अपडेट 
२०७९ बैशाख ६, मंगलवार ०७:५८

हिन्दी सिनेमाको एउटा गीत छ : ‘हमरे बलमा बेइमान, हमे पटियाने आए हैँ, चाँदी के जूते से जुतियाने आए हैँ ।’

स्थानीय निर्वाचनमा जसरी धनकुबेरहरु अनेक आश्वासनसहित मैदानमा उत्रने तयारी गरिरहेका छन्, त्यो हेर्दा यस्तै लाग्छ । नयाँ वर्षको शुरुआतसंगै चुनावी तिथिको अन्तिम दिन नजिकिँदैछ । अब त निर्वाचन अधिकृतहरुलाईपनि निर्वाचनक्षेत्रमा जान नियुक्ति पत्र दिई सकिएको छ । केही दिन भित्र निर्वाचन टोलीले निर्धारित कार्यक्षेत्रमा गएर निर्वाचनका प्रारम्भिक प्रक्रियाहरुपनि शुरु गर्नेछन् । यस्तोमा निर्वाचनको वातावरण तात्तिँदै जानुपनि स्वाभाविक नै हो । उही परिचित व्यस्तता । सम्भावित उम्मेदावारहरुको पार्टी नेतादेखी जनतासम्मको दौडधूप । मान मनौवल, प्रलोभन, चाकरी चापलुसी, खुट्टा तानातान, महिमा, गुणगान, बदनामी, प्रशंसा ।पत्र पत्रिका, विद्युतिय मिडिया र सामाजिक सञ्जाल मात्रै होइन, चियापसल लगायत सार्वजनिक स्थलमा मात्र होइन, घर परिवारमा समेत कुन–कुन पार्टीले कस्ता उम्मेदवार खडा गर्न लागेका छन्, कस्ता–कस्ता उम्मेदवारहरु छन्, निर्वाचनको फाइदा–बेफाइदा, सार्थकता–निरर्थकता, उम्मेदवार हुन गाह्रो–सजिलो, इमान्दारी–बेइमानी, कसलाई भोट दिने, कसलाई नदिने वा भोटै नदिने जस्ता बहसहरु सबैतिर घनीभूत हनुथालेका छन् ।

सरकारमा रहेका गठबन्धनका पार्टीहरुबीच सीट बाँडफाँडमा खुट्टा तानातान र आफ्नो वर्चस्व साबित गर्न मारामार छ । लामो समयदेखी उम्मेवार बन्ने लालसा बोकेको तथा तयारी गर्दै आएका पार्टीका नेताहरुमा गठबन्धनमा निर्वाचनमा भागलिने निर्णय पार्टीले ग¥यो भने आफूले टिकट नपाउने हो कि भन्ने डर सताई रहेको छ । त्यसैले प्रायः सबै पार्टीभित्र आफ्नै बलमा निर्वाचनमा भागलिने निर्णय गराउन पार्टीमाथी दबाब सिर्जना गराउने बलियो समूहहरु पनि छ । यस्तै केही साना दलहरु छन्, जो स्वतन्त्ररुपमा निर्वाचन जित्ने सम्भावना देखिरहेका छैनन्, यस्ता पार्टीहरु गठबन्धन भए केही सीट जित्न सकिन्छ कि भनेर गठबन्धनको निम्ती प्रयत्न गरिरहेका छन् । अर्कोतिर संसदमा प्रतिपक्षीदल एमाले छ, जस्ले पाँचवर्ष पहिलेको स्थानिय निर्वाचनमा वामपन्थी साझदारीको बलमा सबैभन्दा बढी सीट जितेको थियो, यस पटक पुरानो वर्चस्व कायम राख्न दोहोरो नीति अपाउने मुडमा देखिन्छ । उसको अनुमानमा सरकारी दलहरुबीच गठबन्धन भएन भने उनिहरुको मत आपसमै काटिने छ र उसको (एमालेको) निम्ती यो फाइदाजनक हुने छ । त्यसैले उसको आन्तरिक नियत सरकारी दलहरुबीच गठबन्धन नहोस भन्ने नै छ । तर कदाचित सरकारी दलहरुले गठबन्धन गरेभने उसको निम्ती कठिनाई उत्पन्न हुनसक्छ, त्यसैले ऊपनि सकभर लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र कमल थापाको राप्रपा जस्ता साना पार्टीहरुसंग प्रत्यक्ष, अप्रत्यक्ष गठबन्धन वा समझदारी विकसित गर्न चाहेको देखिन्छ ।

