अपडेट 
२०७९ बैशाख ६, मंगलवार ०७:५६

करिब तीन दशक अगाडि देखि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनबाट विद्यार्थी राजनीतिमा सक्रिय भइ यात्रा प्रारम्भ गरेरर २०५१ सालमा रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरधामको स्वतन्त्र विद्यार्थी युनियनको सदस्य तथा २०६२÷०६५मा सोही क्याम्पसका सभापति र अनेरास्ववियु कैन्द्रीय सदस्य भएर सेवा गरिसकेका उनी अंग्रेजी विषयमा एम.ए.गरी तत्कालीन वामपन्थी बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य समेत रहेर त्रिभुवन विश्वविद्यालयका त्रिवि सभासद भएर काम समेत गरिसकेका उमेश चौधरीलाई नेकपा एमालेबाट जनकपुरधामको मेयर पदमा उम्मेदवारको लागि प्रस्ताव गरिएको छ । विद्यार्थी राजनीतिमा जुझारु मात्र नभइ चौधरी विद्यार्थी हुँदा अब्बल विद्यार्थीको रुपमा समेत उनले अन्तर्राष्ट्रिय जगतमा उच्च नाम कमाइसकेका छन् । उनले वि.सं.२०५७ सालमा वक्तृत्व कलामा नेपालमा प्रथम स्थान प्राप्त गरी दक्षिण एशियामै नेपालको प्रतिनिधित्व गर्दै दोस्रो स्थान हासिल गरिसकेका छन् ।

अहिले केन्द्रीय कमिटीमा उनको उम्मेदवारीबारे चर्चा उत्कर्षमा छ । यिनै विषयहरुमा केन्द्रित रही टुडेकर्मी ध्रुबकुमार झाले उहाँसंग गरेको कुराकानीको केही अंश यहाँ प्रस्तुत गरिएको छ ।

नेकपा एमालेको केन्द्रीय कमिटीमा जनकपुरधामको मेयरका लागि तपाई लगायतको चर्चा व्यापक रुपमा चलेको छ नि ! तपाईलाई के लाग्छ पार्टीले दिन्छ त टिकट ?

–मैले त उम्मेदवारी पाउने प्रवल सम्भावना देख्छु । किनभने एमाले पार्टीमा इमान्दारिका साथ कामगर्ने कार्यकर्ताको पार्टीले उचित मूल्यांकन गर्ने परिपाटी रहेका कारण मेरो मूल्यांकन पार्टी नेतृत्वले गर्नेमा म विश्वस्त छु । आजसम्म कामकै मूल्याँकन गरिने पार्टीको इतिहास रहेको छ ,मैंले विद्यार्थी राजनीतिमा देखेको छु मलाई पार्टीले टिकट दिएको थियो र म राराब क्याम्पस जनकपुरधामको सभापति समेत भएर सेवा गरिसकेको छु । मेरो योगदान मेरो पसिना र परिश्रमको लगानी पनि धेरै छ र शीर्ष नेतृत्वले मेरो कार्य मूल्याँकन गर्नेछ भन्नेमा म पूर्णतः विश्वस्त छु।

–अहिले चर्चामा रहेका अन्य सम्भावित उम्मेदवार र तपाईमा के भिन्नता छ ?

मेरो संघर्ष उनीहरु भन्दा धेरै बढी छ ,मेरो लगानी छ ,हो उनीहरु जस्तो मसंग पैसा छैन र सबभन्दा ठूलो कुरो पैसाको बलमा राजनीतिमा प्रवेश गर्नु र पार्टीको सिद्धान्तमा रहेर सांगठनिक इमान्दारिता र पदमा हुँदा नैतिकता जोगाएर राजनीति गर्नुमा ठूलो भिन्नता छ । मैले कहिल्यै पनि पैसा खर्च गरेर राजनीति गर्न सकिन्छ भन्ने पक्षमा छैन । मेरो इमान्दारिता,लगानीलाई पार्टीले मूल्याँकन गर्नेछ भन्ने मेरो विश्वास छ । पार्टी नेतृत्वले पनि मेरो संघर्ष हेर्दै आएको छ ।

