अपडेट 
२०७९ बैशाख ८, बिहीबार ०७:०३

हस्तिनापुरको राजवंशमा पाण्डुका पाँच छोराहरू पाण्डव र धृतराष्ट्रका सय छोराहरू कौरव कहलाउँथे । यी पाण्डव र कौरवको बीचमा कहिले पनि मेलमिलाप रहेन । पाण्डव समूह जहिले पनि सत्य धर्मका कुरा गर्थे भने कौरव समूह जहिले पनि असत्य तथा धुत्र्याईंका कुरा गरिरहन्थे । पाण्डुको मृत्यु पश्चात धृतराष्ट्र राजगद्दीमा आसिन भए । त्यसपछि कौरवपक्ष आफूलाई बलियो ठान्न थाले र पाण्डव पक्षलाई हैरान पार्न थाले । हस्तिनापुर यस्तै हस्तिहरूका नामले विश्व प्रसिद्ध थिए । यहाँ एक भन्दा एक वीर योद्धाहर थिए । सबै राजकुमारहरू एक÷एक विद्यामा निपुण थिए ।

हस्तिनापुरदेखि त्यस बेला सबै राजा महाराजाहरू भयभीत रहन्थे । विश्व नै दुई भागमा विभक्त भए । एउटा अर्थात पाण्डव पक्षले धर्म र सत्यको नेतृत्व गर्थे भने कौरव असत्य तथा अधर्मको सहारा लिएका थिए । महाभारत युद्धमा विश्वका राजा महराजाहरूलाई कुनै एक पक्षमा नलागी भएन । त्यसैले उनीहरू धृतराष्ट्रलाई एउटा सम्राट सम्झी धेरै ठूल्ठूला बलशाली राष्ट्रहरू कौरवको पक्षमा लागेका देखिए । यिनीहरूका के भनाइ थियो भने एउटा राजाले राजालाई नै साथ दिनु पर्दछ । हामी राजा ईश्वरका अवतार हौं । अर्कोतिर केही राजा महाराजाहरू कौरवलाई दुराचारी राजा सम्झेर साथ छोडेका थिए । यिनीहरूका के भनाइ थियो भने एउटा राजाले धर्म र सत्यलाई छोड्नु हुँदैन । यदि धर्म र सत्यलाई छोडेर अनैतिक कामतिर लाग्छ भने त्यस्ता राजालाई साथ दिनु हुँदैन । यो महायुद्ध द्वापर युगमा भएको थियो । यस युद्धमा कृष्णको भूमिका निकै महत्वपूर्ण थियो । कृष्णले महाभारत युद्धलाई रोक्न निकै प्रयास गरे तर सफल हुन सकेन । कृष्णले पनि अन्य राजा महराजाहरूलाई अचम्ममा पारेका थिए किनभने आफू पाण्डवतिर र कृष्णका सेना कौरवतिर लगाएका थिए । त्यसबेला विश्वका राजा महाराजाहरूका साथै नेपालका तात्कालिन राजा पनि महाभारत युद्धमा संलग्न भएका थिए । राजा विराट जो मत्स्यदेशका राजा थिए । त्यसै विराटराजाको नामबाट विराटनगर नामाकरण भएको छ ।

