पाँच दलीय गठवन्धनले महानगर र उप– महानगरमा उम्मेदवारहरुको टुङ्गो सोमबार लगाउने भएको छ ।
महानगर र उप–महानगरमा सवै दलले आ–आफ्नो दाबी पेश गरेपछि उम्मेदवारको टुङ्गो लगाउन गठवन्धनलाई सकस भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको बैठकवाट नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी,(जसपा) नेपाल, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) जनमोर्चा नेपालले महानगर र उप–महानगरमा आ–आफ्नो दाबी पेश गरेको छ । तर, एउटै महानगर र उप–महानगरमा दुई तीनवटा पार्टीले दाबी गरेपछि उम्मेदवार मिलाउन जटिलता थपिएको छ । नेपाली कांग्रेसले काठमाण्डु, ललितपुर, विराटनगर महानगरपालिकाको प्रमुखमा दाबी गरेको बैठकमा सहभागी एक नेताले बताए ।
यस्तै माओवादी केन्द्रले भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकामा दाबी गरेको छ । त्यस्तै ११ उपमहानगरपालिकामध्ये कांग्रेसले बुटवल, तुलसीपुर, घोराही, धनगढी, हेटौँडा लगायतमा दाबी गरेको छ । यस्तै माओवादी केन्द्रले घोराही, जितपुर सिमरा, हेटौडा र धरान उपमहानगरपालिकामा दाबी गरेको छ । एकीकृत समाजवादीले तुलसीपुर, हेटौँडा र इटहरी उपमहानगरपालिका मात्रै दाबी गरेको छ । जसपाले जनकपुरधाम,कलैया र नेपालगञ्ज उपमहानगरपालिकामा दाबी गरेको छ । ‘आइतबारको बैठकमा गठबन्धनमा सहभागी दलहरुले आ–आफ्नो दाबी राखेका थिए । कुनै निर्णय भएको छैन,’ बैठकमा सहभागी एक नेताले भने, ‘सोमबार बस्ने चुनावी तयारी समितिको बैठकले सहमति गरेर निर्णय गर्ने छ ।’