म २०५१ सालमा यहाँ रा रा ब क्याम्पसको युनियनमा प्रतिस्पर्धी थिएँ । त्यस बेला सजिलो थिएन त्यो, पनि सदस्यमा , हुन त मलाई त्यहि बेला मेजर फाइवमा राख्ने कुरो थियो तर जनमोर्चा गरी दुई समूह कम्युनिष्टहरुको थियो र सहकार्यको क्रममा म सदस्यमै आएँ र आफूले युनियनको एक रुपियाँको चिया समेत नखाइकन विद्यार्थीहरुको सेवा गरें । २०६२देखि ०६५सालमा सभापति भए र आज कुनै कसैले मेरो नैतिकतामाथि प्रश्न उठाउन सक्दैन म जेन्यून राजनीतिमा विश्वास गर्छु ।

२०५१ सालमा टिकट पाउन आजको जस्तो सजिलो थिएन नयाँ मान्छे खोजेर दिने परिपाटी त छँदै थिएन । त्यो बेला उसको पारिवारिक पृष्ठभूमि के छ ?राजनीतिक चेतना कस्तो छ ?नैतिकवान चरित्रवान छ कि छैन ?सबै पक्षको मूल्याँकन हुन्थ्यो ।

–तपाईले भन्नु भयो कि पार्टीका लागि काम गर्ने भन्दा पनि नयाँ व्यक्तिहरुलाई टिकट दिने प्रवृति बढेको छ यसको कारण के होला ?

पार्टीले नयाँ व्यक्तिलाई टिकट दिइनै हाल्छ भन्ने विश्वास अहिलेसम्म छैन । तर केही दिन यतादेखि पार्टीमा देखिएको गुटबन्दीको दबाबको कारण हुन सक्छ कसैलाई दिनै परे अर्को अवस्था पनि आउन सक्छ तर मेरो विश्वास के छ भने सांगठनिक रुपमा प्र्रतिष्ठित पार्टीले कार्यकर्ताको मूल्याँकन गर्नेमा म ढुक्क छु। तर अहिलेको राजनीतिमा कुनै पनि दल नातावाद , कृपावादको राजनीतिबाट अछुतो छैन ।

–निर्वाचनको कुरा गर्ने हो भने विकृति भइसकेको अवस्था छ ,यस्तो अवस्थामा तपाईले आफ्नो जितको आधार के देख्नुहुन्छ । ?

यो राजनीति दुनिया पूँजीवादी हुँदै गएपछि यहाँ पनि हावी भयो । वास्तवमा निर्वाचन आयोगले एउटा सीमा तोकेको छ । यति लाख भन्दा बढी खर्च गर्न पाउँदैन मेयरले । निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको पूर्णतःपालना गर्नुपर्छ । यदि त्यो भन्दा बढी कुनै उम्मेदवारले खर्च गर्न चाहन्छ भने सबभन्दा पहिले नैतिक प्रश्न उ माथि उठ्नु पर्ने हो । उ अनैतिक हो भने प्रमाणित त्यसै भइहाल्छ । त्यस्तो अनैतिक व्यक्तिलाई मतदाताले निरुत्साहित पार्नु पर्दछ ।

तर के छ भने जनता अब आजित भइसकेका छन् उनीहरु त प्रतीक्षामा छन् कि राम्रो मान्छेलाई जिताउने भनेर । निर्वाचन आचारसंहितालाई नैतिकतापूर्वक उम्मेदवारहरुले पालना गरिदिए मात्रै विकृति घटेर जानेमा म विश्वस्त छु। त्यति मात्र होइन म यसै अन्तर्वार्ता मार्फत के प्रतिवद्धता व्यक्त गर्न चाहन्छुँ कि मैले टिकट पाए आयोगले निर्धारण गरेको आचार संहिताको पूर्ण पालना गर्नेछुँ ।

–तपाई लाखौं खर्चको कुरो गर्नुहुन्छ यहाँ त करोडौं खर्च गर्ने उम्मेदवारहरुको पनि चर्चा व्यापक छ नि !

