कलैया । बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाले भूमिहीन सुकुम्वासीहरुलाई लालपुर्जा वितरणबारे कुनै चासो नलिएको भन्दै विरोध प्रदर्शन गरिएको छ ।
चुरे तथा वन जंगल संरक्षण अभियानको अगुवाइमा सोमबार नगरपालिकाको विरुद्ध सिम्रौनगढमा विरोध प्रदर्शन गरिएको हो । सिम्रौनगढ स्थित रनवास मठबाट निस्केको जुलुश प्रदर्शन गाउँको परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो । सभामा अभियानका राष्ट्रिय अध्यक्ष सुनिल कुमार यादवले जिल्लाको अन्य नपाहरुले प्रत्येक वर्ष प्रक्रिया अनुसार भूमिहीन किसानहरुलाई लालपूर्जा वितरण गर्दै आए पनि सिम्रौनगढ नपाले विगत पाँच वर्ष यतादेखि भूमिहीन सुकुम्वासीको समस्या बारे कुनै चासो नै नलिएको आरोप लगाए । अभियानको अगुवाइमा नपाका मेयर विजयशंकर प्रसाद यादवलाई ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई नहुँदा बाध्य भइ आन्दोलन गर्नु परेको गुनासो समेत अध्यक्ष यादवले पोखे । जिल्लाको कोल्हवी,जीतपुरसिमरा लगायतको पालिकाहरुमा लालपूर्जा वितरणको काम सुरु भइसके पनि सिम्रौनगढका मेयर यादव लगायतका पदाधिकारीहरुले भने यसबारे केही सुन्नै नचाहेको आरोप समेत अध्यक्ष यादवले लगाए ।
त्यसै गरी प्रदर्शनको क्रममा अभियानीहरुले सर्वोच्च अदालतको आदेश समेतका अपहेलना गरी चुरे क्षेत्रका नदी नालाहरुमा भइरहेको दोहन रोक्नु पर्ने माग समेत अघि सारेका छन् । स्थानीय पालिका प्रतिनिधिहरुकै संरक्षणमा चुरे क्षेत्रका नदीहरुबाट बालुवा,ढुंगा गिट्टीको दोहन दिनानुदिन जारी रहेको छ । बारा जिल्लामा मात्रै २५ हजार देखि ३० हजार भूमिहीन सुकुम्वासीहरु रहेको बताउंदै अभियानीहरुले माग बारे पालिका गंभीर नभए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् । यस अघि अभियानीहरुले चरणबद्ध रुपमा मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय समेत घेराउ गरेका थिए । चुरे तथा वन जङ्गल संरक्षण गर्नु पर्ने माग गर्दै उनीहरुले चरणबद्ध आन्दोलन गर्दै आएका हुन् । चुरे संरक्षण र सुकुम्बासी समस्यासँग समबन्धित मधेश प्रदेश सरकारले अभियानीहरूसँग गरेको सातबुँदे सम्झौता कार्यान्वयन नगरेको भन्दै उनीहरू आन्दोलनमा उत्रेका हुन् ।
छ महिनाअघि अभियानका नेता तथा कार्यकर्ता जनकपुरमा विभिन्न मागसहित आमरण अनशन बस्दा मधेश सरकारले सातबुँदे सम्झौता गरेको तर कार्यान्वयन भने नगरेको अभियानीहरूको आरोप छ ।

