्ने आधार यत्रतत्र छ । सहलेस फूलबारी करिब नौ बिघामा फैलिएको छ ।सो फुलबारी दुसाध र दनुवार जातिका इष्ट देवता सहलेसको फूलबारीको रूपमा प्रसिद्ध छ । फूलको बोटमा फूल फूल्नु कुनै अनौठो विषय होइन तर एकै रुखमा प्रत्येक वर्ष एक दिन मात्र माला आकारको फूल फूल्ने गरेको देख्दा अनौठो लाग्नु स्वाभाविक हो । फूलबारीको मध्यभागमा रहेको हाराम नाउँको रुखको हाँगामा प्रत्येक वर्ष नयाँ वर्षको पहिलो दिन एका बिहानै माला आकारको सेतो फूल फूल्ने र साँझपख फूल ओइलाएर जाने गरेको छ । सातौँ–आठौँ शताब्दीदेखि फूल्दै आएको विश्वास गरिएको त्यो फूल हेर्न विदेशी समेत आउने गरेका छन् । हारामको रुख नजिकै सहलेस तथा मालिनीको मन्दिर (गहबर) छ । त्यहाँ गरेको भाकल पूर्ण हुने जनविश्वास पाइन्छ । युवायुवतीले उक्त फूललाई साक्षी राखी प्रणयसूत्रमा बाँधिने चलन पनि रहेको छ । गहबरमा सहलेस र मालिनीको भव्य मूर्ति छ । पूजारीका अनुसार मन्दिर पछाडी इनार र बालीगंगा नदी बग्ने गरेको र इनार पजि कहिलेकाँही देखिने गरेको छ ।

सात बहिनी रेशमा, कुशमा, हिरिया, जिरिया, पनमा, फुलवा र दौना लगायतका सुन्दरीहरुले सहयोग गर्दा सहलेस र चन्द्रवतीबीच प्रेम भएको भन्ने कथन पाइन्छ र सातै वहिनी सलहेससँग प्रेम गर्दै आएका थिए । तर, सलहेसको विवाह बलाठका राजाकी छोरी सत्यावतीसँग भएको थियो । सलहेस तीन राजाका छोरीहरु ९ जनासँग प्रेम बन्धनमा थिए । मेलाको दिन थुप्रै युवा जोडी आएर ती फूललाई साक्षी मानी प्रेमविवाह गर्छन् । मिथिलामा अहिले पनि गाउँ गाउँमा गीत,नाच र महराइमा सलहेस गाथा गाउने परम्परा जीवित रहेको छ । खरको छानो भएको गहबर अचेल पक्की भएको छ । गहबरको बदलिदो स्वरूपले ग्रामीण समृद्धिलाई दर्शाउँछ । लहान बजारदेखि ४ किलोमिटर पश्चिममा ऐतिहासिक धार्मिकस्थलको रूपमा सहलेसको फूलवारी छ । सिरहा जिल्लाभित्र राजा सलहेसको गाथासँग जोडिएको धार्मिक स्थलको खोजी गरी सरकारले संरक्षण गर्न सके राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपाललाई चिनाउन सकिन्थ्यो । पुरातात्विक महत्व बोकेको अवशेषको उत्खनन् गरी राज्यले यसको विकास गर्नु पर्ने आवश्यक भएको छ । गौरवका रुपमा रहेको यस्तो अनौठो फूलको सरकारी स्तरबाट प्रचार–प्रसार मात्र होईन वनस्पति वैज्ञानिकको सहयोगमा यो क्षेत्रमा यो फूलको बिस्तार हुनु जरुरी छ । यस्तो कार्यमा स्थानीय सरकारको ठोस नीति र दुरगामी सोच र पहलको आवश्यकता छ । प्रेम अमर हुन्छ । प्रेम युग–युगान्तर सम्म रहिरहन्छ र त्यसलाई न समाजले रोक्न सक्छ न त कुनै पहाडले छेक्न सक्छ । त्यो एक दिन अमर बनेर सबैको मनमुटुमा बस्छ । यस्तै प्रेमसँग यतिबेला सिरहाको ऐतिहासिक सलहेस फूलबारीमा फुल्ने फूलप्रतिको आकर्षण , आस्था विचारणीय र खोजको विषय बन्नु जरुरी छ ।

प्रस्तुति : भारती चौधरी

Comment


Related News

Latest News

Trending News