हो करोडौ खर्च , यो कहाँ गर्ने केटा(युवा)हरुलाई रक्सी, मासु खुवाउन पेट्रोल भराइ देला ,नशाको ट्याब्लेटहरु किनिदेला ,त्यो भनेको युवाहरुलाई दिग्भ्रमित गर्नु हो ,युवाहरुको भ्रष्टीकरण हो । पहिलो कुरा त्यस्ता करोडौं खर्च गर्ने उम्मेदवारहरुले युवाहरुको भविष्य लुटेको छ , युवाहरुमा भएको अपार सम्भावनालाई लुटेको छ, युवाहरुको चरित्र र इमान्दारितालाई लुटेको छ ।

अर्को तर्फ जसले दश करोड खर्च गर्छ उसले तीस करोड असुल्छ यो स्वाभाविक पनि हो । उनीहरुले समाजसेवाबाट प्रेरित भएर खर्च गरेको होइन । यदि त्यस्तो हो भने चुनाव अगाडिको वर्षहरुमा त केही पनि गरेको छैन । आफ्नो घरको अगाडिको फोहर सफा गर्न नसक्नेले चुनावमा आएर दश करोड खर्च गर्छ भन्ने कुराले नै नैतिकतामाथि यक्ष प्रश्न हो ।

जनताले सबभन्दा सक्षम , उत्तम उम्मेदवार खोज्न सक्नु प¥यो ,मेरो दाबी स्ववियुको सभापति भएको बेला होस कि सदस्य रहेको बेला स्ववियुको पैसाले एक कप चिया समेत खाएको छैन । राजनीतिक सेवा हो न कि व्यापार ।

–एमालेले तपाईलाई नै उम्मेदवारी किन दिने ?

शिक्षाको हिसाबले ,राजनीतिक योगदानको हिसाबले,उसको चरित्र कस्तो छ ? लगायतका हरेक पक्षहरुको विश्लेषण गरेर नागरिकले बेष्ट उम्मेदवारका चयन गर्न सक्नु पर्छ । म त झन स्ववियु सभापति तथा त्रिवि सभासद भएर काम गरेको छु सांगठनिक अनुभव छ, मेरो इमान्दारितामाथि कसैले औंला समेत ठड्याउन सक्दैन र म जहिले पनि राजनीतिलाई सेवाको रुपमा लिँदै आएको छु । पाएको जिम्मेवारीलाई सक्षमतापूर्वक निर्वाह गरेको इतिहास छ र जनताले अब इमान्दार जनप्रतिनिधिको प्रतीक्षामा छ ,त्यसैले मेरो उम्मेदवारीको दाबी छ ।मेरो पारिवारिक पृष्ठभूमि नै बामपन्थी राजनीतिसँग भएको , अझ भन्ने हो भने म दाइसँगै बालअवस्थादेखि नै कम्युनिष्ट आन्दोलनमा सहभागी भएको र मेरो चेतना विकास भए संगै पार्टीको लागि काम गर्दे आएको छु त्यसैले मेरो मूल्याँकन हुने नै छ भन्ने मेरो विश्वास छ ।

– महिला युवा तथा समाजका अन्य पिछडिएका समुदाय वर्गका लागि के भिजन राख्नु भएकोछ? जनकपुरधामलाई कुन हिसाबले अगाडि बढाउने योजना बनाउनु भएको छ ।?

वास्तवमा पिछडिएका जति मान्छे छ कुनै पनि देश समाजमा असमानता हुनु उचित होइन । असमानता विकासको बाधक पनि हो । त्यसैले उनीहरुको उत्थान अत्यन्त आवश्यक छ नभए समग्र सभ्य समाजको परिकल्पना समेत गर्न सकिंदैन । उनीहरुको पनि धेरै क्षमता छ योग्यताहरुलाई नगरले सकभर प्रयोग गर्न सक्नु पर्छ । उनीहरुको आँट र सम्मानलाई बढाउन सक्नु पर्छ । उनीहरुको सीप र क्षमतलाई पहिचान गरी नगरपालिकाले उनीहरुको प्रवद्र्धन गर्न सक्नु पर्छ । र म यस विषयमा अत्यन्त संवेदनशील छु । द लाष्ट पर्सन अफ द सोसायटी भन्छन् उसको समेतको क्षमता र सीपको पहिचान गरी समाजलाई अगाडि बढाउन सक्नु पर्छ ।

–कुनै बेला जनकपुरधामम शिक्षाको क्षेत्रमा देशभरिकै विद्यार्थीहरुको लागि आस्थाको केन्द्र झैं थियो र यो प्राचीन मिथिलाको भूमिलाई ज्ञानभूमि भनेर समेत चिनिन्छ । अहिले आएर शिक्षा क्षेत्र धराशायी भएर गएको छ नि ? शिक्षाको क्षेत्रमा उपमहानगरपालिका मेयरको भूमिका के हुन सक्छ ?

