मलंगवा । नेकपा एमालेका राष्ट्रिय अध्यक्ष केपी शर्मा ओलीले मधेश प्रदेशको राष्ट्रिय गौरवको आयोजनाहरु नेकपा एमालेकै सरकारमा निर्णय भएको चर्चा गरेका छन् ।
एमाले सर्लाहीले शनिबार आयोजना गरेको पार्टी प्रवेश एवम् वृहत् आमसभामा उनले भने,‘मधेश प्रदेशभरिमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरु नेकपा एमालेकै सरकारमा नै निर्णय भएको थियो । ’ ‘चाहे त्यो हुलाकी राजमार्ग होस वा जयनगर– जनकपुर रेल सेवा पुनः सञ्चालन गर्न नेकपा एमालेको महत्वपूर्ण भूमिका छ ।’उनले भने । सोही कार्यक्रममा पूर्व मन्त्री प्रभु साहले नेकपा एमाले मधेशीको सदैव हितमा काम गरेको बताए । अध्यक्ष ओलीको सुरक्षार्थ पाँच सय जना स्वयंसेवकको दस्ता तयार पारिएको थियो । आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओलीसँगै एमाले उपाध्यक्ष रामबहादुर थापा बादल लगायतका नेताहरु कार्यक्रममा सहभागी भएका थिए । एमाले सर्लाहीले आयोजना गरेको पार्टी प्रवेश एवं वृहद् आमसभामा कबिलासी न.पा.का मेयर कौशल यादव जनता समाजवादी पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
उनलाई नेकपा एमालेका राष्ट्रिय अध्यक्ष केपी शर्मा ओलीले फूलमाला अविर लगाएर पार्टीमा स्वागत गरेका थिए । विभिन्न पार्टी परित्याग गरी जिल्ला भरिबाट दर्जनौ कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका थिए । यस अवसरमा नेकपा एमालेले पार्टीका जिल्ला अध्यक्ष राजनारायण साहले नेकपा एमालेका राष्ट्रिय अध्यक्ष केपी शर्मा ओलीलाई १ सय ५ किलोको फूलको माला लगाएर स्वागत तथा अभिनन्दन गरेका थिए ।