अहिले पनि विराटनगरमा द्वापरयुगका अवशेषहरू खडहरको रूपमा विद्यमान छन् । वाह्र वर्षको वनवास पछि पाण्डवले एक वर्ष गुप्तवास विराटराजाकै दरवारमा बसेका थिए । यसले गर्दा विराटको पाण्डुवंशमाथि विशेष प्रेमभाव थियो । उनी उदार, धर्मात्मा र बृद्ध थिए । उनका तीन सन्तान थिए । श्वेत, उत्तर र उत्तरा । महाभारत युद्धको शुरूवातमै विराटका छोरा उत्तर मारिए । उत्तर पछि श्वेत मारिए । राजा विराट पछिसम्मै युद्ध गरिरहे । यस क्रममा उनको विभिन्न कौरव वीरहरूसँग युद्ध भयो । अन्तमा दोणाचार्यसँगको भाला युद्धमा राजा विराट वीरगति प्राप्त गरे । एता मिथिलामा जनकवंशका क्षेमाधि मिथिलाका राजा थिए । त्यसबेला मिथिला र हस्तिनापुरको बीचमा घनिष्ट सम्बन्ध थियो । क्षेमाधि र दुर्योधनका बीचमा मित्रता थियो । मित्रको अर्थ हुन्छ एक अर्कामाथि कुनै विपत्ति आइलाग्दा साथ दिनु । क्षेमाधि यस कुरालाई महाभारत युद्धमा शतप्रतिशत पालना गरेका थिए । दुर्योधनका छोरा थिएः लक्ष्मण । उनको गणना कौरव सेनामा पराक्रमी योद्धाहरूमा हुन्थ्यो । मल्लयुद्धमा उनी विशेष पोख्त थिए । बलिष्ट भुजा, गोरो वर्ण र तेज निधारका धनी थिए । तर उनी वाल्यकालदेखि नै चञ्चल र शैतान प्रवृत्तिका थिए । यस लक्ष्मणसँग जनकपुरको मीठो सम्बन्ध थियो । त्यसबेला मिथिलाको द्वारिकासँग पनि घनिष्ट सम्बन्ध थियो । बलराम लक्ष्मणलाई मल्लयुद्ध सम्बन्धी शिक्षा दिन उपयुक्त ठाउँ मिथिलाको राजधानी जनकपुरलाई नै रोजेका थिए ।

अहिले पनि मल्लयुद्धको शिक्षा दिएको ठाउँ छँदै छ । यसै लक्ष्मणको नामबाट यस अखाडाको नाम लक्ष्मण अखाडा पर्न गएको देखिन्छ । यो अखाडा लक्ष्मणसरको पश्चिमोत्तर कुनामा अवस्थित छ । यस लक्ष्मण सरको नाम पनि त्यही लक्ष्मणको नामबाट राखिएको छ । यो सर लक्ष्मण अखाडादेखि दक्षिण पूर्वमा अवस्थित छ । चारै तिरबाट यसको धेरै अतिक्रमण भएको छ । जलकुम्भीको कारण यसको पानी निकै बढी दूषित भैसकेको छ । मिथिला महात्म्य अनुसार अगहन महिनामा यस सरोवरमा स्नान गर्नाले बढी फल प्राप्ति हुन्छ भने जनविश्वास छ । महाभारत युद्धको पाँचौ दिन भीष्मले कौरव सेनाको मकरब्यूह बनाए । पाण्डवले पनि आफ्नो सेनालाई श्येनव्यूहमा व्यवस्थित गरे र भीमसेनलाई त्यसको बीचमा उभ्याए । ठूल्ठूला शूरवीरहरू विनाशको मुखमा पर्न थाले । यही क्रममा अभिमन्यु र लक्ष्मणका बीचमा युद्ध भयो । उनीहरू युद्ध गरिरहेका ठाउँमा लक्ष्मणलाई सहयोग गर्न दुर्योधन आए । उनी र लक्ष्मणले एकैसाथ मिलेर अभिमन्युसँग टक्कर लिए । अभिमन्युले लक्ष्मणका सारथिलाई बध गरिदिए । युद्धमा लक्ष्मण शिखण्डीका छोरा क्षत्रदेव र अम्बष्ठका छोरालाई बध गर्न सफल भए । अन्ततः अभिमन्युको हातबाट लक्ष्मणको मृत्यु भयो । लक्ष्मणको मृत्युबाट दुर्योधन निकै क्रोधित भए र यस क्रोधलाई अभिमन्युको बध पश्चात केही शान्त गरे । मिथिलाका राजा क्षेमाधिलाई पाण्डव र कौरव दुबै पक्षले निमन्त्रणा दिएका थिए । उनले कौरव पक्षलाई छाने ।