जनकपुरधामको इतिहासबारे भन्नै पर्दैन र यो बीचको क्रममा के एउटा परसेप्सन बन्यो कि यहाँको शिक्षा गुणस्तरीय छैन ।तर यो सत्य होइन । यहाँको शिक्षा अहिले पनि गुणस्तरीय छ तर मधेश आन्दोलन पछि यहाँ चिट चोरीको प्र्रवृत्ति हाबी हुँदै गयो जसले गर्दा नपढिकनै पास भइन्छ भन्ने भावनाको विकास हुँदै गएपछि थुप्रै विद्यार्थीहरुले बाटो नबिराएको भने होइन । चोरीको कारण पढाइको जुन संस्कृति थियो त्यसमै आघात पुग्यो । सामुदायिक विद्यालयहरु उपमहानगरपालिकाको मातहतमै छ र म यदि मेयर भए भने शिक्षा क्षेत्रमै काम गर्दै आएको दुई दशकको अनुभव छ शिक्षा क्षेत्रमा कहाँ कहाँ समस्या छ त्यो समाधान गर्छु । शिक्षक सेवा आयोग पास गरेका लगायतका सक्षम शिक्षकहरु छन् यसलाई व्यवस्थापन गर्ने कुरोमा म सक्षम छु । विकासको मुख्य आधार नै शिक्षा रहेको मेरो मान्यता छ , हामीले शिक्षा दिएरै मानव संसाधन उत्पादन गर्न सक्छौं अनि उसले समाजको अन्य क्षेत्रमा विकासमा योगदान दिनेछन् । विद्यार्थीहरुले अनन्त क्षमता लिएर जन्मेको हुन्छ त्यो क्षमताको पहिचान गराउन सक्नु पर्छ अनि विस्तारै समाज परिवर्तनको मार्गमा अगाडि बढ्छ । मलाई मात्र होइन यहाँका समाजलाई नै विश्वास छ कि उमेश चौधरी आयो भने शिक्षा क्षेत्रमा आमूल परिवर्तन हुनेछ ।

–जनकपुरधाम धार्मिक पर्यटकीय स्थलको रुपमा पनि रहेको विदितै छ त्यसमा तपाईको के भिजन छ ?

अब यहाँ सांस्कृतिक पर्यटनलाई बढावा दिन सक्नु पर्छ तर दुर्भाग्य के छ भने तेस्रो मुलुक होइन दोस्रो मुलुक भारतकै कतिपय शहरहरुमा जनकपुरधाम नेपालमा छ भनेर थाहा नै छैन । प्रचार प्रसार गर्न सक्नु पर्छ र पर्यटक टिकाउनको निम्ति धनुषाधाममा चिडिया खाना बनाउन सकिन्छ । गंगासागर जस्तै अन्य पोखरी तलाउहरुलाई संरक्षित गर्दै जानु पर्छ पर्यटनको अपार सम्भावना यहाँ छ । अहिलेको तथ्याँकले देशभरिमै कुनै पर्यटक आउँदा औसतमा १३ दिनको बसाइ रहने गरेको छ तर जनकपुरधाममा मात्रै १३ दिन कटाउन सकिने गरी पर्यटन क्षेत्रको विकास गर्न सक्ने यहाँ प्रबल सम्भावना छ ।

–अन्तमा के भन्न चाहनु हुन्छ ।

एक पटक नेकपा एमालेलाई अवसर दिनुस, एमालेले अहिलेसम्म मौका पाएको छैन , एमालेले अरु ठाउँमा गरेको विकास हेर्नुस । यस पटक एमालेबाट पुरानो र प्रतिभाशाली व्यक्ति आउँछ । जनताको इच्छा ,आकाँक्षालाई एमालेको नेताले सम्मान गर्दै उम्मेदवार चयन गर्नेमा म विश्स्त छु। जसको योगदान छ जसको पसिना बगेको छ संगठन निर्माणमा उसको सम्मान गर्न पार्टी नेतृत्व पछि नपर्नेमा मेरो विश्वास छ ।

Comment


Related News

Latest News

Trending News