बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१७ मटिहानीको दलित वस्तीमा रहेको विद्यालयमा बिद्यार्थीहरु बेन्च डेक्सको अभावको कारण भुँईमै बसेर पढ्न बाध्य बनेका छन् ।
जाडो होस वा गर्मी तथा बर्षाको मौसमको समयमा नेपाल दलित प्राथमिक विद्यालयका बिद्यार्थीहरु खरले छाएको सानो घरमा शिक्षक र विद्यार्थी भुँईमै बसेर पढ्न पढाउने बाध्यता रहेको छ । वन क्षेत्रभित्र पर्ने उक्त विद्यालयमा वन पक्षले जग्गामा स्थायी भवन बनाउन दिएको छैन् । उक्त विद्यालयमा एक सय जना भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् । चारैतिर जङ्गलले घेरिएको उक्त दलित बस्तीको विद्यालयमा कक्षा ४ सम्म पढाई हुने गर्दछ । विभिन्न निकायहरुले विद्यालयको अनुगमन गरेर गए पनि विद्यालयको अवस्था जस्ताको त्यस्तै रहेको विद्यालयका प्रधानाध्यापक बालपोषण शिक्षिका लक्ष्मी चौधरीले गुनासो पोखिन् । उपमहानगरपालिकाले भौतिक संरचना निर्माणका लागि हालसालैमा केही रकम छुट्याए पनि वन कार्यालयले स्थायी किसिमको भौतिक संरचना निर्मण नगर्न भनी रोकेको छ । उपमहानगरपालिकालिकाले चालु आर्थिक बर्षमा नगर स्तरीय बजेटबाट १० लाख भौतिक संरचना निर्माणको लागि छुट्याए पनि वनको अवरोधको कारण स्थायी किसिमको संरचना निर्माण गर्न नसकिएको उपमहानगरपालिकाको युवा ,शिक्षा तथा खेलकुद महाशाखाको प्रमुख उपसचिव शिवजी साह बताउँछन् । तत्कालका लागि अस्थायी किसिमको टहरा निर्माणको लागि २ लाख ५५ हजार लागतको अनुमान गरिएको उनले जानकारी दिए । उक्त विद्यालयको कक्षा स्तरोन्नति रोक्का गरिएको छ ।
शिक्षा महाशाखा प्रमुख साहले अन्य विद्यालयमा उक्त विद्यालयलाई गाभिने गर्दा त्यहाँ अध्ययनरत विद्यार्थी साना रहेकाले अरु विद्यालयमा हो की भनी आशंकाले गाभिने प्रक्रिया अगाडि नबढाएको बताए । उपमहानगरपालिकाले हालमा उक्त विद्यालयमा शिक्षककोलागि विज्ञापन गर्ने तयारीमा छ । यस वस्तीमा विकास गर्नुभन्दा ,नेताहरु भोट बैँकको रुपमा लिएर राजनीतिमात्रै गर्ने गरेका छन् ।