युद्धमा कर्ण सेनापति बनेपछि उनी मैदानमा देखिए । युद्ध चल्दै गर्दा भीमको महायुद्धलाई प्रतिकार गर्नमा कौरव सेनाका योद्धाहरू विफल हुँदै गइरहेका थिए । कौरव पक्षमा खलवली मच्चिन थालेको थियो । दुर्योधनलाई निकै चिन्ता लाग्यो । त्यहीबेला मिथिलाका अधिपति क्षेमाधि अगाडि बढे र भीमसेनसँग युद्ध गर्न थाले । भीम र क्षेमाधिको बीचमा घमासान युद्ध भयो । हातीमाथि सबार दुबै योद्धा एक अर्कालाई मार्न तम्तयार भए । एक अर्काका बीचमा घमासान युद्ध भयो । क्षेमाधिको बाणबाट भीमको हाती घाइते भयो । यसले भीम निकै क्रोधित भए र गदा प्रहार गरेर उनको बध गर्न सफल भए । मिथिला विश्वमा यस्तो पवित्र ठाउँ थियो जसलाई विश्वका प्रत्येक देशले एउटा उच्च सम्मानसाथ हेर्दथ्यो । यसवारे अहिले पनि बृहत् विष्णुपुराण, विष्णुपुराण, रामायण, महाभारत, मिथिला महात्म्य जस्ता धार्मिक ग्रन्थहरूमा विस्तृत रूपले वर्णन पाउन सकिन्छ । महाभारत युद्ध सकिएपछि पुनः सामान्य वातावरण बन्यो । सबै देशसँग पहिले जस्तै सम्बन्ध कायम भयो । मिथिलासँग पनि हस्तिनापुरको सम्बन्ध अघि जस्तै कायम भयो । पाण्डवहरूमा बदलाको भावना थिएन । भगवान कृष्ण यस युद्धमा आफै संलग्न थिए । पलपलमा धर्म अधर्मको ख्याल गरिन्थ्यो । कौरव पक्षबाट युद्धको नियम उलंघन भएपछि मात्र पाण्डव पक्षबाट उसको प्रतिउत्तरमा जवाव फर्काउँथे । मिथिलासँग पुनः मित्रता कायम भयो । मिथिलामा पुनः पाण्डव पक्षका सन्तानहरू आवत जावत गर्न थाले । जनकपुरधाममा विभिन्न पोखरी, तलाउ, जलाशय, कुण्ड, कूपहरूका आ– आफ्नै महत्व छन् ।

महाभारतमा धेरै धनजनको क्षति भयो । त्यसबेला पनि जनकपुरधाम बाहेक अन्य ठाउँ विश्वमा थिएन जसले पाण्डवहरूलाई पापबाट मुक्ति दिन सकोस् । महाभारत युद्धताका भएको पापहरूबाट मुक्त हुन जनकपुरधाममा आएर यी धार्मिक पोखरीहरूमा स्नान गरेर पूजापाठ सम्पन्न गरी पुनः हास्तिनापुर फर्केका थिए । जनकपुरको महिला त्रेतायुग, द्वापरयुग, तथा कलयुगमा समेत एकैनासको देखिन्छ । अहिले पनि विश्वका हिन्दूहरू जनकपुरधामको दर्शन विना तिर्थपूरा हुँदैन भने विश्वास गर्दछन् । प्राचीन कालदेखि नेपाल र भारतको सम्बन्धलाई यी सांस्कृतिक पक्षहरूले अझै बलियो बनाउँदै आइ रहेका छन् । हुन त बर्तमान समयमा भूगोलको नक्शाबाट मिथिला विलिन भइसकेको छ तर यसको महिमा तथा संस्कार अहिलेसम्म जिवितै देखिन्छ । भूगोलमा देशहरूका नक्शा परिवर्तन भै रहन्छ तर कलासंस्कृति, सभ्यता, शिक्षादिक्षा, आदि निरन्तर कायम रहन्छ । नेपाल जसलाई पनि केही दिएको छ । लिनु भन्दा दिनुमा बढी खुशी लुकेको हुन्छ । त्रेतायुगमा मिथिलाले जानकीलाई रामको पत्नीको रूपमा दान गरेर पूरै अयोध्यावासीलाई खुसी बनाएको थियो । रामको वंशलाई निरन्तरता दिने काम जगत माता सीताले नै गरेकी थिइन् । त्यस्तै द्वापरमा विराट राजाकी सुपत्री उतरालाई अभिमन्युको पत्नीको रूपमा दान गरेका थिए । त्यही उतराबाट जन्मिएका सन्तानले पाण्डव वंशलाई निरन्तरता दिएका थिए । त्यतिमात्र कहाँ हो र ! पर्वतकी छोरी पार्वतीलाई समेत शंकर भगवानको पत्नीको रूपमा दान गरेका थिए । यसबाट के बुझिन्छ भने नेपाल विना भारत र भारत विना नेपाल सांस्कृतिक रूपमा अधूरो देखिन्छ । अर्कोतिर भारतमा चाहे मुस्लिम राज्य होस् वा ब्रिटिश राज्य नेपाल सबैलाई युद्धमा सहयोग नै गरेका थिए ।