अध्यक्ष केपी शर्मा ओलीले देशभरी सबै सीटमा आफ्ना उम्मेदवार खडा गर्ने भनिरहँदापनि उनकै पार्टीका अन्य नेताहरु तथा ओली स्वयंले जसरी कमल थापा लगायतका केही दलका नेताहरुसंग रागात्मकता देखाई रहेका छन्, त्यसले एमालेको दोहोरो चाहना प्रकट गर्छ । कमल थापाले सूर्य चिन्हबाट आफ्ना उम्मेदवार खडा गर्ने सम्भावना व्यक्त गरिरहँदा आलोचकहरुले ‘थामाले’ र ‘रामाले’ जस्ता हँस्यौली समेत गढन थालेका छन् । यतिमात्र होइन, तनहुँमा त नेपाली काँग्रेसबाट निष्कासित नेता गोविन्दराज जोशीको समूह एमालेसंग सहकार्य गर्ने द्विपक्षिय समझदारी भएको समाचारहरु पनि आई रहेका छन् । यद्यपि सरकारी दलहरु बीच गठबन्धन भयो भने एमालेको निम्ती परिणाम उनको विपरीत जानसक्ने सम्भावना बलियो रहेको अनुमान गर्नेहरुको पंक्तिपनि ठूलो छ । यता संसदमा गठबन्धनको सरकारमा सामेल पार्टीहरुको दुःखपनि सानो छैन । पार्टीहरु भित्र लामो समयदेखी निर्वाचनमा उम्मेदवारीको तयारी गर्दै आएका नेता, कार्यकर्ता तथा समर्थक व्यक्तित्वहरु आफ्नो टिकट काटिन्छ कि भन्ने भयले पार्टीले स्वतन्त्ररुपमा निर्वाचनमा भागलिनु पर्ने दबाब पार्टीमा सिर्जना गरिरहेका छन् । गठबन्धनको विरोध गरेमा कार्वाही गर्ने सभापति शेरबहादुर देउवा र पार्टी प्रवक्ताका चेतावनीका बावजूद नेपाली काँग्रेसभित्र शेखर कोइराला लगायतका गूटहरु आफ्नै बलमा निर्वाचनमा भागलिनु पर्ने दबाब सिर्जना गर्न छाडेका छैनन् ।

नेकाभित्र एक्लै निर्वाचन लड्नुपर्ने पक्षधरहरु वामपन्थी पार्टीहरु विभाजित भएको हुनाले नेकाले स्वाभाविकरुपमै बढी सिट जित्नसक्ने तर्क गरिरहेका छन् । तर गठबन्धन हुन नसके असुरक्षा महसुस गरेर कदाचित वामपन्थीहरु एकजुट हुन्छन कि ! भन्ने भयले देउवा आशंकित देखिन्छन् । हुन त एमाले र माओवादी केन्द्रभित्र तालमेल हुने हाल कुनै सम्भावना देखिँदैन । तर कार्यकर्ता र समर्थकबीच वामपन्थी दलहरुबीच गठबन्धन हुनूपर्ने मनसाय राख्नेहरुको बलियो पंक्ति छ । माओवादी केन्द्र र एमालेभित्र युवा नेतृत्वपंक्तिमा त यदाकदा यस्तो स्वरपनि सुनिने गरिन्छ । यद्यपि प्रचण्ड र ओलीबीच जसरी अप्रिय वचनहरुको दोहोरो तीर हानाहान चलिरहेको छ तथा ओलीको कट्टर प्रतिद्वन्दी माधव नेपाल र प्रचण्डबीच बलियो समझदारी विकसित भएको छ, त्यसले ओलीसंग वाम गठबन्धनको सम्भावना शून्य जस्तै देखिन्छ । दुःख त प्रचण्डकोपनि कम छैन । गठबन्धनले गर्दा टिकट कट्ने भय माओवादी केन्द्रका नेताहरुमा पनि देखिन्छ । नेकाजस्तै खुला विरोधका स्वरहरु माकेभित्र देखिँदैन, तापनि गठबन्धन भएपनि आफ्नो पक्षको टिकट नकटोस भनेर शिर्ष नेताहरु पार्टीभित्र दबाब सिर्जना गरिरहेका छन् । यस्तोमा पार्टीभित्र टिकटको बाँडफाँड प्रचण्डको निम्ती सकसको स्थिति सिर्जना गरिरहेको छ ।

