रौतहटमा एक जना प्रतिनिधिसभा सदस्यका प्रत्याशी आसन्न स्थानीय तहको निर्वाचनमा मेयरमा भिड्ने भएका छन् ।
रौतहट उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं नेकपा एमालेका नेता कन्थमनी प्रसाद जयसवालले गरुडा नगरपालिकाको मेयरमा उम्मेदवारी दिने भन्दै प्रचार प्रसार तथा भेटघाट लाई तीव्रता दिएका छन् । जयसवाल केही दिन अघि मात्र लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए । गत २०७४ सालमा भएको निर्वाचनमा नेता जयसवाल तत्कालीन राजपाबाट रौतहट क्षेत्र नं ४ को प्रतिनिधिसभा सदस्य पदमा चुनाव लड्ेका थिए । संघीय सांसद पदको लागि चुनावी मैदानमा उत्रेका जयसवाल नेपाली कांग्रेसका सांसद देव प्रसाद तिमल्सिनासंग पराजित भएका थिए । निर्वाचित जनप्रतिनिधिहरु विकासको नाममा भ्रष्टाचारमा लिप्त रहेको अवस्थामा आफु जनतालाई सधै सेवा गर्दै आएकोले यसपटकको चुनावमा गरुडाको मेयरमा आफु निर्वाचित हुने कुरामा विश्वस्त रहेको उनले दाबी गरे ।