अहिले पनि भारतदेखि व्रिटेनसम्म नेपाली युवाहरू सैन्य सेवामा भर्ना भएर सेवा प्रदान गरिरहेका छन् । यसले यी देशहरू बीचको सम्बन्धलाई अझ बलियो बनाएको पाइन्छ । नेपाल अहिले पनि विश्वभ्रातृत्वको भावनालाई लिएर अगाडि बढेको छ । यसको प्रमाण अहिले पनि हामी हेर्न पाउँछौ । रूस र यूक्रेन बीचको युद्धमा रूसलाई युद्ध रोकेर बस्नु भनेको विगतकै निरन्तरता हुन् । अहिले यी कुराहरू बेदव्यासले लेखेका महाभारतबाट सविस्तारमा जानकारी लिन्छौ । वेदव्यासको जन्म ऋषि पराशर र सत्यवतीको कोखबाट भएको थियो । नातामा पाण्डव र कौरवका हजुरबुवा पर्थे । बाल्यवस्था भै उनले सबै बेद र इतिहासको ज्ञान प्राप्त गरेका थिए । उनी महान् ब्रह्नर्षि, त्रिकालदर्शी, सत्यव्रती, परमपवित्र र सर्गुण निर्गुण स्वरूपको तत्वज्ञ थिए । आफ्नो तपस्या र ब्रह्नचर्यको शक्तिद्वारा उनले बेदलाई विभाजन गरेर महाभारत निर्माण गरे । अहिले पनि त्यसबेलाका यी पाण्डव र कौरवलाई कामको आधारमा मूल्यांङ्कन गरेको पाइन्छ । त्यस्ता ग्रन्थहरू हाम्रा ऐना हुन जो विगतको ज्ञान दिइ भविष्यको नक्शा कोर्न उत्प्रेरित गर्दछ । प्राचीनकालमा राजतन्त्रलाई नै उत्तम शासनको रूपमा मान्दथे । जनताहरूमा शिक्षाको स्तर उठेपछि देश चलाउने नयाँ उपायहरू खोज्न थाले । नेपालमा अहिले राजतन्त्र छैन ।

यहाँ अहिले गणतन्त्रात्मक लोकतन्त्र छ । जो तन्त्र आए पनि मान्छेमा जबसम्म देश प्रतिको चेतनामा परिवर्तन हुँदैन । तबसम्म देशलाई सही बाटोमा हिराउन सकिँदैन । निष्कर्षमा यस लेखले मूल रूपमा महाभारत युद्धमा तत्कालिन मिथिला नरेशको भूमिका के थियो । त्यसलाई प्रष्ट पार्नु थियो । अर्कोतिर अहिले पनि लक्ष्मण अखाडालाई त्रेताकालीन लक्ष्मणको नामबाट जोडेर हेर्न चाहन्छन् । यस लेखबाट यो लक्ष्मण अखाडा र लक्ष्मण सर (पोखरी) द्वापरकालीन दुर्योधन सन्तान लक्ष्मणसँग सम्बन्धित छ भने त्यसलाई प्रष्ट पार्ने कोशिस गरिएको छ । यसले जनकपुरको प्राचीनदेखि बर्तमानसम्मको कुरालाई प्रष्ट पार्ने काम गरेको छ । मिथिलाको यस्ता इतिहासबाट हामी सम्पूर्ण मिथिलावासी अहिले पनि गौरवको अनुभूति गर्दछौं । इतिश्री ।

लेखक त्रिविका सेवा निबृत सह–प्राध्यापक तथा अन्वेषक हुनुहुन्छ ।

Comment


Related News

Latest News

Trending News