चितवनमा छोरी रेणु दाहालको सीट सुरक्षित गर्न आफ्नो सम्पूर्ण कौशल प्रयोग गरिरहेका प्रचण्डको निम्ती, चितवन काँग्रेसले परे स्वतन्त्र उम्मेदवारी दिने बागी स्वर थप टाउको दुखाई बनेको छ । अरुको तुलनामा एकीकृत समाजवादीका नेता माधव नेपालको टाउको दुखाई केही कम हुनसक्छ । एमालेको विरासतबोकेको तर नयाँ पार्टीका रुपमा देखिएको एकीकृत समाजवादी (एस)को निम्ती गुमाउनुभन्दा पाउने बढी देखिन्छ । यद्यपि एमालेको लामो विरासतबोकेका पुराना नेताहरु बढी एसमा नै छन् । त्यसैले उनिहरुले विगतमा एमालेले जितेका सीटहरुमा तालमेल मिल्यो भने आफ्ना उम्मेदवार जित्ने विश्वास लाग्नु अस्वाभाविक छैन । विगतमा एमालेले जितेका सीटहरुमध्ये पचास प्रतिशत आफूहरुले पाउनु पर्ने दावी माधव नेपालले गर्नुको पछाडी यिनै सम्भावनाहरु छन् । र यसैकारण एमाले जितेको क्षेत्रमा एसका नेता र कार्यकर्ताहरुको महत्वाकांक्षा बढनुपनि स्वाभाविक नै हो । यस्तोमा ती क्षेत्रका नेता तथा कार्यकर्ताहरुले आफ्नो टिकट सुरक्षित गर्नका निम्ती दबाब सिर्जना गर्नु एस अध्यक्ष नेपालको निम्ती चुनौतीको विषयको हुनसक्छ ।

यसरी नै पार्टी सुदृढिकरणको सिलसिलामा अन्य पार्टीका प्रभावशाली नेताहरु तथा स्वतन्त्र व्यक्तित्वहरु पार्टीमा ल्याउँदा अध्यक्ष नेपालले दिएका चुनावी आश्वासन तथा वचनहरुपनि उनको निम्ती अर्को टाउको दुखाई हुनसक्छ । गठबन्धनको नीतिको कारण त्यस्ता नवप्रवेशी नेता, कार्यकर्ताहरुलाई उनले टिकट दिन सकेनन् भने उनको समस्या बढने स्थितिपनि देखिन्छ । यद्यपि गठबन्धनको नीति अन्यको तुलनामा उनको निम्ती बढी सुविधाजनक तथा लाभदायी हुनेदेखिन्छ । यसरी नै तराई मधेश र विशेषगरी मधेश प्रदेशलाई आफ्नो वर्चस्वको क्षेत्र ठान्ने जनता समाजवादी पार्टी (जसपा)को निम्ती गठबन्धनको नीति प्रचण्ड जस्तै टाउको दुखाई हुने देखिन्छ । गठबन्धनको बारेमा सरकारी दलहरु कुनै निर्णयमा पुग्नुभन्दा पहिले नै जसपाले रौतहटका चारवटै नगरपालिकामा आफ्नै भरमा निर्वाचन लडने जसरी घोषणा गरेको छ, त्यसले उनको महत्वाकांक्षा र आवश्यक परे एक्ले प्रतिस्पर्धामा जाने मुद्रा प्रष्ट हुन्छ । जसपाभित्र गठबन्धनमा लडने र आफ्नै भरमा चुनाव लडनेहरुको दुई धारबीचका बहस पहिलेदेखी नै चल्दै आएको छ । खास गरेर प्रचण्डप्रति उदासीन भावमा देखिने डा. बाबूराम भट्टराई र नरम भावमा देखिने उपेन्द्र यादवबीच बेला बेलामा देखिने मनोमालिन्यतापनि अहिलेको दुईधारको कारक मध्ये हो ।

