२०७९ बैशाख २, शुक्रबार १५:२२

सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने भएको छ ।

मन्त्रिपरिषद्को बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर करिब १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

उहाँले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराउनुभएको हो ।

त्यसैगरी, मन्त्रिपरिषद् बैठकले संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय युएसएआइडीबाट प्राप्त हुने अमेरिकी डलर ६ सय ५९ मिलियन करिब ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान सहायता रकम पनि स्वीकार गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

त्यसैगरी, मन्त्रिपरिषद्ले फुटकोर्ट कर्णाली अर्धजलशाययुक्त जलविद्युत आयोजनाको लागि कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाको करिब २ सय ८० रोपनी जग्गा प्राप्ति गर्न स्वीकृत दिने निर्णय गरेको छ ।

सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी महानिरिक्षक पदमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई बढुवा नियुक्ति गर्ने, मायादेवी गाउँपालिकालाई आधारभुत अस्पताल, गाउँपालिकाको प्रशासकिय भवनलगायत कार्यका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृत दिने र कर्जन्हा नगरपालिका सिरहालाई प्रशासकिय भवन निर्माण गरी प्रयोग गर्नका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृत दिने निर्णय भएको पनि प्रवक्ता कार्कीले बताउनुभयो ।

त्यस्तै, राष्ट्रिय आवास कम्पनि लिमिटेडको अध्यक्ष रामआधार कापारको राजीनामा स्वीकृत गर्ने पनि मन्त्रिपरिषद् बैठकको निर्णय रहेको छ ।

Comment


Related News

Latest News

Trending News