अपडेट 
२०७९ बैशाख १०, शनिबार ०७:३९

पूर्वीय कैलेण्डर अनुसार एक वर्षमा ६ वटा ऋतु हुन्छ । शतपथ ब्राह्मणको काण्ड –२ अध्याय – १ ब्राह्मण – ३ को मन्त्र – १ देखि ६ सम्म ६ ऋतुको नाम उल्लेख छ । जसमा पहिलो ऋतुको रुपमा वसन्तको वर्णन पाईन्छ – ‘वसन्तो ग्रीष्मोवर्षा : । ते देवा ऋतव : शरद्धेमन्त : शिशिरस्ते …। ’ अर्थात् वसन्त, गृष्म, वर्षा, शरद, हेमन्त र शिशिर । पूर्वीय पण्डितहरुले ६ ऋतुको वर्णन गरेपनि पश्चिमी कैलेण्ड (Grearorian calender) अनुसार – वसंत (Spring), ग्रीष्म (Summer), शरद (Autumn) तथा शिशिर (Winter) गरी चार ऋतुमात्र उल्लेख पाईन्छ । तर नेपाल–भारत जस्ता मध्य एशियाका केही देशहरुमा पाँच– पाँच वर्षको फरकमा एउटा गजवको मौसम आउँदा रैछन् । त्यो हो चुनावको मौसम । पालिका, प्रदेश र संघीय संसदको वेग्ला वेग्ला निर्वाचन हुने हुंदा नेपालमा त झन प्रत्येक पाँच वर्षमा तीन तीन पटक यस मौसमको शुभआगमन हुन्छ । प्रत्येक मौसमको अ– आफ्नै गुण र दोषहरु हुन्छन् । वसन्तमा फूल फूल्छ । नव सृजना हुन्छ । वर्षामा बाढी आउँछ तर किसानहरुका लागी यो मौसम शुभमंगल मानिन्छ ।

यसै गरी चुनावको मौसमको पनि आफ्नै गुण र दोषहरु छन् । निर्वाचन लोकतन्त्रको गहना हो । यसै मार्फत जनप्रतिनिधीहरु चुनिन्छन् अनि राज्यका तीनै तह गतिमान हुन्छन् तर यसका दोषहरु पनि थुप्रै छन् । ती दोषहरुमध्ये प्रमुख हुन–दल बदल , जाति,धर्म तथा मनि,मसलको आधारमा जनप्रतिनिधी चयन अनि लोकतान्त्रिक मूल्य मान्यताहरुसंग खेलवाड । अहिले मुलुकमा पुन ः चुनावको मौसम आएको छ । वैशाख ३० गते मुलुकका ७५३ स्थानीय तहका लागी जनप्रतिनिधीको चयन हुदैछ । सत्तागठबन्धन,प्रतिपक्ष तथा आमनागरिक गतिमान छन् । सत्तागठबन्धनलाई सिट बाँडफाँड गर्ने चटारो छ । असन्तुष्टहरुमा पार्टी परित्याग गर्ने विवशता अनि इक्षाएको पदको टिकट प्राप्त गर्न दल बदल गर्ने परिपाटी छ । तर जाडोमा शितलहर , गर्मीमा लू , वर्षामा बाढी र डुवानको पिडा सहदै आएको मधेस प्रदेश यस चुनावको मौसममा पनि असह्य पिडामा छ । प्राकृतिक विपदा भोग्न अभिशप्त मधेस चुनावी विपदापनि भोग्दैछ । कस्तो विडम्बना ! एमाले विरुद्ध सडक तताउने, एमाले नेता कार्यकर्ताहरुलाई चौक चौराहामा वहिष्कार गर्न उर्दी जारी गर्ने संभावनावान युवाहरु यिनै एमालेभित्र एकाकार हुदैछन् । जो पुस्तादर पुस्ता का“ग्रेसी थिए । जो आजिवन गाछी छापबाहेक अन्यन्त्र भोट हालेनन् ती स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्दैछन् । मेरो व्यक्तिगत सवाल छ – नेताजीहरु पदप्राप्तिका लागीमात्र माउपार्टी परित्याग अर्को पार्टीमा प्रवेश गर्छन कि माउ पार्टीभित्रै कुनै समस्या छन ? यस यज्ञ प्रश्नको जवाफ सम्पूर्ण राजनीतिक दलले खोज्नै पर्दछ ।

सत्तागठबन्धन दलको बुधवार सम्पन्न निर्णायक बैठकबाट जनकपुरधाम उपमहानगर पालिका जनता समाजवादी पार्टीको भागमा पर्यो । नेपाली कांग्रेसको भागमा किन परेन ? यस सवालको जवाफ गठबन्धनका नेताजीहरुले दिने हो । मैले भन्न खोजेको यतिमात्र हो – गठबन्धन दलहरुको यस निर्णयले नेपाली कांग्रेसभित्र भुईचालो गयो । यद्यपि यस्तै भुईचालो भरतपुर,बिरगंज र पोखरालगायतका कांग्रेस नगर समितिहरुमापनि नगएको होईन तर म यहाँ जनकपुरको मात्र चर्चा गर्न खोजे । गठबन्धन दलको यस निर्णयबाट कांग्रेस पूर्व उपसभापति विमलेन्द निधीसहित जनकपुर नगर समितिका सभापति मनोज साहसम्म दुखी छन् । निधीले त गठबन्धनको यस निर्णयले मधेसमा कांग्रेसलाई ठुलै धक्का लाग्नेसम्मको प्रतिक्रृया दिई सकेका छन् । नगर समितिका सभापति मनोज साह त पार्टीको साधारण सदस्यसम्मबाट राजिनामा गर्ने घोषणा गरेका छन् । २०७४ को निर्वाचनमा कांग्रेसको टिकटमा मेयर पदमा लडेका तथा गत पाँच वर्षदेखि पुन ः मेयरको तयारीमा जुटेका मनोज साहको लागी यो निर्णय निश्चयपनि दुःखद हुन सक्छ । शुक्रवार जनकपुरधाम ३ का वडाध्यक्ष दीपेन्द्र साह लोसपा परित्यागगरी तराई मधेस लोकतान्त्रिक पार्टी प्रवेश गरेको छ भन्ने जनकपुरधाम उपमहानगर पालिका–७ का वडाध्यक्ष जानकीराम साह र सेवा निवृत डिभिजनल ईन्जिनियर तथा मैथिल ब्राह्मण समाजका अध्यक्ष भगवान झा लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी मंगलवार अध्यक्ष केपी शर्मा ओलीको हाथबाट टिका ग्रहण गरेर एमाले प्रवेश गरे ।