यस अतिरिक्त स्थानिय निर्वाचनमा जित्नेहरुको निम्ती आर्थिक लाभका जुन अवसरहरु देखिएका छन्, त्यसले पनि पार्टीभित्र नेता र कार्यकर्ताको महत्वाकांक्षा बढाई दिएको छ । विशेष गरेर ‘गाँठका पक्का’ तथा तालमिले जित्ने सम्भावना देखेका नेता तथा कार्यकर्ताहरुमा जसरीभएपनि टिकट प्राप्त गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ । यसैकारण अन्य पार्टी जस्तै जसपा अध्यक्ष उपेन्द्र यादवको निम्तीपनि यो कम चुनौतीपूर्ण छैन । मधेश प्रदेशमा पार्टीले टिकट तय गर्नुभन्दा पहिले नै जसरी पार्टीहरुमा कार्यकर्ताहरुले विभिन्नु निहुँमा आफूखुशी आफूलाई सम्भावित उम्मेदवारको रुपमा प्रचारित गरिरहेका छन्, त्यसले टिकट नपाए बागी उम्मेदवारी दिने सम्भावनापनि त्यतिकै छ ; र यो उम्मेदवार चयनमा पार्टीहरुको निम्ती कम चुनौतीपुर्ण हुनेछैन । यो प्रवृत्ति जसपामा मात्रै छ, भन्नेपनि छैन । यस रोगबाट प्रायः सबै पार्टीहरु ग्रस्त छन् । निर्वाचनमा सफल भए ठूलो आर्थिकको सम्भावना पार्टी नेता र कार्यकर्ताहरुले मात्र्रै होइन, गैर राजनीतिक व्यक्तिहरुले पनि देखेका छन् । यसै कारण धनाढ्यहरु, ठूला ठेकेदारहरु, राजनीतिमा नभएपनि अन्य क्षेत्रमा लोकप्रिय व्यक्तित्वहरु, निजामती सेवाका तथा प्रहरीको उच्चाधिकारीहरुले समेत राजिनामा दिएर स्थानिय निर्वाचनमा मेयर र अध्यक्षमा ‘ट्राई मार्ने’ घोषणा गरिरहेका छन् ।

भन्न त उनिहरुले जनताको सेवा गर्ने उद्देश्य नै भनि रहेका छन्, तर यस्ता ठेकेदार, भूतपूर्व निजामति र प्रहरी उच्चाधिकारीहरु, उद्योगी र व्यवसायीहरु लगायत अधिकांश सम्भावित प्रत्याशीहरु विगतका जिवनमाः जसरीभएपनि धन कमाउने दाउमा जसरी देखिए, अहिले उनिहरुको उम्मेदवारी ‘ट्राई मार्नु’ जस्तै हो । यस पटकको उम्मेदवारीमा यस्ता ठेकेदारहरु छन्, जस्ले निर्माण गरेका सरकारी भौतिक संरचनाहरुको गुणस्तरहिनताले उनिहरुलाई वर्षौँदेखी जनता र विकासको निम्ती अयोग्य साबित गरिरहेको छ । तरपनि उनि जनताबीच विकासको योजना तथा इमान्दारीको बखान गरिरहेका छन् । यो फेरी कुनै एकजनाको स्थिति होइन । यो कुनै व्यक्तिको पनि होइन, अधिकाश पार्टीका उम्मेदारहरुपनि यसभन्दा भिन्न छैनन् । विगतको स्थानिय निर्वाचनको परिणामहरुलाई समिक्षा गर्ने हो भने यस राजनीतिक स्नान गृहमा प्रायः सबै नाङ्गाहरु नै छन् । संघीय र प्रदेशसभामा जितेका मन्त्री र सांसदहरुले विगतमा पनि आफ्नो छोरा, छोरी, नातेदार र निकटस्थलाई टिकट दिएको जिताएको र संघीय र प्रदेशको बजेट समेत आफ्नो अनुकूल क्षेत्रमा बढी पारेर चाहेजति भ्रष्टाचार गरेको तीता उदाहरुणहरु प्रष्टै छन् र यस्का निम्ती संघीय र प्रदेशसभामा साँसदहरुले नै बोलेको तथ्य लुकेको छैन् । यसभीडमा केही सोझा र इमान्दार उम्मेदवारहरु पनि हुनसक्छन् । तर उनिहरु अपवादजस्तै हुन् ।

जहाँ पैसा, बल र अनुचित प्रभावको जोड छ, त्यहाँ यी अपवादहरु तिर कस्को ध्यान जान्छ ? यथार्थमा वर्तमान स्थानिय निर्वाचन र यो मात्रै किन , हाम्रो समग्र निर्वाचन प्रणाली नै पाँचवर्षे अवधिको ठूलो लगानीको नाफामूलक व्यवसाय बाहेक अरु केही होइन । अहिले धन, मसल र शासनको बलमा जसरी उम्मेदवारहरु तयारी गर्दैछन् र आश्वासन बाँडदैछन्, त्यसले त उनिहरु जनता फकाउने र चाँदीको जुत्ताले ‘जुतियाउने’ तयारी गरिरहेझैँ देखिन्छ । वर्तमान निर्वाचनप्रणालीमा अर्थ, मसल र शासनको दुरुपयोगको वर्चस्व रहेसम्म यसबाट जनताको हितको अपेक्षा ‘आकाशको फल, आँखा तरी मर’ भन्नु जस्तै हो । सोँचौँ ! अरु के नै भन्न सकिन्छ ?

Comment


Related News

Latest News

Trending News