बुधवार विहान जनकपुरधाम नपा –१ का वडाध्यक्ष शत्रुघ्न साह लोसपा परित्यागगरी जनता समाजवादी पार्टी प्रवेश गरे । केही दिन अघि जनकपुर– २ मा स्वतन्त्ररुपमा वडाध्यक्ष जितेका शिवु साह एमाले प्रवेश गरेका थिए भन्ने मधेस आन्दोलनकी अग्रणी नेतृ एवं हंसपुर नगरपालिकाकी उपमेयर लोसपा परित्याग गरी जसपा प्रवेश गरीन भन्ने हंसपुर नपाका दुई वडाध्यक्ष जसपा परित्याग गरी लोसपा प्रवेश गरे । वैशाख ११ र १२ गते अर्थात् उम्मेदवारी अघि अन्य केही नेता कार्यकर्ता दलबदल गर्ने संभावना प्रवल छ । संलग्न पार्टीमा टिकट सुनिश्चित नभपछि तथा अर्को पार्टीले टिकट दिने आश्वाशन दिएपछि दलबदल गर्ने प्रबृति बढेको आम बुझाई छ । यद्यपि दलबदल गर्ने अधिकांश नेताले पार्टीभित्र आन्तरिक लोकतन्त्रको आभाव भएको र भाई–भतिजावाद हावी भएको आरोप लगाउ“दै आएका छन् । हंसपुर नगर पालिकाकी उपमेयर रेणु झाले त आफ्नै पार्टीका मेयर रामज्ञान मण्डलको हेपाई सह्न नसकेर पार्टी परित्याग गरेकी घोषणा नै गरीन । वडानम्बर–७ का वडाध्यक्ष जानकीराम साह जनकपुरधाम उपमहानगर पालिकामा मेयर पदको उम्मेदवारी दिने घोषणा गरेका थिए । जातीय,आर्थिक तथा सामाजिक रुपमा सबल मानिएका साहलाई आफ्नो पार्टीमा तान्न एमाले सुरुदेखि नै लविङ गर्दै आएको थियो । साह एमाले नेता प्रभु साह निकट मानिन्छन् । अर्कोतर्फ नेकपा एमाले नगर कमिटिले उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका पूर्व अध्यक्ष तथा युवा व्यावसायी शिवशंकर साह हीरालाई मेयर पदको लागी सिफारिस गरि सकेको छ ।

हीरा रघुवीर महासेठ पक्ष छन् । मेयर लडने तयारीमा जुटिई सकेका शिवशंकर साह हीरा र मेयरको उम्मेदवार बनाउने आस्वाशन पाएर एमाले प्रवेश गरेका जानकीराम साहलाई एमालेले कसरी व्यवस्थापन गर्लान ? हेर्न बांकी छ । पार्टी संचालन, कार्यकर्ता व्यवस्थापन र चुनावी खर्चको जोहो गर्नु शिर्ष नेताहरुको दायित्वभित्र पर्दछ । त्यसैले होला , जुनसुकै पेसाका , जस्तो सुकै कर्म र कुकर्म गरेका धनाढ्यहरु प्राय ः सबै पार्टीमा जस्तो सुकै पदको टिकट पाएका छन् । प्रदेशसभा,प्रतिनिधीसभा र राष्ट्रियसभामा मनोनित पनि भएका छन् । मन्त्रीसम्म बनेका छन् । यसलाई शिर्ष नेताहरुको विवशता भन्ने कि लोभ लालच ? वहसको विषय हुन सक्छ । अर्कोतर्फ पार्टीका सकृय,जुझारु तथा निष्ठावान नेता वा कार्यकर्ताले आफ् नो पार्टीमा हैसियत अनुसारको पदको टिकट खोज्नु स्वाभाविक हो । कारण राजनीति साधुबन्नलाई गरिदैन । जो जुन पेसामा लागेका छन् , त्यहीबाट सेवा र मेवाको अपेक्षा गर्ने हो । अचेल राजनीतिक दलहरुमा भाई भतिजावाद हाबी भएको छ । जातीवाद हावी भएको छ । एउटैलाई अनेकौ पद दिने प्रवृतिपनि हावी भएको छ अनि पाँच दलीय सत्तागठबन्धन दलका शिर्ष नेताहरुलाई सत्ता टिकाई राख्ने लोभ जागृत भएको छ । यस्ता प्रवृतिहरु नरोकिएसम्म दलबदलको दलदलमा सबै राजनीतिक दल भासिने निश्चित छ ।

Comment


Related News

Latest News

Trending News